‘कांग्रेसकै कारण आज ५० लाख युवा विदेशिन बाध्य भए’ : ईश्वर पोखेरल
एमाले । माओवादी केन्द्रबीच चुनावी तालमेल र त्यसलाई एकताकै तहमा विसर्जन गर्ने प्रक्रियाको थालनी गर्नेमध्ये एक हुनुहुन्छ । कसरी सम्भव भयो ?

माओवादीसँग तालमेल र एकताको प्रयास हठात भएको होइन, माओवादी धारको औपचारिक प्रारम्भ भएदेखि नै उसले सारेको विचार, योजना, दृष्टिकोण गतिविधिसँग हामी विलकुल सहमत थिएनौँ । तर, त्यो समस्याका रूपमा विकसित हुँदै गइरहेको थियो । त्यतिबेलैदेखि हामीले समाधानका प्रयास थालेका हौँ ।
एमालेका तत्काालिन पार्टी प्रमुख माधव नेपाललगायत कतिपय नेताहरू सिलगुढी पुग्नुभयो । पटनामा बैठक भयो । त्यतिबेलै हामीले भनेका हौँ– तपाईंहरूले समात्नुभएको बाटो ठिक भएन ।
तिनताका एकपक्षिय, बहुपक्षिय बैठकहरू भए । कोसिस जारी रह्यो । वामदेव गौतम र युवराज ज्ञवालीहरूलाई रोल्पा पठाएर सहमतिका लागि मार्ग प्रशस्त गर्ने र त्यो निष्कर्षलाई कांग्रेसम्म विस्तार गर्ने भूमिकासँगै माओवादीलाई शान्तिप्रक्रियामा अवतरित गराउनसम्मै हाम्रो पहलकदमी र प्रयत्न अग्रभागमै भयो ।
माओवादीले हिँड्दै गरेको बाटो सही छैन भन्ने निष्कर्ष हो कि, एमाले सकिन्छ भन्ने चिन्ता हो, त्यतिबेला ?
यतिबेला माओवादी केन्द्र र एमालेबीच जुन समझदारी बनेको छ । अगाडि हिँड्ने कोसिमा छौँ हामी । चुनावमा एउटै घोषणापत्र लिएर जाने र चुनावपछि एउटै पार्टी बनाउने यात्रामा निस्किइसकेकाछौँ ।
राष्ट्रिय राजनीतिक यस्तो सकारात्मक दृशामा अघि बढेको बेलामा बेलामा विगततिर दृष्टिगोचर गर्नु आवश्यक छैन । आफ्ना दृष्टिकोण भन्न जरुरी हुँदैन । यी सबै समीक्षाका लागि छोडिदिनुपर्छ । भोलि ठन्डा दिमाग र उन्नत चेतनाका साथ विचार–विमर्श गर्न समय प्रशस्त छ ।
आजको सन्दर्भमा हामी विचारमा हामी नजिक हुँदैछौँ । लोकतन्त्रको मूल्यमान्यतामा दृढ छौँ हामी । संविधान बनाउँदा सँगै भयौँ, जारी गर्दा सँगै भयौँ । कार्यान्वयन गर्ने सन्दर्भमा पनि हामी एक छौँ ।
अहिलेको बदलिएको अवस्थामा नयाँ ढंगले संगठित हुनुपर्छ । विचार मिल्ने हो भने समीप आउने र एकतावद्ध हुनुपर्छ । यही मूलभाव र बुझाइको आधारमा हामी नजिक भएका हौँ ।
हामीकहाँ हावा चल्यो भने पनि उत्तर कि दक्षिणबाट हावा चल्यो भनेर चर्चा गर्ने प्रचलन छ, कताको हावा चलेपछि खडा भएको हो यो गठबन्धन ?
