रुखलाई सीमास्तम्भ मान्न तयार भएनन् नेपाली, सीमास्तम्भ बर्षौ देखि गायब

सहिद गोविन्दकी आमा भन्छिन,- छोराको सालिक बनेपछि म त्यै हेरेर बाँकी जीवन बिताउने छु

कञ्चनपुर, चैत १५ । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला ।

तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।

कञ्चनपुरको पुर्नबास नगरपालिका–८ आनन्द बजार क्षेत्रमा रहेको डुम्रीको रुख । सो क्षेत्रमा रहेको नेपाल–भारत सीमा छु्ट्याउने २०० नम्बर सीमास्तम्भ लामो समयदेखि हराएकोले भारतीय पक्षले उक्त रुखलाई सीमास्तम्भ दाबी गरिरहेका छन । तर आनन्दबजारवासीका अनुसार डम्रीको रुख भन्दा करिब तीन सय मिटर परसम्म नेपाल भूमि पर्छ । तस्बिरः शेरबहादुर सिंह, कञ्चनपुर, रासस

पुनर्वास नगरपालिका– ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुङ्ग्रीको रुख भन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्र्भट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद भए ।

घटनापछि सिङ्गो देश केही दिन तरङ्गित बन्यो । आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए । भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश–विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन् ।

उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् ।

घटनापछि स्थलगत समाचार सङ्कलनका लागि त्यहाँ पुग्दा रासस प्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का कमाण्डेन्ट दिलवाग सिंहले स्थलगत रुपमै डुङ्ग्रीको रुख देखाउँदै भने-“२०० नम्बर पिलर हराएकाले हामी यही रुखलाई सीमास्तभ मान्छौं ।”

तर दशकौँदेखि आनन्द बजारक्षेत्रमा बस्दै आएका स्थानीयवासी भने भारतीय पक्षको उक्त दाबी गलत रहेको दलीलसहित नेपाली भू-भाग अतिक्रमणको दाउ मात्रै भएको बताउँछन् ।

“काँङ्ग्री खोलामा निर्माण गरिएको कल्र्भट छेउमै रहेको डुङ्ग्रीको रुख भन्दा झन्डै तीन सय मिटर परसम्म नेपाली भू-भाग पर्छ,” सहिद गोविन्द गौतमका बुबा खेमलाल गौतमले रासससँग भने-“सीमास्तम्भ गायब पार्ने अनि हराएको बहाना बनाई अतिक्रमण गर्ने तरिका हो ।”

त्यसैगरी, स्थानीय छविलाल पौडेलले पनि उक्त रुख भन्दा परैसम्म नेपालको भू–भाग रहेको भन्दै भारतले अतिक्रमण गर्दै नेपालतर्फ सर्दै गरेको बताउँछन् ।

“भारतीय त पिलर नभएकै कारण कल्र्भटभन्दा वरै (हाल सशस्त्र प्रहरीको अस्थायी वेस क्याम्प बसेको घर) सम्मै दशगजा दाबी गर्छन्,” पौडेलले भने-“जब कि डुङ्ग्रीको रुख भन्दा परसम्म नेपाली पुर्जा भएको जमिन छ ।”

नेपाली लालपुर्जा भए पनि भारतीय पक्षले करिब एक दशकदेखि उक्त दुई बिगाह खेत स्थानीयवासीलाई कमाउन दिएका छैनन् ।

“जग्गाधनी स्थानीय करनबहादुर सुनारलाई भारतीय एसएसबीले जग्गा समेत भोगचलन गर्न रोक लगाएको छ, आफ्नै जग्गा भोगचलन गर्न नपाएको एक दशकभन्दा बढी भइसक्यो,” करनका श्रीमती तुलसादेवी सुनारले भनिन्- “खेतमा गयो कि एसएसबी लखेट्न आइहाल्छन् ।”

