माओवादीबाट एमाले प्रवेश गर्नेहरुसँग ओलीको प्रश्न : तपाईंहरु त्यहाँ कसरी बस्नु भो ?
काठमाडौं, २६ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी लाभ र आफ्ना साना स्वार्थमा अल्झिएका शक्तिले देश निर्माणको एमालेको लक्ष्यलाई अवरोध गर्न खोजेको वताउनु भएको छ । पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले राष्ट्रिय हित र समृद्धिको दृष्टिकोणसाथ अघि बढ्दा त्यस्ता शक्तिहरुले निजी स्वार्थका लागि अल्झाउन खोजेको वताउनु भयो ।

‘पछौटे नेपाल एमालेलाई स्वीकार्य छैन, सुखी देश हाम्रो उद्धेश्य हो’ ओलीको भनाई थियो, ‘तर, अरु दलीय स्वार्थ साना क्षणिक लाभमा अल्मलिएर हाम्रो समृद्ध नेपालको लक्ष्य विरुद्ध प्रयोग भएका छन् ।’
एमाले कम्युनिस्ट आन्दोलनको मात्र नभएर राष्ट्रिय राजनीतिको मुलप्रवाह भएको ओलीको भनाई थियो । ‘राष्ट्रियताको सवाल, लोकतन्त्रको सवाल होस्, देशलाई समृद्धिमा लिएर जाने सवाल होस् वा स्वाधीनताको सवाल होस् यी एमालेका नीति हुन्, यी राष्ट्रिय नीति हुन्’ ओलीले भन्नुभयो, ‘एमाले नेपालको राजनीति कस्तो हुनु पर्छ, समाजनीति कस्तो हुनुपर्छ भन्ने पार्टी कम्युनिस्ट आन्दोलनको मात्रै मूलप्रवाह हुन सक्दैन यो राष्ट्रिय राजनीतिको मूल प्रवाह हो । भूगोल–भूगोल लडाउने, जातजाति लडाउनेहरु आफ्ना निजी स्वार्थका लागि मात्रै अरुको नीतिमा प्रयोग भइरहेका छन् ।’
कांग्रेसप्रति कडा कटाक्ष
एमाले अध्यक्ष ओलीले विकास र समृद्धिको नीति लिएर हिंडेको एमाले र निजी स्वार्थका लागि अरुले चलाइदिएको हावाका पछि लाग्ने कांग्रेसबीच पनि नीतिगत तुलना गर्नुभयो । ‘एमाले उद्योग खोल्न र विकासका कार्यक्रम ल्याउन सिकाउँछ । अर्काे कमिसनको छुद्र स्वार्थ पूरा गर्न उद्योग निजीकरण गरी बन्द गर्न सिकाउँछ’ ओलीको भनाई थियो, ‘बारादेखि विराटनगरसम्म जानुस् त त्यहाँ भएका उद्योगहरु कसले बन्द गरायो ? बाँसबारी छालाजुत्ता समाप्त पारेर देशलाई के लाभ भो ? कागज कारखाना, जनकपुर चुरोट, बीरगञ्ज चिनी कारखाना निजीकरण गरेर देशले के लाभ पायो ? अर्काले चलाएको हावाका पछि लागेर उद्योगलाई समाप्त पार्ने र कमिशनका पछाडि दौडने काम कसले गर्यो ?’ ०४६ सालको परिवर्तनपछि राष्ट्रिय उद्योगहरुलाई निजीकरण गर्ने र बन्द गराउने कांग्रेसको नीतिप्रति ओलीको कटाक्ष थियो । ओलीले एमालेले एकपल्ट सरकार चलाउँदा संकटका बेला पनि आर्थिक बृद्धिदर ७ प्रतिशतले बृद्धि गराएको अव अवसर पाए डवल अंकले बढाउने वताउनुभयो ।
माओवादी भेट्नो नभएको पात
कार्यक्रममा एमाले प्रवेश गरेका ३५७ जना मध्ये अधिकांश प्रवेशीहरु माओवादीका नेता कार्यकर्ता थिए । माओवादी नामको बामपन्थी र कामको दक्षिणपन्थी भएको उदाहरण प्रस्तुत गर्दै ओलीले अहिलेसम्म माओवादीमा रहेकाहरु कसरी त्यस पार्टीमा रहन सकेको भन्दै आश्चर्य ब्यक्त गर्नुयो । ‘यहाँ धेरै साथीहरु माओवादी केन्द्रबाट आउनु भएको छ । माओवादी अव पार्टी भएन, केन्द्र भयो । जो छ केन्द्रमा छ, बाँकी रहेन’ ओलीको भनाई थियो, ‘रुखलाई पातसँग जोडेर अड्याउने सानो भेट्नो हुन्छ । भेट्नो सानो हहुँदाहुँदै पनि कसरी अड्याउँछ ? कसरी अड्याउँछ भने त्यहाँ जीवनतत्व हुन्छ । जीवन तत्व नभएपछि पात झर्छ । पार्टीमा नीति, विचार र आदर्शको जीवनतत्व नभएपछि त्यो अडिंदैन ।’
माओवादीमा राजनीतिक नीति, सिद्धान्त र विचारको जीवनतत्व नभएको उदाहरण ओलीले दिनुभयो । ‘त्यहाँ लाभपन्थ छ, पदपन्थ छ । हिजो आफ्नै टाउकोमा आगो सल्काउ भनेर हिंडेका हुन्थे’ ओलीले भन्नुभयो, ‘आज दक्षिणपन्थी भन्ने शब्द तिनीहरुका डिक्सनेरीमा छैन । कम्युनिस्ट आन्दोलनलाई कसरी कमजोर बनाउन सकिन्छ उनीहरु त्यतैतिर छन् ।’