यसमा दुईवटा कुरा छ । पहिलो, हामी आफैँप्रति विश्वास कमजोर छ । निर्णायक हामी नै हौँ, अरू त निमित्त मात्रै हुन् । हामी आफैँमा दह्रो भयौँ भने कतैको हावाले हामीलाई हल्लाउन सक्दैन । अर्को कुरा, इतिहासदेखि नै भूगोलमा हामी भूपरिवेष्ठित भयौँ । जिन्दगीमा भने कुनै देश–वेष्ठित हुन बाध्य भयौँ ।
एउटा देश वेष्ठित हुँदा हामी अक्टोपसको फेला परेझैँ भयो । एउटै अक्टोपसले यता पनि लुछिरहेको हुन्छ, त्यता पनि चिथोरिरहेको छ । त्यो अवस्थाबाट पार पाउनैपर्छ । दुईवटा छिमेकी छन्, उनीहरूबीच सन्तुलित र सहअस्तित्वमा आधारित सम्बन्ध कायम गर्नुपर्छ । इतिहासमा कहिल्यै पराधिन नभएको मुलुक हो यो । हामी आफ्नो हैसियतलाई बचाइ राख्न चाहन्छौँ ।
हामीले एकतावद्ध हुँदै आफ्नो थैलीको मुख आफैँ बन्द गर्नुपर्छ । अरूलाई अनावश्यक दोषारोपण गर्नु वाञ्छनीय हुँदैन ।
यो समीपता एकताकै तहमा पुग्छ कि निर्वाचन पछि अलग–अलग चुल्हाचौका बल्लान् ?
अहिले हामी निर्वाचनका लागि तालमेलको चरणमा छौँ । दुई वटा पार्टीको सांगठनिक ‘स्ट्रेन्थ’ अलगअलग छ । निर्वाचनमा कसरी तालमेल गर्ने त भनेर विचार–मन्थन हुँदा एउटा गाइडलान बनायौँ । र, ६०÷४०को अनुपात तय गर्यौँ ।
७० सालको निर्वाचनको परिणाम, ०७४ को स्थानीय तहमा दुई पार्टीले प्राप्त गरेको मतको विश्लेषणको आधारमा एमालेले ६० प्रतिशत लिने र माओवादी केन्द्रले ४० प्रतिशत राख्ने सहमति भएको हो ।
माओवादीलाई ४० प्रतिशत दिँदा एमालेभित्र असन्तुष्टि नै चुलियो नि !
एउटै पार्टीभित्र सामान्य कमिटीमा नेतृत्व चयन गर्दा त कतिको असन्तुष्टि हुन्छ । मिलाउन हम्मेहम्मे पर्छ । अलगअलग पृष्ठभूमिका ठूला पार्टीका भीमकाय संरचना, सम्पूर्ण संगठति शक्तिलाई ६०÷४०को अनुपातमा मिलाउने र टुंग्याउने कुरा चानुचुने थिएन । तर, हामीले टुंग्यायौँ । यसकारण कि यो आम जनताको चाहना हो । देशको आवश्यता हो ।
एमालेले एमालको मात्रै स्वार्थ हेरेको भए, तालमेलै सम्भव हुँदैनथ्यो । भागवण्डा त परेको कुरा । समग्र देशको आवश्यकतालाई शीरमा राखेर हिँड्दा केही साथीहरूलाई तल परेँकी भनेर पिर लाग्नु स्वभाविकै हो ।
०७४ साल र ०७० सालको निर्वाचनको तथ्याङ्कलाई अगाडि राखेर हेर्ने हो भने हामी धेरै अगाडि हो । प्रतिनिधिसभामा ८८ सिटभन्दा बढी एमालेको छ । न्यून छ माओवादी ।
एमालेभित्र योग्यतम साथीहरू हुनुहुन्छ । एकपटकमा एक व्यक्तिले मात्रै टिकट पाउँछ । सबै साथीहरूले उमेदवारको चाहना राख्नु स्वभाविकै हो । तर यी चाहनालाई व्यवस्थित गर्नैपर्छ ।
हामीले आजको आवश्यकतालाई ध्यान दियौँ । ‘ब्रोडर इन्ट्रेस्ट’ हे¥यौँ हामीले । दलको हिसाबकिताबले मात्रै हेर्ने हो भने अघि बढ्न मुस्किल हुन्छ । ठूलो आँट र हिम्मतका साथ मुलुकलाई नवीन दिशा दिन खोजेका हौँ ।
अवसर नपाएका साथीहरूले केही दिन धैर्यता गर्नुपर्छ । ढिलोचाँडो जिम्मेवारी पाइन्छ ।
अर्को, गठबन्धनले सबैलाई दवाव दिएको छ । दशतिर मुन्टो फर्काएका दलहरू एकठाउँमा आउने अवस्था सिर्जना भएको छ । मुलुकमा राजनीतिक ध्रुवीकरणको नयाँ अध्याय प्रारम्भ भयो भनौँ ।
यहाँ मनन गर्नुपर्ने कुरा के हो भने– हामीले कसैका विरुद्ध मोर्चाबन्दी गरेका छैनौँ । विचार मिल्नेबीचको एकता हो यो ।
विचार मिलेको बखत एकता र सहकार्य हुन्छ । फेरि हामी संविधानअन्तर्गत यही संविधानलाई कार्यान्वयन गर्ने पक्षमा हौँ । संविधान मान्नेहरू कहिले कुन विषयमा मिल्लान् कहिले कुन विषयमा यसलाई त्यति अस्वभाविकरूपमा लिनुहुँदैन ।
त्यसो भए डा. बाबुराम भट्टराई गठबन्धनबाट किन बाहिरिनुभयो ?