“कलिलो उमेरमै आनन्द बजारको उर्वरभूमिमा जन्मिएको मेरो छोरोले हाम्रै माटोका लागि प्राण आहुति दिएको छ,” सहिद गौतमका बुबा खेमलालले भने-“अब कसैका दाजुभाइले यसरी मर्नु नपरोस् ।”

सिमानामा भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध लामो समयदेखि लड्दै आएका यहाँका स्थानीयवासीलाई सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ ।

सीमामा माटो बचाउनकै लागि लामो समयदेखि यहाँका स्थानीयवासी भारतीय पक्षको थिचोमिचो र वादविवाद सहदै आएका छन् । उनले भने-“भारतीयले नेपाली भूमिमा रहेको रुखलाई सिमाना मान्दासम्म कसैले पनि चासो देखाएनन् ।”

त्यसैगरी, बेलौरीका पर्सबहादुर खड्काले २०० नम्बर सीमास्तम्भ भारतीय पक्षबाटै वर्षौं पहिले गायब पारिएको दाबी गर्छन् ।

विसं २०३८/३९ भन्दा पहिल्यै २०० नम्बर सीमास्तम्भ यहाँ थिएन । उनले भने-“प्यारातालदेखि फटैयाँ गाउँसम्म भारतको अतिक्रमण निरन्तर छ ।”

सो क्षेत्रमा २०४६ सालमा पनि भारतीय पक्षले नेपाली भूमिमा आएर दाबी गरेको स्मरण गर्दै उनले त्यो बेला पनि स्थानीयवासीले लखेटेको बताए ।

“संयुक्त सर्वेक्षण टोली आएर भारतीय भूमिमै बसेर नापजाँच धेरै पटक गरे,” उनले भने-“संयुक्त टोलीमा रहेका नेपाली प्रविधिज्ञले हामीसित समन्वय नै गरेनन् ।”

आनन्द बजारक्षेत्रका सीमावासीले भने कल्र्भट निर्माणस्थल भन्दा वर दशगजामै भारतीय सुरक्षाकर्मी बस्दै आएका बताएका छन् ।

“त्यो हरियो डुङ्ग्रीको रुख ढलेपछि केलाई सिमाना मान्ने ?,” आनन्द बजारका व्यापारी नौला शाहीले भने-“यहाँ थिचोमिचो पहिलेदेखि नै थियो । अहिले आएर गोलीको प्रहारसमेत सहनु प¥यो ।”

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले लामो समयदेखि आनन्द बजार क्षेत्रको २०० नम्बर सीमास्तम्भ हराइरहेको बताए ।

भारतीय पक्षले सीमास्तम्भ हराएको अवस्थामा रुखलाई आधार मान्नु आधिकारिक नभएको उनको भनाइ छ ।

“दुवै देशको संयुक्त सर्वेक्षण टोलीले नभन्दासम्म आधिकारिक मान्ने कुरो भएन”-उनले भने ।

कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमाना छुट्याउने ३९० सीमास्तम्भ धेरै नदी खोलाले बगाएका छन् भने कतिपय सीमास्तम्भ मर्मतसम्भार हुन सकेका छैनन् ।

त्यसैगरी, केही दिनअघि सहिद परिवारलाई सरकारी राहत रकम दिन पुनर्वास पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०० नम्बर सीमास्तम्भ करिब एकसय वर्षभन्दा पहिलेदेखि हराइरहेकाले संयुक्त टोलीको सर्वेक्षण पछि सीमा विवाद हल हुने विश्वास व्यक्त गरे ।

उता सहिद गोविन्दकी आमा हरिदेवी गौतम सहिद भएको छोराको सालिक घटनास्थलमै बनाउनुपर्ने माग गरिरहेकी छन्।

“पहिले आनन्द बजार क्षेत्रको सीमाङ्कनको टुङ्गो सरकारले लगाइदिनुपर्‍यो,” उनले भनिन्-“त्यहाँ छोराको सालिक बनेपछि म त्यै हेरेर बाँकी जीवन बिताउने छु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।