पूर्व–पश्चिम चुरे क्षेत्रमा फैलिएको धनकुटाको डाँडाबजारमा फस्टाउँदै होमस्टे
डाँडाबजारको आदर्श बस्तीको होमस्टेमा पाहुनहरुलाई खाना खुवाउँदै
धनकुटा खबर, चैत २३ । पूर्व–पश्चिम चुरे क्षेत्रमा फैलिएको धनकुटाको डाँडाबजार गाबिसमा रहेको ध्वजे डाँडा दशकौ देखि सूर्योदयको गाउँ भनेर चिनिन्छ ।
यस क्षेत्रको चुरे पहाडी श्रखलाहरुमा भ्रमण गरेर हिमाल,पहाड र तराई हेर्न आउने पर्यटकहरुलाई लक्षति गरेर निर्माण गरिएको पर्यटन गन्तव्यहरु भेडेटार,नाम्जे,आख्रे,डाँडाबजार र राजारानी मध्ये यो स्थान पनि एक प्रमुख गन्तव्य हो ।
उक्त क्षेत्र भएर बार्षिक ९ लाख भन्दा बढी आन्तरीक तथा बाह्य पर्यटकहरुले भ्रमण गर्ने सो क्षेत्रको समग्र पर्यटन गतिबिधि हेर्ने चौबिसे पर्यटन बिकास समिति र होटल एशोसियसन भेडेटारको तथ्यांक छ ।
ती दुई संस्थाको तथ्यांक अनुसार पहिलो गन्तब्य भेडेटारमा आउने ९ लाख भन्दा बढी पर्यटकहरु मध्ये सो क्षेत्र भएर करिव तीन लाख राजारानी गाबिसको रानीताल हेर्न पुग्छन् ।
तर सोही गन्तव्यमा रहेको सूर्य उदाएको र अस्ताएको दृष्य हेर्न सकिने उक्त गाउँमा भने अनेकौ कोशिस उपाय लगाउँदा पनि पर्यटकहरु आकर्षित हुन नसकेपछि गाँडाबजार पर्यटन बिकास समितिले होमस्टे बासको कार्यक्रमलाई ब्यापकता दिएको छ ।
उक्त स्थानमा भएको करिव १ दर्जन साना होटलहरुले खान बस्नको सेवा दिन नसक्दा पर्यटकहरु आकर्षित हुन नसकेको निष्कर्ष सहित याखा जातिको ३५ घरमा होम स्टे सन्चालनमा ल्याएको समितिका अध्यक्ष त्रिलोचन घिमिरेले जानकारी दिए ।
‘बस्ने र खाने सुबिधा नहुंदा सूर्योदयको दृष्य हेर्न ओउनेहरु यहाँ नआएको अध्ययनबाट थाहा भयो’, उनले भने‘ठूला लगानी गरेर सुबिधा सम्पन्न होटलहरु सन्चालनमा ल्याउने अबस्था नभएपछि होमस्टेको अबधारण अगाडि सारिएको हो ।’
३ बर्ष अघिसम्म दैनिक १५ देखि २० जना सम्म मात्र पर्यटकहरु आएपनि गत बर्ष देखि होम स्टे सन्चालनमा ल्याएसैगै अहिले दैनिक १ सय सम्म पर्यटकहरु बास बसेर सूर्योदयको दृष्य हेरेर जाने गरेको घिमिरेले जानकारी दिए ।
डाँडाबजार १ आदर्श बस्तीमा सन्चालित उक्त होमस्टेमा याखा जातिका परिकारको साथमा सिस्नु, लोकल कुखुराको परिकार र बासको सुबिधा उपलब्ध गराईने समितिका संयोजक भवानी घिमिरेले जानकारी दिए ।
उक्त होमस्टेमा प्रति व्यक्ति सादा खान र बासको २ सय लिएर एक पटकमा १ सय ५० पाहुनाहरुलाई सेवा दिन सकिने उनले जानकारी दिए ।
करिव ४० मिनेट पैदल हिडेर ध्वजे डाँडाको टाकुरामा पुगेपछि उक्त स्तानबाट सूर्योदय संगै पूर्वका १६ जिल्लाका बिभिन्न मनोरम दृष्यहरु र मकालु,कुमभकर्ण र कंचनजंघा हिमालको अवलोकन गर्न सकिन भिमिरेले जानकारी दिए ।
समुद्री सतहबाट २ हजार ४७ मिटर उचाईमा रहेको ध्वजे डाँडा संगै सोहि गाबिसको लाप्चेटारमा रहेको एशियाकै ठूलो भनेर दाबी गरिएको १३ रोपनीमा फैलिएको अजङ्गको बरको रुख समेत पर्यटकहरुले अवलोकन गर्न सक्नेछन् ।