माओवादी प्रगतिशील र बामपन्थी नरहेको उदाहरण दिंदै ओलीले राजनीतिक त्यो राजनीतिक पार्टी भन्दा पनि पारिवारिक सञ्जालजस्तो भएको वताउनुभयो । ‘पहिले अर्कै नाम थियो, अनि माओवादी, त्यसपछि एमाओवादी, त्यसपछिको माओवादी केन्द्र पार्टीको नाम चारपल्ट फेरिइसक्यो । नेता एकजना बाहेक कोही देख्नु भएको छ ?’ ओलीको प्रश्न थियो, ‘०४५मा त्यो पार्टीको नेता को थियो ? त्यही । ०५५ सालमामा को थियो ? त्यसबेला पनि त्यही । ०६५ सालमा को थियो ? त्यसबेला पनि त्यही । अव ७४ साल आउन लाग्यो, को छ हेर्नु भएको ? नयाँ एउटा उम्रिन पाउँदैन । एमाले त त्यस्तो होइन, पार्टी हो ।’
नीति, सिद्धान्त, विचार केही नभएपछि एउटा जमिन्दारी संस्थाजस्तो आफ्नो परिवार मातहत संगठनलाई माओवादीले राख्ने गरेको ओलीले उदाहरण दिनुभयो । ‘आफ्ना छोराछोरीलाई जिताउन पर्यो भने के गर्छन् हेर्नुस् त ? यतिका दिनसम्म तपाईंहरु कसरी त्यस्तो पार्टीमा बस्नु भो होला ?’ ओलीको भनाई थियो, ‘एमालेमा यस्तो जमिन्दारी त कल्पना पनि गर्न सकिंदैन । यो पार्टी हो । यसका निर्णय प्रक्रिया र विधि छन् । यहाँ बादशाह र त्यसका छोराछोरी र अरु नोकरचाकर छैनन् ।’
माओवादीले समय हेरेर कस्तो हावा चल्छ त्यस्तै कुरा गर्नेगरेको ओलीको भनाई थियो । ‘उनीहरु यसो हेर्छन्, यतिबेलाको हावामा कस्तो कुरा चल्छ त्यही कुरा विक्री गर्छन्’ ओलीले सँगसँगै कांग्रेसलाई पनि कटाक्ष गर्नुभयो, ‘अर्काेथरीमा आफ्नो राष्ट्रिय सोच केही छैन, अर्काले कस्तो हावा चलाउँछ । त्यतै बगिदिन्छन् । निजीकरणको हावाले देशका उद्योगधन्दा बर्वाद पार्छन् ।’
ओलीले आफ्नो पार्टीले देशमा केही हुन सक्दैन भन्ने निराशा छाएका बेला जनताका मुर्झाएका सपनाहरुलाई ब्युँझाएको वताउनुभयो । ‘यस्तो अवस्थामा हामीले अव केही हुँदैन भन्ने निराशालाई चिर्यौं, जनताका मुर्झाएका सपनालाई पुनर्जागृत गर्यौं’ ओलीले भन्नुभयो, ‘अरुले चुनाव लड्ने र भोट जित्ने मात्रै कुरा गरे हामीले लोकतन्त्र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सामाजिक न्यायको ब्यवस्था हो भनेर सक्रिय भयौं ।’
एमालेसँग वैचारिक भिन्नता कुनै पनि पार्टीले पनि राख्न नसक्ने भएपछि उनीहरुले एमालेलाई मधेस विरोधी, खोक्रो राष्ट्रवादी, जनजाति विरोधी भन्ने भ्रम फैलाउँदै हिंडेको ओलीले वताउनुभयो । ‘एमालेका विचारसँग विमति राख्ने ठाउँ छैन, त्यसैले उनीहरु जनतालाई भ्रम पारेर खोक्रो राष्ट्रवाद भन्छन् । हामीसमृद्धिको कुरा हामी गर्छाैं, उनीहरु त्यो त खोक्रो राष्ट्रवाद हो भन्छन् । गुदी भएको पोटिलो राष्ट्रवाद कस्तो होला ?’
जनताले सबै कुरा बुझ्न पाए जागरुक हुने डरले एमालेलाई तराईमा कार्यक्रम गर्न समेत प्रतिबन्द लगाएको तर, एमालेले देश रुपान्तरणको अभियान नछोडेको ओलीले वताउनुभयो । उहाँले एमाले प्रवेश गर्नेहरुलाई देश निर्माणका लागि योगदान गर्न आग्रह गर्नुभयो । ‘यस देशलाई अगाडि बढाउनका लागि तपाईंको योगदानको यहाँ कदर हुन्छ, कसैलाई अगाडि बढाउनका लागि तपाईंहरुले भर्याङ बन्नु पर्नेछैन’ ओलीले भन्नुभयो ।
कार्यक्रममा माओवादी, मधेसकेन्द्रित दल र कांग्रेसका गरी ३५७ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए । ०३२ सालदेखि माओवादीको पूर्ववर्ती समुह नेकपा चौमको नेता रहेका गणेश अधिकारीले एमालेको राजनीतिक दृष्टिकोण, विकासको योजना, राष्ट्रिय एकता र अखण्डताको अडानबाट प्रभावित भएर एमाले प्रवेश गरेको वताउनुभयो ।


