हिलेमा उपभोक्ता हित संरक्षण सम्वन्धि सचेतना मूलक एक दिवसीय गोष्ठी सम्पन्न
'यी कुराको जानकारी भए उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ताहरु ठगीनवाट बचिने'
धनकुटा खबर, चैत १६ । उपभोग्य वस्तु खरिद गर्दा स्वयम् उपभोक्ता विषेश सचेत हुन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । जिल्ला प्रशासन कार्यलय धनकुटाको आयोजनामा आज हिलेमा सम्पन्न उपभोक्ता हित संरक्षण सम्वन्धि सचेतना मूलक एक दिवसीय गोष्ठिका वक्ताहरुले यस्तो वताएका हुन् ।

गोष्ठिलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी तथा गोष्ठिका सभाध्यक्ष प्रेम प्रकाश उप्रेतीले उपभोक्ताहरुले उपभोग्य वस्तु खरिद गर्दा सम्वन्धित वस्तुको मूल्य, गुणस्तर तथा ती वस्तु उपयोगका लागि तोकिएको निश्चित मिति, उत्पादन गर्ने उद्योगको नाम लगायतको बारेमा विशेष जानकारी राखे उपभोक्ताहरु ठगीनवाट वच्ने वताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले अन्तराष्ट्रिय स्तरमा १९ औ शताव्दिमा युरोपवाट उपभोक्ता हितको वारेमा उपभोक्तावादी नागरिकले आवाज उठाएको जानकारी दिनुभयो । त्यसपछि १९६० मा अन्तराष्टिय उपभोक्ता संघ स्थापना भएको वताउदै उहाँले नेपालको हकमा भने वि सं २०५४ वाट यो नीति स्थापीत वताउनुभयो ।
यसपछि नेपालले वि सं २०५६ मा उपभोक्ता हित सम्वन्धि नियमावली जारी गरेको जानकारी दिदै कुनै पनि उपभोग्य वस्तुको उत्पादकको नाम ठेगाना नराखेको पाईएमा २ वर्ष कैद र ३० हजार जरीवाना वा दुवै सजाय हुने वताउनुभयो । उहाँले उपभोग्य वस्तुको आपूर्तिलाई व्यवस्थित तथा नियन्त्रण गर्ने नेपाल सरकारको अधिकार, नेपालमा उपभोक्ता हित सम्वन्धि जारी नियमावली,वजार संरक्षण ऐन २०६३ लगायतको वारेमा सहकागीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष दिनेश श्रेष्ठ, त्रिभूवन विश्व विद्यालयका प्राध्यापक ववला वस्नेत,हिले माद्यमिक विद्यालयका प्रधानाध्यापक रमेश घिमिरे लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा हिले माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी,शिक्षक सहित सरोकारवालाहरुको उपस्थिती थियो ।


