भरतपुर १९ को मतगणना जारी, ४ सय १ मत गन्दा रेणु दाहालको अग्रता, यस्तो छ पछिल्लो मत परिणाम…
भरतपुर महानगरपालिकाको वडा नं.१९ को मतगणना जारी छ । शुक्रबार राती ११:३० बजेबाट सुरु भएको मतगणनामा पहिलो चरणमा अहिलेसम्म ४ सय १ मत गणना भएको छ । हाल सम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेस र माओवादी गठबन्धकी मेयर उम्मेद्वार रेणु दाहालले २ सय ४ मत र नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीले १ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
भरतपुर १९ मा शुक्रबार मात्र पुनः निर्वाचन भएको हो । शुक्रबार यस वडामा २ हजार ८ सय ७० मत खसेको थियो । यसअघि वैशाख ३१ गतेको निर्वाचनमा भने २ हजार ८ सय ९७ मत खसेको थियो ।
यसैगरि वडा नं.२० मतगणना पनि बाँकी रहेको छ । वडा नं.२० मा कुल ४ हजार ३ सय ४१ मतदाता रहेकोमा ३ हजार ३ सय २ मत खसेको थियो । यी दुई वडा गन्नु अघि देवी ज्ञवालीको ४० हजार ९ सय ८० र रेणु दाहालको ४० हजार १ सय ९६ मत रहेको छ । जसमा ज्ञवाली ७ सय ८४ मतले अगाडि रहनु भएको थियो ।


