अन्ततः कुमार लिङदेन पनि चुनावमा जाने, चुनाव चिन्ह घर !
अन्ततः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुने
काठमाडौं, संविधान संशोधनलगायत माग पुरा भएपछि मात्रै निर्वाचनमा जाने अडान लिँदै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्ततः दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुने भएको छ । कुमार लिङदेन नेतृत्वको मञ्चले हाल दोस्रो चरणको निर्वाचनमा सहभागी हुने गरी पार्टीको आन्तरिक काम सुरु गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनमा समेत आवद्ध रहेको मञ्चले जारी आन्दोलनका माग पुरा नभए पनि चुनावमा जाने तयारी गरेको हो । मञ्चका कार्यकर्ताहरुले चुनाव चिन्ह ‘घर’सहित पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रमका तस्वीरहरु सामाजिक सञ्जालमा राखेर प्रचारप्रसार सुरु गरेका छन् । उनीहरूले स्थानीय तहका उम्मेदवार खडा गरी भाेट समेत माग्न थालेका छन् ।
घर राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह हो । केही दिनअघि मात्रै लिङदेनले केपी पालुङवा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीसँग ANC मोडेल अपनाएर राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह लिएर चुनावमा जानेबारे छलफल भइरहेको बताएका थिए ।

केही दिनअघि मात्रै लिङदेनले केपी पालुङवा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीसँग ANC मोडेल अपनाएर राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह लिएर चुनावमा जानेबारे छलफल भइरहेको बताएका थिए ।
यता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल भने स्थानीय तहको पहिलो चरणको निर्वाचनदेखि नै चुनावमा भाग लिँदै आएको छ । समाजवादी फोरमले आफ्नाे पार्टी चुनावमा नगए झन् कमजोर बन्ने ठहर गर्दै चुनाव हुन केही दिनमात्रै बाँकी रहेको बेला चुनावमा जाने निर्णय गरेको थियो । पार्टी चुनावमा गएपछि समाजवादी फोरमका शीर्ष नेताहरुले आन्दोलनकै रुपमा चुनावलाई उपयोग गर्ने बताउँदै आएका छन् ।

समाजवादी फोरम चुनावमा गएपछि गठबन्धनले उपेन्द्र यादवलार्ई कारबाही गरिएको भन्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ती जारी गरेका थिए । गठबन्धनको नेतृत्व पनि ठाकुरले नै सम्हालेका थिए ।
लिम्बुवानको खरो नेता मानिएका कुमार लिङदेनले ठाकुरको पक्षमा उभिदै संविधान संशोधन लगायत माग पुरा भएपछि मात्रै निर्वाचनमा जाने अडान लिदै आएका थिए । संविधान संशोधन नगरी गरिने स्थानीय निर्वाचन कुनै पनि हालतमा हुन नदिने उनले चेतावनी पनि दिएका थिए ।
राजपा नेतृत्वको गठबन्धनले चुनावविरुद्ध आन्दोलन समेत घोषणा गरेको छ भने सोमबार पनि सरकार र गठबन्धनबीच वार्ता भएको थियो । वार्ता टुंगोमा नपुगे पनि सोमबार सरकारले राजपालगायत दलहरु निर्वाचनमा सामेल हुने वातावरण बन्ने अपेक्षासहित जेठ ३१ गते तोकिएको स्थानीय निर्वाचन सारेर असार ९ गते पुर्याएको छ ।


