नेपालका लागि भारतीय राजदूतसामू ओलीले गरे प्रधानमन्त्री देउवाको चर्को आलोचना !
काठमाण्डौ, १८ साउन । नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
बुधबार ओली निवास बालकोट पुगेर राजदूत सिंहले नेता ओलीलाई भेटेका हुन् । भारतीय दूतावासले ११ अगस्टमा काठमाण्डुमा आयोजना गर्न लागेको भारतको ७०औं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमको निम्ता दिन राजदूत सिंह ओली निवास पुगेका हुन् ।

त्यस क्रममा अध्यक्ष ओली र राजदूत सिंहबीच करिब २ घण्टा भेटवार्ता भएको थियो, काठमाण्डौ टुडेमा खबर छ । छलफलका क्रममा नेता ओलीले भारतसँग नेपालले हार्दिकता चाहेको बताएका थिए । नेपाल र भारतबीचको सम्बन्ध विगतदेखि नै हार्दिकतापूर्ण रहेको भन्दै ओलीले केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण समस्या भएको बताएका थिए ।
‘नेपाल–भारतबीचको सम्वन्ध हिजोदेखि नै निकै हार्दिकतापूर्ण छ,’ ओलीका निजी सचिव अनिश दाहालले भने, ‘एक–दुई दर्जन व्यक्तिका व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले समस्या भएको छ ।’
त्यस अवसरमा नेता ओलीले भर्खरै सम्पन्न भएको स्थानीय तहको २ चरणको निर्वाचनमा सत्तामा रहेका कांग्रेस र माओवादीले असहयोग गरेता पनि एमालेले पहिलो स्थान हासिल गर्न सफल भएको बताएका थिए ।
उनले वर्तमान सरकारप्रति रहेको एमालेको असन्तुष्टि समेत राखेका थिए । ‘वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिला पूर्व राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरेका थिए । अहिले उहाँ आफैँ असक्षम बन्ने काम गर्दै हुनुहुन्छ,’ ओलीले भने, ‘उहाँ असक्षमको बिल्ला लगाउन आतुर बन्नुभएको छ । उहाँका गतिविधिले त्यही पुष्टि गरेको छ ।’
नेता ओलीले छलफलमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि प्रदेश तहको भन्दा पनि अहिले केन्द्रीय निर्वाचन आवश्यक रहेको भन्दै सरकार केन्द्रीय निर्वाचन टार्ने खेलमा लागेको समेत आरोप लगाएका थिए ।
त्यस क्रममा राजदूत सिंहले नेपाल–भारतबीच धार्मिक, साँस्कृतिक र पारस्परिक सम्वन्ध रहेको भन्दै दुई देशबीचको निकटता अन्य देशसँगको भन्दा फरक रहेको बताएका थिए । उनले भारत पहिलेको जस्तो नभएको भन्दै भारतले नेपालसँग द्वन्द्व नभएर पारस्पारिक सम्वन्ध चाहेको समेत बताएका थिए ।


