प्रमुख दलका शीर्ष नेताहरू कुन-कुन जिल्लाबाट चुनाब लड्दैछन् ?

काठमाडौं प्रदेश नम्बर २ को स्थानीय निर्वाचनको तयारीसँगै प्रमुख दलका शीर्ष नेताहरू आगामी प्रतिनिधिसभा निर्वाचनमा कुन जिल्लाबाट उठ्ने भन्ने आन्तरिक टुंगो लगाउन क्रियाशील छन् ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब ९० दिन पनि बाँकी छैन । मंशिर १० र मंशिर २१ मा चुनाब हुदैछ।

यसपटक प्रतिनिधिसभा निर्वाचनको संख्या एक तिहाइ घटेकाले पनि प्रमुख दलका शीर्ष नेता जिल्ला ओगट्ने अभियानमा लागेका छन् । दुई सय ४० निर्वाचन क्षेत्र घटाएर एक सय ६५ बनाइएको छ । विगतमा प्रतिनिधिसभामा सांसद भएका धेरै नेता यसपटक प्रदेश सभामा निर्वाचनमा लड्ने तयारीमा छन् ।माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका अध्यक्षले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने जिल्लाबारे घोषणा नै गरिसकेका छन् । केही दिनभित्र अन्य दलका शीर्ष नेताले पनि निर्वाचन लड्न चाहने जिल्लाबारे सार्वजनिक गर्ने भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन र डा.बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने टुंगो लागेको छ । प्रचण्डले अहिलेसम्म फरक फरक जिल्लाबाट चुनावमा उठिरहेका छन् । पहिले उनले काठमाडौं र रोल्पाबाट निर्वाचन लडेका थिए । त्यसपछि काठमाडौं र सिरहामा उठे । अब चितवन जाँदैछन् ।

बाबुरामले गोरखा र रूपन्देहीबाट निर्वाचन लडेका थिए । गोरखाबाट निर्वाचित भए पनि उनी रूपन्देहीमा एमाले नेता विष्णु पौडेलबाट पराजित भएका थिए । सांसद पदबाट राजीनामा दिएका उनी अहिले सांसद छैनन् । यसअघि उनी तत्कालीन माओवादीबाट निर्वाचन लडेका थिए । अब नयाँ शक्ति पार्टीबाट उठ्दैछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा र कैलालीबाट निर्वाचन लड्दै आएका छन् । यसपटक देउवाले डडेल्धुरा छाडेर कैलालीबाट उम्मेदवारी दिने आन्तरिक तयारी गरेको कांग्रेस उच्च स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीले यसअघि झापाबाट निर्वाचन लड्दै आएका थिए । अहिले उनले आफ्नो भोट लिस्टमा नाम भक्तपुरमा सारिसकेका छन् । जसका कारण यसपटक ओली भक्तपुरबाट निर्वाचनमा उम्मेदवारी दिने मनस्थितिमा रहेको बताइन्छ । भक्तपुरमा दुई निर्वाचन क्षेत्र छ । जसमध्ये भक्तपुर १ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले नै उम्मेदवारी दिने छन् । उनी अहिलेसम्म सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्दै संसद पुगेका छन् । त्यसले गर्दा ओलीले आफू बसेको २ नम्बर क्षेत्रबाट उम्मेदवारी दिने बुझिएको छ ।

अधिकांश राजनीतिक दलका शीर्ष नेता विगतमा आफू जुन निर्वाचन क्षेत्र र जिल्लामा निर्वाचन लड्दै आएका थिए, त्यसलाई निरन्तरता दिने मनस्थितिमा छन् । कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ, डा.शशांक कोइराला नवलपरासी, डा.शेखर कोइराला मोरङ, प्रकाशमान सिंह काठमाडौं, कृष्णप्रसाद सिटौला झापा, विमलेन्द्र निधि धनुषाबाट निर्वाचन लड्दै छन् ।

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल इलाम र माधवकुमार नेपाल रौतहट, महासचिव ईश्वर पोखरेल ओखलढुंगा र काठमाडौंमध्ये एक, सुरेन्द्र पाण्डे चितवन, शंकर पोखरेल दाङ, विष्णु पौडेल रुपन्देही, योगेश भट्टराई काठमाडौं, सुवासचन्द्र नेम्वाङ इलामबाट चुनाव लड्दै छन् ।

माओवादी केन्द्रका रामबहादुर थापा निर्वाचन नलड्ने भएका छन् । नारायणकाजी श्रेष्ठ गोरखा र मकवानपुरमध्ये एकबाट, वर्षमान पुन रोल्पा, जनार्दन शर्मा रुकुम, कृष्णबहादुर महरा दाङबाट निर्वाचन लड्ने तयारीमा छन् ।

राजपा नेताहरू राजेन्द्र महतो र महेन्द्र राय यादव सर्लाही, शरत्सिंह भण्डारी महोत्तरी, राजकिशोर यादव सप्तरी, अनिल झा रौतहटबाट निर्वाचन लड्दै छन् । महन्थ ठाकुर भने समानुपातिकमा बस्ने स्रोतले बताएको मिडिया एनपीले उल्लेख गरेको छ ।

नेपाल फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार सुनसरी, रामजनम चौधरी कैलाली, गोपाल दहित बर्दियाबाट निर्वाचन लड्दैछन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव मोरङ, रेणु यादव सप्तरी, प्रदीप यादव पर्साबाट उठ्दैछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।