बाढीपीडितका लागि रौतहटको मुस्लिम समुदायले जुटायो एक लाख ३८ हजार सहयोग
रौतहट, २६ भदौ । रसुवा, भोटेकोशी र नुवाकोटका बाढीपीडितको सहयोगका लागि रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित मुस्लिम समुदायले एक लाख ३८ हजार १२० रुपैयाँ सहयोग रकम संकलन गरेको छ।
नेपाली मुस्लिम समाज रौतहट तथा सन्तपुर (दो) मुस्लिम समुदायको समन्वयमा संकलित उक्त रकम सन्तपुर मुस्लिम टोलस्थित मस्जिद ए अबुबकर मस्जिदबाट संकलन गरिएको हो।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचरसहित सम्बन्धित निकायमा पेस गरिएको समाजसेवी तथा शिक्षक आलम अन्सारीले जानकारी दिए।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिन समुदायका विभिन्न व्यक्तिहरूको सहयोगमा रकम संकलन गरिएको उनले बताए। विपद्को समयमा जात, धर्म र समुदायभन्दा माथि उठेर पीडितलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको मुस्लिम समुदायले जनाएको छ।
बाढीपीडितका लागि रौतहटको मुस्लिम समुदायले गरेको सहयोगलाई स्थानीयस्तरमा मानवीय सदभाव र सामाजिक एकताको उदाहरणका रूपमा समेत लिइएको छ।

