हिमाल, पहाड र तराई जोड्ने सुरुङमार्ग सहितको ‘मिनी नेपाल’ बनाउने धुर्मुश-सुन्तलीको घोषणा !

धुर्मुस–सुन्तली नागरिक 'नायक' घोषित

काठमाडौ । कलाकार धुर्मुस-सुन्तलीले हिमाल, पहाड र तराईको झल्को दिने गरी ‘मिनी नेपाल’ बनाउने घोषणा गरेका छन्। नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित ‘नागरिक नायक’ सम्मान ग्रहण गरेपछि नागरिक संवादमा उनीहरुले यस्तो घोषणा गरेका हुन्।

भूकम्प पीडित र तराईका विपन्न मुसहरका लागि एकीकृत बस्ती निर्माण गरेर चर्चा कमाएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले चौथो परियोजनाका रुपमा यसलाई अघि बढाउने बताए।

उनीहरुले ७५ वटै जिल्लाबाट सबैभन्दा गरिब एकएक परिवारलाई छानेर ल्याई यस्तो एकीकृत बस्ती निर्माण गर्ने जानकारी दिए। ‘पहिलो एकीकृत बस्ती निर्माणकै क्रममा हामीले यस्तो सल्लाह गरेका थियौं’, कट्टेलले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको अन्तरक्रियामा भने, ‘आज यही कार्यक्रममार्फत ‘मिनी नेपाल’ बनाउने घोषणा गर्दर्छौं।’

उनले यस्तो बस्ती निर्माणका लागि ५ सयदेखि एक हजार रोपनी जग्गा आवश्यक रहेकाले जग्गादाताको खोजी गरिरहेको बताए। ‘मिनी नेपाल’ निर्माणका क्रममा मूलद्वारबाट बस्ती पस्नेबित्तिकै हिमाली, त्यसपछि पहाडी र अन्त्यमा तराईको बस्ती हुने कट्टेलले जानकारी दिए। ‘हिमाली बस्तीबाट पहाडी बस्तीमा जाँदा सुरुङमार्ग भएर जाने बनाउनेछौं,’ कट्टेलले भने, ‘नेपाल आउने पर्यटकका लागि यो बस्ती पहिलो रोजाइको हुनेछ।’

उनीहरुका अनुसार बस्तीमा नमुना विद्यालय र अस्पतालसमेत हुनेछ। बस्तीमा लुम्बिनी र सगरमाथाको नमुनाका साथै तीनवटै क्षेत्रको प्राकृतिक स्वरुप झल्काउने उनीहरुको योजना छ। ‘त्यसका लागि अहिलेभन्दा धेरै रकम आवश्यक पर्ने भएकाले सरकार वा ठूला निकायको सहयोगको अपेक्षा गरेका छौं’, कट्टेलले भने।

मिडियाले वार्षिकोत्सवका अवसरमा धुर्मुस–सुन्तलीसहित नेपाली समाजमा उल्लेखनीय योगदान गर्ने पासाङ शेर्पा र सिरहाकी फूलकुमारी योन्जन श्रेष्ठलाई ‘नागरिक नायक’ का रुपमा सम्मान गरेको थियो। शेर्पाले सोलुखुम्बुमा आफ्नै पहलमा पर्यटकका लागि बाटो खनेर सुविधा पुर्‍याएका छन् भने योन्जनले सिरहामा महिलाका लागि सहकारी सञ्चालन गरी ग्रामीण क्षेत्रमा महिला सशक्तीकरण गरिरहेकी छन्। मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले शेर्पा, धुर्मुस–सुन्तली र योन्जनलाई सम्मान गरेका हुन्।

धुर्मुस–सुन्तली, शेर्पा र योन्जनका साथै मुलुकका विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने अन्य नौजनालाई पनि ‘नागरिक नायक’ घोषित गरिएको छ। काठमाडौंका उत्तम सन्जेल, पर्साका विश्वनाथ साह, कैलालीका कालु हमाल, बाँकेका चन्द्रनाथ योगी र मौलाना अब्दुल जब्बार मञ्जरी, सुनसरीकी सरला कायस्थ, कास्कीका सानबाबु सुनुवारलाई नागरिक नायक घोषणा गरिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