राजनीतिमा चञ्चलता हितकर हुँदैन । सोचविचार गर्नुपर्छ । राष्ट्रिय आवश्यकतामा मिसिइसकेपछि पेटी कुराको चिन्ता गरेर हुँदैन । नेताहरूले निर्णयपूर्व व्यापक छलफल र चिन्तनमनन गर्नुपर्छ । र, निर्णयपश्चात त्यसमा अडिनुपर्छ ।
कांग्रेसले त कम्युनिस्ट अधिनायकवादको खतरा देखेको छ नि ?
कांग्रेसको अनेक बर्बराहट सुनेको छु– कम्युनिस्ट अधिनायकवाद ल्याउन खोजे । कम्युनिस्ट शासनकालमा डाँको छाडेर रुनसमेत पाइँदैन ।
यो हतास मनस्थितिको उपज हो । बकवास हो यो । संविधान मान्ने विभिन्न शक्तिबीच एकता र ध्रुवीकरण सार्वभौम कुरा हो । लोकतान्त्रिक प्रक्रिया हो यो । हिजो कांग्रेसले त्यहीकुरा गर्दा जायज हुने ? त्यही संविधानभित्रका शक्ति हामी एकठाउँमा उभिँदा अधिनायकवाद हुने ?
वास्तवमा कांग्रेसको शासनमाचाहिँ अधिनायवादको खतरा देखेको छु मैले । रुन त्यसबेलाचाहिँ पाइँदैन । कांग्रेसका नेताहरूको अभिव्यक्ति सुन्नुहोला । एमाले प्रतिपक्षी शक्ति हो । एमालेलाई समाप्त पार्नुपर्छ रे ! के भन्या त्यो ? लोकतन्त्रमा प्रमुख प्रतिपक्षीलाई सत्तापक्षले निमिट्यान्न पार्नुपर्छ भन्नु अधिनायकवाद होइन ? यो कस्तो खालको अधिनायकवादी दुर्गन्ध हो ?
हिजो म सम्झन्छु, ०५१ सालको नौ महिने सरकार ताका कांग्रेसीहरू भन्थे– कम्युनिस्ट शासनसत्तामा आए भने बूढाबूढीलाई गोली ठोक्छन् । गाउँका पाका, बूढाबूढी आतंकित भए त्यतिबेला । त्यस्तै हौवा हो यो ।
एमाले उदारताका साथ प्रस्तुत भयो । तर, माओवादी केन्द्रका नेताको यसअघिका कतिपय चरित्रले पार्टी एकता नै होला भनेर आशंका गर्ने ठाउँ पनि छ नि हैन ?
मूलतः हामी वर्तमानमा उभिएर भविष्यतर्फ पाइला फट्कार्न चाहन्छौँ । वर्तमानमा उभिएर विगततिर फर्कने समय हामीलाई छैन । अतीततिर उभिएर, अतीतका अप्रिय प्रसंग उधिनेर, कोट्याएर भविष्यको दीर्घयात्रा तय गर्न सकिँदैन । सकारात्म सोच र चिन्तनका साथ यो यात्रा तय गरेका हौँ । जोखिम छन् र त, उज्यालो सम्भावना छ ।
वाम तालमेल भन्नुहुन्छ, तर झापा–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउनुहुन्छ, विरोधाभास भएन र ?
