एमालेलाई तराई-मधेसमा सरप्राइज, फेरि अर्को समुह प्रवेश गर्दै
सिराहा, तराई मधेस विरोधी दलको बिल्ल भिरेर २ नम्बर प्रदेशमा राजनीतिक कार्यक्रममा समेत हिंसात्मक आक्रमण ब्यहोरेको एमालेले तेस्रो चरणको चुनावअघि भने सरप्राइज सफलता पाउन थालेको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा निर्वाचन परिचालन अभियान चलाईरहेको एमालेमा अन्य पार्टीका नेता कार्यकर्ता त प्रवेश गरिरहेका छन् नै, विस्तारै मधेसको माग भन्दै ल्याइएको संविधान संशोधनले तराई मधेसका जनतालाई झन् नोक्सानी पुर्याउने निचोडमा मतदाता नै पुग्न थालेका छन् ।
सिराहा, सप्तरी, सर्लाही लगायतका स्थानमा एमाले नेताहरुको समेत उपस्थितिमा कार्यक्रम भएपछि स्थानीय समुदायमा नयाँ बहस सुरु भएको छ । संविधान संशोधन तराई मधेसको समस्या समाधान गर्न भनेर प्रचार गरिएको तर, संविधान संशोधनले तराईको कुन समस्या समाधान हुन्छ ? भन्ने प्रश्न त्यहाँ जोडदार रुपमा उठ्यो । निकट भविश्यमै स्थानीय निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरुले राष्ट्रियसभा सदस्य चुनावमा भोट हाल्न पाउने अधिकार संविधान संशोधन प्रस्तावमा रहेको भन्ने थाहा पाएपछि मधेसमा संविधान संशोधनको विपक्षमा आवाज उठ्न थालेको हो ।
एमालेलाई सरप्राइज
केही समयअघि सम्म यस्तो अवस्था थियो, संविधान संशोधनको पक्षमा हुने मधेसको पक्षमा र नहुने मधेसको विपक्षमा रहेको कित्ताकाट हुन्थ्यो । तर, संविधान संशोधन सिमित नेताहरुको विशेषाधिकार संरक्षण गर्ने र जनताका अधिकार कटौती गर्नेगरी आएको त्यहाँ चर्चा हुन थाल्यो । एमाले नेता कार्यकर्ता आफ्ना कार्यक्रम लिएर मतदाताको तहसम्मै पुग्न थालेपछि त्यहाँ हुलाकी मार्ग, सदरमुकाम सहरलाई दिएको ५० करोड रुपैयाँ र जनता आवास जस्ता कार्यक्रमले जोडदार चर्चा पायो ।
धनुषामा विपन्न समुदायका शौचालय सहितका एक हजार पक्की घर बनाउने काम भइरहेको छ । यस्तै कार्यक्रम अरु जिल्लामा पनि छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले विपन्न जनताका लागि जनता आवास कार्यक्रम अन्तर्गत २० हजार घर बनाउने कार्यक्रम ल्याएको थियो ।
त्यो अहिले तराई मधेसमा कायाृन्वयको चरणमा छ । मतदाता तहमा नेता कार्यकर्ता पुग्दा विकासका यस्ता कार्यक्रमबारे पनि चर्चा हुन्छ । त्यसको स्वाभाविक जस एमालेले पाउने नै भयो । ‘एमालेले के गरिरहेको छ र अरु दलले के गरेका छन् भन्ने कुरा ग्रामीण तहमै महसुस हुन थालेको पाएका छौं’ धनुषाको अभियान सकेर राजधानी फर्कनुभएका एमाले सचिव योगेश भट्टराईले भन्नुभयो, ‘जनतालाई एमाले विरुद्ध भ्रममा राखिएको थियो, त्यो विस्तारै टुट्यो ।’
राजनीतिक दलका मुद्दाहरुमाथि बहस पैरवी हुँदै जाँदा के साँचो र के झुठो भन्ने पनि यसबीचमा चर्चा हुँदै गए । त्यसैले पनि पछिल्लो पटक अन्य राजनीतिक दलका नेता कार्यकर्ता एमालेमा आउने क्रम बढेको छ । त्यसमाथि राजपाका त केन्द्रीय पदाधिकारी नै एमाले प्रवेश गरिरहेका छन् ।
सरप्राइज प्रवेश हुँदै
स्थानीय चुनावको मिति नजिकिइरहेका बेला मधेसकेन्द्रित दलका अरु केही प्रभावशाली नेताहरु एमाले प्रवेश गर्ने तयारीमा छन् । यसअघि राजपाका सहमहामन्त्री समिम मिया अन्सारी, कोषाध्यक्ष अनिता यादव लगायत केही केन्द्रीय सदस्यहरु एमाले प्रवेश गरिसकेका छन् ।
पछिल्लो माओवादी हुँदै नयाँ शक्तिका सहसंयोजक रहेका रामचन्द्र झा पनि एमाले फर्कने अन्तिम तयारीमा हुनुहुन्छ । राजनीतिलाई जनताको समृद्धिसँग जोड्न सके सबै पहिचानको यथोचित विकास हुने बरु ‘पहिचान’को नाममा भएका गतिविधिले विभाजन मात्रै ल्याएको र मूल प्रवाहबाट बाहिरिनु परेको निश्कर्षमा पुगेपछि पहिले एमाले छाडेका नेताहरु पनि एमालेमै फर्कने मनस्थितिमा पुगेका हुन् ।
नयाँ बनेको संविधानले कुनै पनि समुदायलाई भेदभाव नगरेको र मधेसी र जनजाति विरोधी भनी प्रचार गरिएको एमालेबाटै सबैभन्दा धेरै जनजाति र मधेसी प्रतिनिधि निर्वाचित भएकोले पनि एमाले विरुद्धका सबै प्रचार निस्तेज भएको उनीहरुको निश्कर्ष छ ।
‘मधेसी र जनजाति एमालेबाटै बढी निर्वाचित हुन्छन्, अनि एमालेलाई मधेस विरोधी जनजाति विरोधी भनिरहंदा कसैले पत्याउने अवस्था नै छैन’ एमाले प्रवेशको तयारीमा रहेका एक नेताले भन्नुभयो, ‘राजनीतिमा सबैले पत्याउने कुरा गर्न सकिएन भने आरोप मात्र लगाएर धेरै दिन टिक्न गाह्रो हुन्छ ।’
एमालेले आफूमाथि भएका प्रहार सामना गरेरै पनि सत्य अडानबाट पछि नहटेकाले पछिल्लो पटक अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेको उनीहरुको भनाई छ । ‘भावनात्मक कुरा गरेर केही समय टिक्न सकिएला तर, सधैंभरी सत्यको विरोध गरिरहन सकिंदैन’ उनीहरु भन्छन् ।
त्यसै कारण पनि बीरगञ्जका माओवादी नेता बसरुद्दिन अन्सारी, सिराहाका पूर्व मेयर मुन्नी साह एमाले प्रवेश गरेका हुन् । राजविराज चर्चित युवा नेता सुखीराम यादव पनि भर्खरै एमालेमा भित्रिनुभयो । त्यस्तै कलाकार रमेशरञ्जन झा पनि एमालेमा फर्किनुभयो । तराईका पुराना बामपन्थी नेता सूर्यनारायण यादवका छोरा प्रमोदनारायण यादवलगायत चार नेता एमाले प्रवेश गरे । साउन २० गतेमात्रै जनकपुरमा दुई सय व्यक्ति एमाले प्रवेश गरेका थिए । – चक्रपथ बाट


