३ करोड नेपालीलाई खुशी पार्ने समाचार आयो केरुङबाट, चाइनाले बोलेको कुरा गरेर देखायो

रसुवागढी-केरुङलाई अन्तर्राष्टिय नाका घोषणा

काठमाडौँ । ल्हासामा बुधबार पत्रकार सम्मेलन गरेर दुवै देशका अधिकारीले रसुवागढी-केरुङलाई अन्तर्राष्टिय नाका घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ पत्रकार सम्मेलनमा तिब्बत सरकारकी सहायक अध्यक्ष लिउ मेइले ल्हासास्थित रसुवागढी-केरुङलाई अन्तर्राष्ट्रिय नाका घोषणा गर्न पाउँदा खुसी लागेको बताइन्।

उनले चीनतर्फ उक्त नाकाको भौतिक पूर्वाधार पुनर्निर्माण तथा स्तरोन्नति लगभग पूरा भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गरेपछि दुई देशबीच व्यापार, पर्यटन तथा जनसम्पर्क अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्। यसबाट चीनको ‘वन बेल्ट वन रोड अभियान’ कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।

ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले पनि रसुवागढी-केरुङ अन्तर्राष्ट्रिय नाका बनेपछि दुई देशबीच व्यापार, पर्यटन, लगानी तथा जनसम्बन्ध बढ्ने बताए। २०७२ वैशाखको भूकम्पपछि अवरुद्ध तातोपानी-खासा नाका पुनःसञ्चालनमा ल्याई दुवै देशको सहमतिमा थप नयाँ नाकासमेत खोल्नुपर्ने कार्कीले बताए।

रसुवागढी-केरुङ २०७१ मंसिर १५ बाट द्विपक्षीय नाकाका रुपमा सञ्चालनमा आएको थियो। यसअघि उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर आवतजावत गर्न सक्थे। अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण भएपछि अब रसुवागढी-केरुङबाट तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन्।

यसलाई अन्तर्राष्ट्रिय नाका बनाउन २०१७ जुनमा नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीच कूटनीतिक पत्र आदानप्रदान भएको थियो। २०७२ वैशाखको भूकम्पले तातोपानी नाका बन्द भएपछि नेपालको चीनसँगको व्यापार रसुवागढी नाकाबाट हुँदै आएको छ।

चिनियाँ पक्षले केरुङदेखि रसुवागढीसम्म सडक लगायत पूर्वाधार तयार पारिसकेको भए पनि नेपाली पक्षले गर्नुपर्ने धेरै काम बाँकी छन्। तीमध्ये पूर्वाधार निर्माणको काम भइरहेको छ। रसुवागढीमा एकीकृत भन्सारको भवन बनाउन ठेक्का प्रक्रिया सकिएको छ। उक्त भवन तीन वर्षमा बनाइसक्ने लक्ष्य छ।

रसुवागढी भन्सार प्रमुख केदार पनेरूका अनुसार टिमुरेमा सुख्खा बन्दरगाहको डिजाइन पनि अन्तिम चरणमा पुगेको छ। स्याप्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटोमा चीन सरकारले एक लेनको ग्राभेल बनाएको छ। त्यो बाटोलाई दुई लेन बनाउन डिजाइन भइसकेको छ।

‘टिमुरेको सुख्खा बन्दरगाह र सडक निर्माणको शिलान्यास गर्न चिनियाँ अधिकारी छिट्टै आउँदै हुनुहुन्छ,’ प्रमुख पनेरूले भने।गल्छी-रसुवागढी सडकको बेत्रावती–मैलुङ–स्याप्रुबेसी खण्डमा नेपाली सेनाले ट्रयाक खोलिरहेको छ। वैशाखको भूकम्पले बेत्रावती–मैलुङ खण्डमा पहिरो खसेपछि ट्रयाक पुरिएको थियो। उक्त सडक खण्डमा पहिरो हटाउने र नयाँ ट्रयाक खोल्ने जिम्मा गत मंसिरमा नेपाली सेनालाई दिइएको हो।

पासाङ ल्ह्यामु राजमार्गको बेत्रावती–धुन्चे–स्याप्रुबेसी ५४ किलोमिटर छ। बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याप्रुवेसीसम्मको ओरालोमा ३५ वटा घुम्ती छन्। राम्चे र मूलखर्कमा जाने पहिरोले यो बाटो बेलाबेला अवरुद्ध हुने गर्छ। नयाँ बन्ने बेत्रावती–मैलुङ–स्याप्रुबेसी सडकको लम्बाई ३१ किलोमिटर छ।

बेत्रावती-स्याप्रुबेसी सडकमा त्रिशूली नदीको किनारै किनार जाने यो सडक खण्डमा घुम्ती हुने छैनन्। पहिरोको जोखिम भने यो बाटोमा पनि उत्तिकै छ। सेनाले आउने चैतसम्म उक्त बाटोको ट्रयाक खोलिसक्ने जनाएको छ। यता सडक विभागका गल्छी-बेत्रावती सडक दुई लेन बनाउने काम अघि बढाएको छ। ३ अर्ब २५ करोड खर्च गरेर आउने भदौसम्म बाटो दुई लेनको बनाइसक्ने गरी काम भइरहेको गल्छी-बेत्रावती सडक आयोजनाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए।रसुवागढी-गल्छी सडकलाई चितवनको ठोरी नाकामा जोड्ने सरकारी योजना छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।