यत्रा दुई ठूला पार्टीबीच सिट बाँडफाँट गर्नुपर्ने, असहज त हुने नै भइगयो । तर पनि मेहनतपूर्वक, तलका पार्टी पंक्तिको सकारात्मक दवावको बलमा यो काम गर्न सकेका हौँ । सबै ठाउँमा को कहाँ पर्यो भनेर धार्नी, बिसौली हेर्ने कुरा पनि होइन यो । मूल उद्देश्यप्रति कटिवद्ध थियौँ हामी । लेनदेनको विषय पनि बनाएनौँ ।
जहाँसम्म झापा–३ को कुरा छ– हामी कसैविरुद्ध परिलक्षित छैनौँ । प्रतिस्पर्धाको राजनीति हाम्रो मर्म हो । वाम गठबन्धन– यो सुत्रीकरणको कुरा होइन । वृहत् सोचिएको छ । वामपन्थी, प्रगतीशील, देशभक्त, स्वाभिमानी सवैको बहुआयामिक गठबन्धन हो यो । त्यहाँको आवश्यकतालाई ध्यान दिइका हौँ । हाम्रा विरुद्ध को–को मिल्न हुने ! हामी मिल्न नहुने भन्ने होइन, हुँदैन ।
एकीकृत पार्टी बनाउने, अरूलाई पनि मूल प्रवाहमा मिसाउने तपाईंहरूको वृहत लक्ष्य छ । तर, समस्या एमालेभित्रै छ । तलका केही उमेदवारका आकांक्षीहरूले ‘हामी माधव नेपाल गुटमा भएकैले पछि पर्यौं, हाम्रो क्षेत्र माओवादीको भागमा पारियो’ भन्ने गुनासो गरेका छन् नि ?
यस्ता टिप्पणीहरूलाई मैले खासै ध्यान दिएको छैन । कुनै व्यक्ति विशेषले खुसुक्क गोजीको रुमाल साटेझैँ टिकट बाँड्ने कुरा पनि होइन यो । यो त दुवै दलका नेता सम्मिलित कार्यदल बसेर छलफल गरेर मेहनतपूर्वक काम गरेपछि दुवै पार्टीका शीर्ष तह (एकता संयोजन समिति) मार्फत टुंग्याएका हौँ । यस्ता आधारहीन कुराको कुनै तुक छैन ।
५ नम्बर निर्वाचन क्षेत्रतिर आउँ
विगतका दुई निर्वाचन (०६४ र ०७० को संविधानसभाको निर्वाचन ) तपाईंका लागि अनुकूल बनेनन् । अहिले पनि यहीँबाट उमेदवारी दिनुभएको छ । सिंहावलोकन गर्नु भएको होला नि विगतलाई ?
०६४ सालको पहिलो संविधानसभामा एउटा अवस्था थियो । त्यस निर्वाचनलाई केके कुराले प्रभावित पार्यो, सबैलाई थाहै छ । देशले नै हार्ने स्थिति थियो, म हार्नु स्वभाविकै थियो । ०७० सालको निर्वाचनमा म अत्यन्त झिनो मतान्तरले पराजित भएँ । त्यतिबेला दुईवटा शक्ति एकातिर एमाले एकातिर थियो । एमालेविरुद्ध गवठबन्धन नै थियो भनौँ ।
मैले यही क्षेत्रमा ३० वर्ष व्यतीत गरेँ । जित्दामात्रै होइन हार्दा पनि यहाँका जनतासँगै छु । जनतासँगको साइनो–सम्बन्ध जित्दा पनि हार्दा पनि उस्तै छ । विकासप्रतिको चासो र चिन्ता उस्तै छ ।
राजनीतिक दलका शीर्ष नेताहरू बस्ने । प्रधानमन्त्री निवास, राष्ट्रपति निवास, वैदेशिक कूटनीतिक नियोगहरू रहेको ठाउँ । सामरिक महत्त्वको क्षेत्र हो यो ।
तपाईंले देख्नुभएको छ– विगतमा जित्न सकिएन । अहिले त जित्नुप¥यो नि भन्दै राम्रो ठाउँ खोज्दै हिँडेकाछन् कतिपय । मैले त्यसो गरिनँ । त्यसो गर्नु यहाँ जनताप्रतिको अन्यायसमेत हो ।
यो ठाउँबाट चुनाव लडिरहँदा मैले तीनवटा कुरामा ध्यान दिनुपर्छ ।
पहिलो, राष्ट्रिय राजनीतिमा देखा परेका सकारात्मक विषयहरूलाई लिएर जनताको बीचमा जाने ।
दोस्रो, यो निर्वाचन क्षेत्रका विकास निर्माण मेरो प्राथमिकतामा पर्नुपर्छ । त्यसमा मैले हिजैदेखि तदारुकता देखाउँदै आएको हुँ ।
तेस्रो, यहाँका जनताका दैनन्दिनका समस्याहरू ।
हिजोको जस्तो क्षेत्रभित्रका कुनै ठाउँमा काम भएन भने फाइल बोकेर सांसद नै हिँड्नुपर्दैन । स्थानीय स्तरमा जनप्रतिनिधि छन्, उनीहरूको काममा सहयोग, समन्वय गरेमात्रै पुग्छ ।
अर्को तपाईंलाई भनौँ, ममाथि प्रहार र घेराबन्दी अद्यावधि छ । तर, यसलाई मैले त्यति असहजरूपमा लिएको छैन । धेरै फल लागेको वृक्षले त हो घोचो र प्रहार खप्नुपर्ने । होचोलाई कसले घोचो हान्नु ?
यो सामना म एक्लैले होइन, यहाँका मतदाता, एमालेका तमाम संगठित कार्यकर्ता गठबन्धनको महत्त्वपूर्ण खम्बा माओवादी केन्द्रसमेतको सहयोगमा गर्ने हो मैले ।
खुला राजनीतिमा आएपछि तपार्ईं अविराम यहाँका जनतासँग हुनुहुन्छ, यहाँको जनताको मनोभावनालाई कसरी बुझ्नु भएको छ ?
काठमाडौं–५ बाहिरबाट हेर्दा ठूलो सहर देखिएला । तर, बूढानीलकण्ठ, टोखा यही क्षेत्रमा पर्दछ । बाटो छैन । व्यवस्थित बसोबास छैन । खानेपानी व्यस्थित छैन । धूलो उड्छ, यावत समस्या छ ।
तर, सम्भावना पनि छ । हस्पिटलमात्रै ११ वटा छन् । मेडिकल हब हो यो भन्दा फरक पर्दैन । यही क्षेत्रबाट निस्किएको पानी आधा काठमाडौँले पिउँछ । बूढानीलकण्ठजस्तो धार्मिक, सांस्कृतिक स्थल छ । त्यसको व्यवस्थित विकास हुन सकेको छैन । अस्पताल छन् तर त्यसको लाभ यहाँका जनताले पाउन सकेका छैनन् । स्वास्थ्यबीमा मार्फत सिंगै यसक्षेत्रका जनतालाई स्वास्थ्यसेवा उपलव्ध गराउन सकिन्छ ।
क्षेत्र नम्बर ५ का जनताका सामाजिक सुरक्षालगायत आवश्यक ठाउँमा कसैको ध्यान पुगेको छैन ।
एकातिर सुकुम्बासी समस्या छ, तिनको व्यवस्थापन गर्नु छ । अर्कोतिर सार्वजनिक सम्पत्तिलाई अतिक्रमणको चपेटाबाट जोगाउनु पनि पर्नेछ ।
०५६ सालमा सांसद निर्वाचित भएको बखत मैले ‘वाटर हार्भेस्टिङ’को योजना अघि सारेको थिएँ । संसद्बाट पारितै गरेको थिएँ । तर, कार्यान्वयन गर्ने बेलामा मुलुकको परिस्थिति अर्कै बन्यो ।
यसपटक मेरो मूल मुद्दा यही हुनेछ । वाटर हार्भेस्टिङ सफल रूपमा कार्यान्वयन भयो भने यहाँका जनताले ठूलो लाभ पाउँछन् । महत्त्पूर्ण शैक्षिक केन्द्रसमेत हो यस क्षेत्र । थुप्रै निजी शैक्षिक संस्थाहरू छन् ।
तर, यहाँका जनताले त्यसबाट फाइदा लिन सकेका छैनन् । विपन्न, जेहेन्दार, दलित, अल्पसंख्यक, महिलाआदिलाई सहुलियतमा पढाउन सकियो भने यहाँको शैक्षिक स्तर ह्वात्तै माथि उठाउन सकिन्छ ।
सामाखुसी– टोखा हुँदै केरुङ जाने राजमार्ग यही क्षेत्रमा पर्दछ । बाटो छिटोभन्दा छिटो बनाउनुपर्छ । यसो भनिरहँदा बाटो बिस्तार गर्दा केही बासिन्दाको घरजग्गा बाटोमा पर्छ । अधिकरणमा परेका घरजग्गाधनीलाई उचित क्षतिपूर्ति, मुआब्जा दिनुपर्छ । यदि राज्यले त्यसमा आनाकानी गर्यो भने त्यसको सशक्त विरोध गर्नुपर्छ ।
जितको भरपर्दो आधार के हो ?
