मोरङमा देखिदैछ यस्तो रोमाञ्चक दृष्य, सिंगो मुलुकको ध्यान खिच्दै विराटनगर !

मोरङ । दोश्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा मौसमले पनि तातिरहेको मोरङको वातावरणलाई चुनावी वातावरणले थप तताईदिएको छ । ठुला दलका शीर्ष नेतादेखि स्थानीय नेता–कार्यकर्ताहरु समेत विराटनगरमा केन्द्रीत भएका छन् । कांग्रेस,एमाले,माओवादी,संघीय फोरम र लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ता यसबेला घरदैलो कार्यक्रममा व्यस्त रहेका छ ।

दोश्रो चरणको चुनावमा एक मात्र महानगरपालिकाको रुपमा रहेको विराटनगरमा सिंगो मुलुकको ध्यान खिचिएको छ । पूर्वको मात्र होइन, नेपाली राजनीतिक इतिहासको समेत महत्वपूर्ण स्थान भएकोले त्यहाँको चुनावमा शीर्ष नेताहरुको समेत प्रतिष्ठा जोडिएको छ । त्यसैले त शनिबार दुई पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टीका अध्यक्ष विराटनगरमा जमघट हुने भएका छन् । उनीहरुले शनिबारनै भिन्ना–भिन्नै सभालाई सम्बोधन गर्दैछन् । शनिबार विराटनगरको दृष्य निकै रोमाञ्चक देखिने स्थानीय नेता कार्यकर्ताले बताएका छन् ।

एमाले र लोकतान्त्रिक फोरमले आयोजना गरेको चुनावी सभालाई एमाले अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री एवम् लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले सम्बोधन गर्दैछन् भने माओवादी केन्द्र र संघीय समाजवादी फोरमले आयोजना गरेको संयुक्त सभालाई ती पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल र उपेन्द्र यादवले सम्बोधन गर्दैछन् । यी दुई गठबन्धनले फरक–फरक ठाउँमा चुनावी सभाको आयोजना गरेका छन् । एमाले र लोकतान्त्रिक फोरमले विराटनगरको गुद्रमा सभाको आयोजना गरेका छन् भने माओवादी र संघीय फोरमले हाटखोलामा कार्यक्रम राखेका छन् ।

विराटनगर महानगरमा एमालेका विनोद ढकाल मेयरको उम्मेद्वार छन् भने लोकतान्त्रिक फोरमले सुची चौधरीलाई उपमेयरमा उठाएको छ । त्यस्तै,माओवादी–संघीय फोरम गठबन्धनले उमेश यादवलाई मेयर र नमिता न्यौपानेलाई उपमेयरमा उठाएको छ ।

उता, विराटनगरको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेस भने एक्लै भिडिरहेको छ । कांग्रेसले भीम पराजुलीलाई मेयर र इन्दिरा कार्कीलाई उपमेयरमा उठाएको छ । कांग्रेसले आफ्नो पार्टीको ऐतिहासिक ठाउँ दाबी गरिरहेको विराटनगरमा त्रिपक्षीय भीडन्त रोचक देखिने भएको छ । कांग्रेसका केन्द्रीय नेताहरु एकहप्ता भन्दा अघि देखिनै चुनावी अभियानमा खटिरहेका छन् ।

कांग्रेसका प्रभावशाली नेताहरु डा.शेखर कोइराला,महेश आचार्य, मिनेन्द्र रिजाल, डा.डिला संग्रौला लगायतका केन्द्रीय नेताहरु यसबेला चुनावी दौडाहामा रहेका छन् । विराटनगर महानगरपालिकाभित्र चुनावी क्षेत्र नम्बर ५,६ र ७ नम्बर पर्दछन् । जहाँ यसअघि कांग्रेसका शेखर कोइराला, मिनेन्द्र रिजाल र महेश आचार्यले चुनाव लडेका थिए ।

पहिलो चरणको स्थानीय चुनावमा जसरी काठमाण्डौ र भरतपुर महानगरपालिकामा समग्र मुलुकको ध्यान केन्द्रीत भएको थियो । त्यसैगरी यो पटकको चुनावमा विराटनगर महानगरपालिकाले सबैको ध्यान खिचेको देखिन्छ । यो पटकको चुनाव हुने महानगरमा विराटनगर मात्रै एउटा भएकोले पनि त्यहाँ सबैको नजर केन्द्रीत भएको हो ।

शीर्ष नेताहरुको समेत प्रतिष्ठाको विषय जोडिएको र चुनावी प्रतिष्पर्धामा घिनलाग्दो खेल समेत हुने भएकोले कतै भरतपुर महानगरपालिकाकै जस्तो राजनीतिक लफडा विराटनगरमा पनि हुने त होइन ? भन्ने आशंका पनि व्याप्त हुँदै गएको छ । यद्यपि,त्यस्तो खालका घटनाहरु हुन नदिन राजनीतिक नेतृत्व समेत सचेत रहेको विराटनगरका स्थानीय नेता कायकर्ताले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।