भरतपुर महानगरका दलहरुबाट आयोगको निर्णयमा आयो यस्तो मिश्रित प्रतिक्रिया, के भनिन् रेणुले ?

चितवन, २० जेठ – निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै यहाँका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

यसअघि नेपाली काँग्रेस र (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा (एमाले)ले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए ।

गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आए सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने जनाएको छ ।

आयोगको निर्णयसँगै नेपाली काँग्रेस, (माओवादी केन्द्र) र राप्रपाले आयोगको निर्णयअनुरुप अघि बढ्ने बताएका छन् भने नेकपा (एमाले)ले आयोगको निर्णयको विरोध गर्दै कानुनी प्रक्रियामा जाने जनाएको छ ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विधि र विधानसम्मत आयोगले गरेको निर्णयको कार्यान्वयनमा जाने बताउनुभयो ।

काँग्रेसका सबै उम्मेदवारको जीत सुनिश्चित भइसकेको अवस्थामा मतपत्र च्यातिएका कारण पुनः मतदानमा जानुपर्ने बाध्यता आए पनि आयोगको निर्णयलाई स्वीकार गरी आजैबाट प्रचार अभियानमा जुटेको बताउनुभयो ।

उता नेकपा (एमाले) चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले भने आयोगको निर्णय एकतर्फी भएको बताउनुभयो । उहाँले कानुनी प्रक्रियामा जाने र शान्तिपूर्ण आन्दोलन गरेर आयोगको निर्णयको विरोध गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले आयोगले जे निर्णय गरेपनि मान्ने यसअघि नै बताएको भन्दै यो निर्णयअनुरुप पुनः हुने निर्वाचनमा जुट्ने बताउनुभयो ।

माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्तरुपमा प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ऐन नियम र कानुन सबैले मान्नुपर्ने भन्दै मिति घोषणासँगै प्रचारमा जुट्ने बताउनुभयो ।

भरतपुर महानगरका २९ वडामध्ये वडा नम्बर १९ को मत गणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । योसहित वडा नम्बर २० को मात्र मतगणना गर्न बाँकी रहेको छ । दुई वडाको मत गणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि हुनुहन्थ्यो ।

यसैबीच एमालेसहित चार राजनीतिक दलले आज साँझ संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आयोगले गरेको निर्णयको विरोध गरेका छन् ।

एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेल, नेकपा (माले)का जिल्ला सदस्य सन्तोष श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष अमरबहादुर क्षेत्री र नयाँ शक्ति चितवनका सहसंयोजक पदमबहादुर गुरुङले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा हार्नेहरुले मतपत्र च्यातेर पुनः मतदान गराउन पाउने सिद्धान्तलाई स्थापित गरिए निर्वाचन प्रणालीप्रति नै अनास्था जागृत हुने उल्लेख छ । – लोकान्त्रबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