माथि नै भनिसकेँ, तीन दशक भन्दा लामो समयदेखि जनताको बीचमा छु म । मेरा सवल र दुर्वल दुवै पक्ष यहाँका जनता परिचित छन् ।
दोस्रो, संगठनको शक्ति, वाम गठबन्धन मात्र होइन देशभक्त, प्रगतिशील सबै मेरो पक्षमा हुनुहुन्छ । उहाँहरूकै शक्तिको आडमा चुनाव जित्नेमा विश्वस्त छु ।
एमालेलाई नै मत किन ?
हामी लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिर्यौँ । आक्रान्त नै भयौँ । नेपाल गरिब हुनै नपर्ने, गरिब हुनै नसुहाउने देश । दुर्भाग्यवस हामी गरिब हुन अभिशप्त छौँ । यसको प्रमुख कारण राजनीतिक अस्थिरता हो । अस्थिर राजनीतिले भ्रष्टाचार, अनियमिततालाई प्रश्रय दियो । गतिहीन र परालम्वी बनायो । सरकार बनाउन र गिराउन नै राजनीतिक दलको बढी ऊर्जा खपत भयो । यसको अन्त्य कै लागि हामीले एमालेको नेतृत्वमा वामपन्थी गठबन्धनको सरकार भनेका हौँ ।
कांग्रेसले बहुमत ल्याए हुन्थ्यो नि भन्ने पनि प्रश्न उठ्ला । सैद्धान्तिक ढंगले भन्ने हो भने ठिकै कुरा हो । तर, इतिहासले पटकपटक प्रमाणित गरेको छ– दुई तिहाइ बहुमत ल्याए पनि कांग्रेसले योग्यतापूर्वक काम गर्न सकेन ।
विसं. २०१५ सालमा कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । तर, १८ महिना पनि टिकेन । भन्लान्– राजा महेन्द्रले कु गरे । राजाले कु गर्दा जनताको समर्थनमा दुई तिहाइ ल्याएको कांग्रेसको पक्षमा किन जनता उर्लिएनन् ? किन विद्रोह भएन । र, ३५ वर्ष पर्खनुपर्यो ।
कांग्रेसकै अयोग्यताले भएको हो त्यो । इतिहासको विर्सनै नसक्ने कटु प्रसंग हो यो ।
०४८ सालमा गिरिजा बाबु हुनुहुन्थ्यो । त्यतिबेला पनि ल्याएको हो बहुमत । तर, तीन वर्ष पनि टिकेन । संसदीय इतिहासमा अत्यत्न फोहोरी खेलको प्रादुर्भाव भयो । कांग्रेसको खुट्टामा कसैले बन्चरो हानेको होइन, आफ्नो सत्ता आफैँले ढाल्यो ।
०५६ मा पनि ल्याएको हो बहुमत । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजालाई लगेर बुझाउनुभयो त्यो बहुमत । त्यसछि के भयो तपाईं–हामीलाई थाहै छ ।
इतिहासका सारा प्रसंग कसरी बिर्सने ?
अर्को, कांग्रेसले आफू शासन सत्तामा बस्दा के गर्यो ? आज पचास लाख युवा मुलुक बाहिर छन् । विराटनगर जुट मिलदेखि बाँसबारी छाला जुत्ता कारखानासम्म कसले समाप्त पार्यो ? कौडीका भाउमा कसले बेच्यो ? जनकपुर चुरोट कारखानाले त कुनै समय सबैभन्दा बढी कर बुझाउँथ्यो । अन्तिममा समाप्त पारियो ।
कांग्रेसले बोकेको आर्थिक उदारिकरण र निजीकरणको परिणती होइन ?
नेपाल वायुसेवा निगम र थाइ एअरलाइन्स सँगै सुरु भएको हो । आज थाइ एअरलाइन्स कहाँ छ, नेपाल वायुसेवा निगम कहाँ पुग्यो ? जनताले यी सबैको निर्मम समीक्षा गर्नुपर्छ । हामी पनि जनताको बीचमै छौँ । हाम्रा अयोग्यता पनि जाँचियून्, अरूका अयोग्यता पनि जाँचिनूपर्छ ।
– अक्षर काकाले एमाले महासचिव ईश्वर पोखरेलसँगको कुराकानी बाह्रखरीबाट लिइएको


