दलीय विवादले विराटनगर महानगरको मतगणना ढिलाई, महानगरपालिकाबाहेक अन्य नगर र गाउँपालिकामा मतगणना सुरु
विराटनगर, असार १५ । विराटनगर महानगरपालिकाको मतगणनामा ढिलाई भएको छ ।
बिहान ११ बजेदेखि गणना सुरु गर्ने भनिए पनि डेढ बज्दा समेत सुरु हुन सकेको छैन । सर्वदलीय बैठक ढिलो बस्दा र दलहरुले प्रतिनिधि छनोट ढिलो गर्दा गणनामा ढिलाई भएको हो । दलले छनौट गरेका गणक प्रतिनिधिले मोबाइल लिएर जान पाउने कि नपाउने भन्ने विवादले पनि महानगरपालिकाको गणना सुरु हुन सकेको छैन ।
महानगरपालिकाबाहेक अन्य नगर र गाउँपालिकामा मतगणना सुरु गर्न सबै प्रक्रिया पूरा भएर मतपत्र सटिङ कार्य भइरहेको बताइएको छ ।
सुन्दर हरैचा, बेलवारी, पथरी शनिश्चरे, उर्लावारी, लेटाङ, रंगेली, रतुवा माई र सुनवर्षी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ ।
त्यसैगरी बुढीगंगा, धनपालथान, ग्रामथान, जहदा, कानेपोखरी, कटहरी, केरावारी र मिक्लाजुङ गाउपालिकामा पनि मत गणना सुरु भएको छ । पछिल्लो परिणामअनुसार पथरी शनिश्चरे नगरपालिकामा मेयरमा एमालेले ७५, कांग्रेसले ६२ र माओवादी केन्द्रले १८ मत पाएको छ ।
त्यसैगरी कानेपोखरी गाउँपालिकामा अध्यक्षमा कांग्रेसले २ सय ३३, एमालेले २ सय ८ र माओवादी केन्द्रले १ सय ३० मत पाएको छ । उक्त गाउँपालिकाको वडा १ को अध्यक्षमा कांग्रेसले २ सय ३५, एमालेले १ सय ४९ र माओवादी केन्द्रले १ सय ३१ मत पाएको छ ।


