नाकाबन्दीको स्मरण गर्दै ओलीले भने, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”

नेपालको विकासमा अवरोध नगर्न भारतलाई ओलीको आग्रह

काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भन्नुभयो, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”

उहाँले नेपालमा कुनै सडक वा नयाँ विकासका आयोजना सञ्चालन गर्न लाग्दा छिमेकी भारतले सुरक्षा र अन्य कारणले अवरोधको प्रयास गर्ने गरेको गुनासो पनि गर्नुभयो । ओलीले भारतसँग नेपालको अर्थतन्त्र निर्भर हुनुपरेको र चीनसँगको बाटो खोल्न लाग्दा पनि भारत रिसाउने स्थितिलाई तोडेर पारस्परिक लाभको सम्बन्ध विस्तार गर्न आफूहरुले चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रा मनमा कुनै वैरभाव छैन, दुष्मनी छैन, अन्याय नसहने र न्यायको पक्ष लिनेबाहेक अरु ध्येय छैन । हामी देश, देशका जनता र मानव जातिको सुख र शान्ति चाहन्छौँ, यसो भन्दा खोक्रो राष्ट्रवादको आरोप लगाइन्छ भने केही भन्नु छैन ।”

कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि स्रष्टाले जनता जगाउने हिसावले सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले भण्डारीका साहित्यिक र चिन्तनप्रधान योगदानलाई संरक्षण र जनपक्षीय साहित्यको उत्थानका लागि देशव्यापी कार्यक्रम गरिने जानकारी दिनुभयो ।

रङ्गकर्मी फुयाँललाई पुरस्कार

कार्यक्रममा अध्यक्ष ओलीले रु २५ हजार राशिको सो प्रतिष्ठानको वार्षिक पुरस्कार वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयाँललाई मरणोपरान्त प्रदान गर्नुभयो । गत पुस १९ गते राष्ट्रिय नाचघरमा नाटक “याज्ञवल्क्य” मा अभियन गर्दागर्दै फुयाँल बेहोस भई उहाँको निधन भएको थियो । उहाँका छोरा कमल फुयाँलले सो पुरस्कार ग्रहण गर्नुभयो ।

राष्ट्रियतासम्बन्धी कविता वाचन

कार्यक्रममा करिब दुई दर्जन कविले राष्ट्रियता र समसामयिक कविता वाचन गरेका थिए । वाचन गर्नेमा डा देवी नेपाल, डा अमर गिरी, जय गौडेल, श्रेयसी चेम्जोङ, रुपक अलङ्कार, जयन्ता पोखरेल, टङ्क आचार्य, अनिल पौडेल, यशोदा अधिकारी, टीका चाम्लिङ, रमेश पोखरेल, रमेश श्रेष्ठ, प्रतिक ढकाल, फूलमान वल, शशि लुमुम्बुलगायत हुनुहुन्थ्यो ।

सो प्रतिष्ठान मदन भण्डारी फाउन्डेसनअन्तर्गत विसं २०६७ मा स्थापित भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।