जिते लगत्तै वीरगञ्ज महानगरपालिका मेयरका ५ घोषणा, यस्तो छ जितको कारण…
पर्सा । वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय औपचारिक घोषणाको तयारी गरिरहँदा नवनिर्वाचित मेयर सरावगीले वीरगञ्ज महानगरको हितमा विभिन्न पाँच घोषणा गर्नुभएको छ ।

बुधबार दिउँसो सार्वजनिक परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अजय द्विवेदीलाई हराउँदै सरावगी वीरगञ्जको मेयरमा विजयी हुनुभएको हो । उपमेयरमा भने निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी पिंकी यादवलाई पराजित गर्दै नेपाली कांग्रेसकी शान्ति कार्की विजयी हुनुभएको छ ।
जिते लगत्तै मेयरका घोषणा
निर्वाचन अधिकृतको कार्यालय औपचारिक घोषणाको तयारी गरिरहँदा नवनिर्वाचित मेयर सरावगीले छात्राहरु अध्ययन गर्ने विद्यालयको शिक्षण बिधि निजी बिद्यालय जस्तो बनाइने घोषणा गर्नुभएको छ । मतगणना स्थल वीरगञ्जको ठाकुरराम बुहमुखी क्याम्पस अगाडि संक्षीप्त सम्बोधनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आउँदो शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा अनिवार्य रुपमा अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने बताउनुभयो ।
उहाँले वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई १२ सैय्यामा विकास गरि शिक्षण अस्पतालको रुपमा सञ्चालन गरिने पनि बताउनुभयो । उहाँले मधेसका छोरीले सुलभ रुपमा चिकित्सा शिक्षा लिएर यहीँ सेवा गर्ने अवसर पाउने बताउनुभयो ।
श्रीसिया नदीको प्रदुषणलाई नियन्त्रण गरिने पनि उहाँले बताउनुभयो ।
महानगरमा जोडिएका गाउँपालिकाका क्षेत्रलाई सेटेलाईट शहरको रुपमा विकास गर्ने उहाँले आफ्नो योजना सुनाउनुभयो।
वीरगञ्जले राष्ट्रिय राजस्वमा जति योगदान गरे पनि त्यो अनुसारको प्रतिफल नपाएकोमा चिन्ता ब्यक्त गर्दै सरावगीले राजनीतिक दलहरुले ५० वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने दृढता ब्यक्त गर्नुभयो । ‘हाम्रो मधेसमा अब हामी मधेसी आएका छौँ । हाम्रो मधेसको विकास हामी गर्ने छौँ’ भन्नुभयो । उहाँले आफूले खानका लागि महानगरबाट केही लिनु नपर्ने भएकोले ४ लाख नगरका बासिन्दाको हितमा काम गर्ने बताउनुभयो ।
उहाँले आफ्नो जीत सबै नगरवासीको जीत भएको बताउनुभयो । वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।
मेयरमा विजय सरावगीले १९३९३ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १७१९७ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १९६०७ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी पिंकी यादवले १८५३० मत प्राप्त गर्नुभयो ।
यस्तो छ जितको कारण
मधेस आन्दोलनको इपिसेन्टरका रुपमा रहेको वीरगञ्जमा त्यसको फाइदा फोरम नेपाललाई मिल्यो । चुनाव प्रचारका लागि फोरमले पर्याप्त समय पायो । आधारभूत तहमा खट्ने कार्यकर्ताको ठूलो पंक्ति मधेसी सेन्टीमेन्टले पनि फोरम नेपाललाई यो परिणाम प्राप्त गर्न मद्धत गर्यो । राजपा विभाजित नभएको भए यो परिणामको तस्बिर अर्को हुन पनि सक्थ्यो तर राजपाको विभाजन फोरम नेपालका लागि फाइदाजनक रहन गयो ।
जनमतका हिसावले वीरगञ्जमा नेपाली कांग्रेस कमजोर भने हैन । पर्सा जिल्लामै जनमतका हिसावले कांग्रेस बलियो भए पनि कांग्रेसभित्रको अन्तरघातले परिणाम अर्कोको पक्षमा जाने गरेको छ । राजपाको विभाजन, कांग्रेस भित्रको अन्तरघात, अन्य दल भित्रको असन्तुष्टी बिसाउने एउटा मात्र ठाउँ फोरम नेपाल बन्न पुग्यो । तर फोरम नेपाल आफ्नो सांगठनिक कामका आधारमा जित हासील गरेको बताउँछ । संगठनको ब्यवस्थित परिचालन र योजनावद्ध कामहरुले यो परिणाम प्राप्त भएको संघीय समाजवादी फोरम नेपाल पर्साको युवा नेता तवरेज अहमद बताउनुहुन्छ । उज्ज्यालोबाट


