रायो सागको मूल्यमा गिरावट हुँदा धनकुटाका किसानहरु मारमा

धनकुटा खबर, चैत ८ । यो समय पहाडी भेगमा रायो साग को सिजन सकिने वेला, सयौ किसानहरु प्रायः विहानको समयमा सागको भारी वोकी घण्टौ लाएर वजार सम्म साग ल्याईपुर्याउने गरेकाछन् । तर यो वर्ष रायो साग को मूल्यमा आएको गिरावटले किसानहरुलाई चिन्तित वनाएको छ । एक तर्फ सागको मूल्यमा आएको गिरावट र अर्को तर्फ सिजन सकिने वेला भएकोले किसानहरुलाई सस्तो मै साग विक्रिको चाप परेको छ ।

धनकुटा जिल्लाको लेकाली भेगमा उत्पादन हुने रायो सागको मूल्य गत वर्षहरुको तुलनामा यो बर्ष आधा भन्दा वढी नै घटेको किसानहरुको भनाई छ । उनीहरुका अनुसार अघिल्ला वर्षहरुमा १५ देखी २२ रुपयाँ प्रति मुठा साग विक्रि गरेका उनीहरुले यो वर्ष भने ७ देखी ९ रुपयाँ प्रतिमुठामा मात्र विक्रि गर्न वाध्यभए । यसरी सागको मूल्यमा गिरावट आएपछि आफुहरुलाई तुलनात्मक हिसावले निक्कै घाटा भएको जिल्लाको पाख्रीवास नगरपालिका सान्ने ओख्रेका कमल वहादुर आले मगरले गुनासो गर्नुभयो ।

करिव ४ रोपनी जग्गामा साग खेती गर्दै आउनुभएका मगरले भाउ चलेको समयमा सागवाट ४० देखी ४५ हजार सम्मको आम्दानी गर्नुहुन्थ्यो । तर अहिले भने सागको मूल्य घटेको कारण उत्ती नै क्षेत्रफलमा गरेको साग खेतीवाट आफुले १२ हजार मात्र आम्दानी लिएको वताउनुभयो ।

त्यस्तै सोही स्थानकी सोम माया मगरले पनि यो वर्ष १० हजार वरावरको मात्र साग विक्रि गर्न पाउनुभयो । “अघिल्ला वर्ष सागवाटै ४५ हजार वरावरको आम्दानी गरेका थियौ यो वर्ष सागको मूल्यमा आधा भन्दा धेरै गिरावट आयो र त्यती मात्र आम्दानी लिन पाईयो – सोममायाले भन्नुभयो ।” यता सुन्तले सान्नेकी विमला तामाङ्गले पनि उस्तै गुनासो पोख्नुभयो ।

यो क्षेत्रमा किसानहरुले घरायसी गोवर मल मात्र प्रयोग गरी साग उत्पादन गर्ने गरेको र वजार सम्म ल्याई पुर्याउन पनि घण्टौ समय लाग्ने गरेको वताउदै उहाँले यसरी मूल्य घट्दा किसानलाई समस्या हुने उहाँको भनाई छ । तर मूल्यमा गिरावट किन आयो त ? भन्ने वारेमा भने आफुहरुलाई थाह नभएको किसानहरुले वताएकाछन् ।

यता स्थानीय व्यापारीहरुले भने तराई क्षेत्रवाट यो वर्ष सागको माग कम आएको कारण मूल्यमा पनि गिरावट आएको वताउदै आएकाछन् । पहाडी क्षेत्रमा उत्पादित रायो साग खादा स्वाष्टि र स्वास्थ्यको हिसावल समेत लाभदायक मान्ने गरिएको छ ।

जिल्लामा बार्षिक कुल तिन सय ५ हेक्टर क्षेत्रफलमा साग साग खेती लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । यहाँ उत्पादित साग पुर्वका धरान, ईटहरी, बिराटनगर लगायतका वजार सम्म पुग्ने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।