रेणुलाई जिताउन प्रचण्डले के सम्म गरे ? यस्ता कुरा जुन बाहिर आएनन, यस्तो थियो भरतपुरमा चलखेल…
भरतपुर, माओवादीले मतपत्र च्यातेर पुन निर्वाचन गराउन सफल भएको भरतपुर महानगर वडा नम्बर १९ मा एमालेले आफ्नो पुरानो मतको प्रतिरक्षा गर्न नसकेको देखिएको छ भने सत्ताको दवाव, पैसा र निर्वाचन आयोगको पक्षपातपूर्ण निर्णयबाट माओवादीले ५६३ मत आफ्नो पक्षमा पारेको छ ।
भरतपुर १९ को मतगणना सुरु हुनुअघि एमाले उम्मेदवार देवी ज्ञवाली ७८४ मतले माओवादी–कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहाल भन्दा अगाडि हुनुहुन्थ्यो । गत जेठ १४ गते राती १९ नम्बरको मत गणना भइरहंदा यो अन्तर घट्ने होइन, देवी ज्ञवालीको पक्षमा झन् बढ्ने देखियो ।
त्यसबेला वडा नम्बर १९ का १८०० मत गनिसक्दा देवी ज्ञवालीको मतान्तर केवल ५२ मतले मात्र घटेको थियो । त्यसमाथि एमाले वडाअध्यक्षका उम्मेदवार प्रकाश पाख्रिनको क्षेत्रमा गणना हुन थाल्दा ज्ञवालीको मत झन् बढ्ने क्रम सुरु भयो ।
यही बिन्दुमा माओवादीले आफ्ना दुई कार्यकर्ता परिचालित गरेर योजनावद्ध रुपमा मतपत्र च्यात्यो । त्यसपछि निर्वाचन आयोग र महान्यायाधिवक्ताको साथबाट दालतको निर्णय समेत माओवादीले चाहेजस्तै पुन मतदानको पक्षमा गयो ।
शुक्रवार भएको पुन निर्वाचनमा मतदाता प्रभावित पार्न माओवादी र कांग्रेसले निर्वाचनको पवित्रतामाथि नै प्रश्न उठ्नेगरी गलत हथकण्डा अपनाएका थिए । दुवै दलको रणनीति कांग्रेसका मतदातालाई रेणु दाहालको पक्षमा उभ्याउन सत्ताको शक्ति, प्रहरी, राज्यस्रोत र पैसा प्रयोग गर्नमा केन्द्रित थियो ।
निर्वाचनको दिन र मौन अवधीमा समेत सरकारी कामकाजको नाममा कांग्रेस माओवादी गठबन्धनका नेता कार्यकर्तालाई सवारी साधन असिमित रुपमा चलाउन छुट दिइयो । प्रहरीको घेराभित्र मतदातालाई केन्द्रसम्म ल्याउने र त्यसबीचमा कांग्रेस माओवादीका कार्यकर्ता समुहमा घुसाएर चुनाव प्रचार गर्ने छुट पनि उनीहरुले पाए ।
यसको प्रतिफल अघिल्लो पल्टको मतदानमा एमाले र अन्य दलको पक्षमा भोट दिएका ५६३ मतदाताले आफ्नो मत रेणुको पक्षमा दिएको देखिएको छ । अर्थात् १९ नम्बरको पुन मतदानबाट समग्रमा देवी ज्ञवालीलाई ५६३ मत घाटा लागेको छ । यो मत सत्ता र पैसाको प्रभावमा माओवादीले आफ्नो पक्षमा पारेको हो भन्दा अत्युक्ति हुँदैन ।
अव भरतपुर २० नम्बर वडाको मत गणना सुरु भएको छ । यो पनि १९ नम्बर जस्तै कांग्रेसको प्रभाव धेरै, एमाले हाराहारीमा दोस्रो र माओवादी कमजोर तेस्रो भएको वडा मानिन्छ । यद्यपि २० नम्बरका कांग्रेस मतदाताले आफ्नो पक्षमा मतदान गरेको विश्वास सहित माओवादीले १९ नम्बरको मतपत्र च्यातेका थिए ।
१९ नम्बरको गणना सकिंदा समग्रमा एमाले उम्मेदवार ज्ञवालीको अग्रता २२१ मतको छ । यदि २० मा पनि गत १९ नम्बरको जस्तै ट्रेण्डमा मत खसेको भए देवी ज्ञवालीको सम्भावना अझै सकिएको छैन । तैपनि पुन मतदानबाट ५६३ भोट आफ्नो पक्षमा किन्न सफल भएकाले कांग्रेस–माओवादी विजयप्रति ज्यादा विश्वस्त देखिएका छन् । तर ढुक्क हुने स्थिति दुवै पक्षको छैन । २० नम्बर वडाका ३००० मत गनिसक्दा मात्र फैसला हुने देखिन्छ । – चक्रपथ डटकमबाट साभार


