प्रदेश नम्बर दुईमा स्थानीय चुनाव आउन दुई दिन बाँकी रहँदा कांग्रेस, माओवादी र फोरम नेतासहित ३२५ जना एमालेमा प्रवेश

सिरहा, ३० भदौ । प्रदेश नम्बर दुईमा स्थानीय चुनाव आउन दुई दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पार्टी प्रवेशको लहर चलेको छ ।

यसैक्रममा विहिबार सिरहाको अर्नामा गाउँपालिकामा बृहत् आमसभामा कांग्रेस, माओवादी केन्द्र र फोरमका नेतासहित विभिन्न पार्टीका कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

एमालेका सचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अर्नामा गाउँपालिका अर्नामाका कांग्रेस नेता हरुणी कामकीको नेतृत्वमा १२५ जना, सोही गाउँपालिका कृष्णपुरका संघिय समाजवादी फोरम नेता एवं जिल्ला युवा संघका सचिव शिव शंकर महतोसहित १५० जना, वडा नं ३ का एमाओवादीका नेता झगरु महरासहित ५० जना गरि जम्मा ३२५ जना एमाले प्रवेश गरे ।

नव प्रवेशीहरुलाई प्रदीप ज्ञवाली र पोलिटब्युरो सदस्य लालबाबु पण्डितले माला र अविर लगाएर स्वागत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव ज्ञवालीले भने, नेकपा एमाले मधेसमा नै जन्मेको पार्टी हो । पार्टीहरुले शासन गरेको २८ वर्षमध्ये करिव ४ वर्ष मात्र एमालेले सरकार संचालन गर्याे । सरकार संचालन गरेको वेला मधेस र मधेसी जनताको पक्षमा सबैभन्दा वढी काम एमालेले नै गरेको छ । सवै भन्दा वढी सरकार संचालन गरेको कांग्रेस तराईमा रहेका नदीनाला भारतलाई वेच्ने, तराईको गरिविमा खेल्ने, विकास निर्माणमा आएको पैसा भष्टाचार गर्ने र भष्टाचारलाई संस्थागत गर्ने पार्टी हो । अब मधेसको विषयमा फरक तरिकावाट बहस चलाउनु पर्दछ ।

ज्ञवालीले अगाडि भने, मधेशवादी भनेको मधेशको समस्या देखाएर वार्गेनिङ मात्र गरिरहन्छन् । वास्तविक समस्याको वारेमा कुरा र काम गर्न चाहदैनन् । मधेश आन्दोलनको कारण एसईई परिक्षामा प्रदेश नं २ का जिल्लाको रिजल्ट नराम्रो आएको छ । मधेशका नेताका छोरा छोरी विदेश र काठमाडौका महंगो स्कुलमा पढाउने गरिवका छोरा छोरीलाई दुर्दशा र अशिक्षामा धकेल्ने र यसैमा राजनीति गर्ने काम गरेका छन् यसको अन्त्य गरिनु पर्दछ । यो चुनावले यसको छिनोफानो गर्ने छ र जनताले एमालेलाई विजय गराउने छन् ।

विशेष अतिथिको रुपमा वोल्दै अर्का सचिव योगेश भट्टराईले भने– मदन भण्डारी यही भुमिबाट एमालेको महासचिव हुनु भयो । यस ठाउँमा हाम्रो इतिहास जोडिएको छ । एमालेसंग मधेसीको भविष्य जोडिएको छ । यहाँका माटोले, वाटो, हावा र पानीले एमालेलाई चिनेको छ । हामी मधेसमा विकासको मुल फुटाउन चाहन्छौ । वृद्ध भत्ता लगायत विषयमा दोब्बर बनाउन चाहन्छौ ।

कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य लालवावु पण्डित, एमाले केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ, युवा संघ नेपालका केन्द्रीय सचिव माधव वास्तोला, नेकपा एमाले युवा तथा खेलकुद विभागका सदस्य मिना श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम युवा संघ नेपाल जिल्ला अध्यक्ष वैजनाथ शाहले संचालन र अध्यक्षता गाउपालिका अध्यक्ष उमेदवार चण्डेश्वर यादवले गरेका थिए । सभामा हजारौं जनताको सहभागीता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।