अत्यन्तै कडा स्वभावकी एसपी मीरा चौधरीलाई धनुषामा पठाइए पछि २४ घण्टा नपुग्दै देउवा तनावमा, चौधरीको सरुवा संशोधन गर्न गृहमन्त्रीलाई देउवाको दबाव, आईजीपी निरीह

काठमाडौँ, साउन १८ । नेपाल प्रहरीको प्रहरी उपरीक्षकहरुको सरुवा भएको २४ घण्टा नपुग्दै सरुवा संशोधनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्याल चर्को दबाव दिएको खुलासा भएको छ ।

प्रहरी मुख्यालयले हिजो प्रकाशन गरेको सरुवा सुचीमा दुई महिला एसपीलाई चुनौतीपूर्ण जिल्लामा सरुवा गरेको थियो । मुख्यालयले दाङको प्रहरी प्रमुखमा दुर्गा सिंह चन्द र अति संवेदनशील जिल्ला मानिने धनुषाको प्रहरी प्रमुखमा मीरा चौधरीको सरुवा गरेको थियो ।

अन्य जिल्लाको सरुवामा चित्त बुझाए पनि धनुषामा अत्यन्तै कडा स्वभावकी मीरा चौधरीलाई पठाइएपपछि उनको सरुवा संशोधन गरेर हाल कार्यरत एसपी लालमणी आचार्यलाई नै निरन्तरता दिन र मीरा चौधरीलाई सकेसम्म सीआईबीमा राख्न र जिल्ला नै दिनुपर्ने भए बर्दियाको प्रहरी प्रमुखमा पठाउन प्रधानमन्त्री देउवाले दबाव दिएको उच्च स्रोतको दाबी छ ।

धनुषा काङ्ग्रेस नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिको गृहजिल्ला हो । गृहमन्त्री हुँदा आफैँले रोजेर पठाएका आचार्यलाई फिर्ता बोलाएर कडा स्वाभावकी चौधरीलाई धनुषा पठाइएपछि निधिले प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मासँग चर्को असन्तुष्टि पोखेको स्रोत बताउँछ ।

निधिले आफू गृहमन्त्री हुँदा तत्कालीन एसपी रामदत्त जोशीलाई फिर्ता बोलाएर आफू निकटका लालमणी आचार्यलाई धनुषाको प्रमुखमा सरुवा गरेका थिए ।

चुनावको मुखमा आफ्नो गृहजिल्लाको एसपी परिवर्तन गर्दा आफूलाई कुनै जानकारी नदिइएको भन्दै निधिले उक्त सरुवा तत्काल संशोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको र सोही आग्रहबमोजिम कुनै पनि हालतमा एसपी चौधरीलाई धनुषा नपठाउन प्रधानमन्त्री देउवाले गृहमन्त्री र आईजीपीलाई दबाव दिएको गृहस्रोत बताउँछ ।

हाल केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एसपी चौधरी अत्यन्तै कडा स्वभावकी अधिकृत हुन् । अपराध र राजनितीबीचको साइनो तोडिनुपर्छ र अपराध गर्ने अपराधीले कुनै पनि हालतमा छुट पाउनु हुँदैन भन्ने मान्यता राख्ने उनले एसपी हुँदा उत्कृष्ट तरिकाले मकवानपुरको कमाण्ड सम्हालेकी थिइन् ।

डीएसपी हुँदा पाल्पा र महानगरीय प्रहरी वृत बालाजुको कमाण्ड सम्हालेकी उनैले बालाजु माथिको जङ्गलमा बनाइएका वेश्यावृत्तिको लागि यौन अखडाहरु बन्द गराएर दोषीहरुलाई कारबाहीको दायरामा ल्याएकी थिइन् । डीएसपीमा महानगरीय अपराध महाशाखामा कार्यरत रहदा चर्चित गुण्डानाइके दिनेश अधिकारी “चरी“ इन्काउण्टरको नेतृत्व गरेको भन्दै प्रहरी मुख्यालयले वर्ष शान्ति पुरस्कार दिएको थियो ।

केही महिना अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) ले साढे ३३ किलो सुन बरामद गर्दा उक्त अपरेशन र अभियोजनको नेतृत्व उनैले गरेकी थिइन् ।

नियम विपरीत कसैसँग कुनै पनि सम्झौता नगर्ने स्वभावकी उनलाई धनुषा जानबाट रोक्नुको उद्देश्य आगामी चुनाव नै रहेको जानकारहरु बताउँछन् । प्रहरीका हाकिमहरु आफ्नो भए अनेक धाँदली गरेर भएपनि चुनावमा सफलता हासिल गर्न सकिन्छ भन्ने गलत सोच राजनीतिक तहमा व्याप्त छ । सोही कारण एसपी चौधरीको सरुवा रोक्न दबाव दिइएको हुनसक्ने आँकलन गरिएको छ ।

सरुवा संशोधन गर्न प्रधानमन्त्री देउवाले दिएको दबावमा गृहमन्त्री जनार्दन शर्मा सकारात्मक देखिएको र आईजीपी प्रकाश अर्याल निरीह देखिएको प्रहरी मुख्यालय स्रोतको दाबी छ । – लाईटनेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