ब्यापारीक राजमार्ग निर्माणले गति लिएन : ईटहरी–धरान अझैं टेन्डर भएन, रानी-ईटहरी पनि ३५ प्रतिशत मात्र प्रगति
धनकुटा खबर / ईटहरी। अधुरो सरकारी नीति र लापारवाही कार्यशैलीका कारण भारतको जोगवनी संग जोडिएको पूर्वको ब्यापारीक नाका बिराटनगरको रानी भन्सार देखि धरान बजार सम्मको ब्यपारीक राजमार्ग निर्माणमा ढिलासुस्ती देखिएको छ ।
आयोजना सम्पन्न गर्ने चरणमा सरकारले आयोजना ठेक्काको लागि एकमुष्ट टेन्डर आब्हान नगर्ने,स्वीकत ठेक्काको रकम निकासा नगर्ने र कतिपय सडक सिमामा पर्ने नीजि जमिनको लागत कट्टा नै नगरी टेन्डर आब्हान गरेकाले आयोजना प्रभावित बनेको हो ।

कुल १० अर्व ९८ करोड लागतमा मोरङ्गको रानी देखि सुनसरीको धरान सम्मको ४९ किलोमिटर बाटोलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार ६ लेनको बनाउन २०७६ साल सम्ममा काम सम्पन्न गर्नेगरी २०७० असारमा आयोजना शुरु गरिएको थियो ।
उक्त आयोजना सम्पन्न गर्न स्थापना भएको बिराटनगर रानी,ईटहरी,धरान ब्यपारीक राजमार्ग आयोजना कार्यालय ईटहरीका अनुसार अहिले सम्ममा सम्पूर्ण आयोजनाको ८० प्रतिशत काम पुरा हुनुपर्ने हो ।
तर आयोजना शुरु भएको ४ बर्ष बित्ने बेला सम्ममा पनि उक्त आयोजनाको ईटहरी देखि धरान सम्मको २१ किलोमिटर राजमार्ग निर्माणका लागि अहिले सम्म टेन्डर आब्हान गरिएको छैन ।
उता रानी देखि ईटहरी सम्मको पहिलो खण्डा अन्तर्गतको २८ किमि बाटोमा पनि ३५ प्रतिशत मात्र काम सम्पन्न भएको ब्यापारीक मार्ग बिस्तार आयोजनाको ईटहरी कार्यालयले जानकारी दिएको छ ।
५ अर्व ४ करोडमा बिभिन्न जेभी कम्पनीले ११ प्याकेजमा शुरु गरेको काम मध्ये निर्माणाधिन रानी देखि ईटहरी सडक खण्डको दुई स्थानमा स्थानियबासीको अबरोधका कारण काम शुरु हुन सकेको छैन भने अन्य ९ स्थानमा १३ देखि ८५ प्रतिशत काम सकिएको छ ।
सम्पूर्ण प्याकेजको एकमुष्ट टेन्डर आब्हान नगर्ने,आयोजना स्थलमा जमिन बिवाद लगाएत बिभिद समस्या देखिएर कतिपय प्याकेजमा काम नै शुरु हुन नसकेकोले समग्रमा ३५ प्रतिशत भन्दा बढी प्रगती हुननसकेको ईन्जिनियर सुमोद पोखरेलले जानकारी दिए ।
सूचना अधिकारी समेत रहेका पोखरेलले उपलब्ध गराएको जानकारी अनुसार अहिले कन्चनबारी क्षेत्रको ३ दशमलव ३ किमि बाटो २३ करोड २५ लाख २१ हजार २ सय ४६ रुपैंयाको लागतमा कन्चनजंघा,पिएस,गितान्जली जेभीले र ढोकुचु,कान्छाराम,हिम्दुङ्ग जेभीले २१ करोड ९८ लाख ४६ हजार १ सय ९४ रुपैंयाको लागतमा बिराटनगर दुधफाराम क्षेत्रको १ दशमलव ५ किमि बाटो कालोपत्रे भईरहेको छ ।
प्रारम्भिक चरणमा ०७० असारबाट टेन्डर खुलाएर आयोजना शुरु गरिएको यी दुई प्याकेजमा ८० प्रतिशत भन्दा बढी कामको प्रगति भएको छ ।
त्यस्तै ०७१ माघबाट आईपिएल पप्पु जेभीले बरगाछी क्षेत्रमा र कालिका,कान्छाराम जेभीले १२ करोड ५२ लाख ३८ हजार २ सय ५० को लागतमा शुरु गरेको ३ किमि सडकको ढल निर्माणको काममा ७५ प्रतिशत प्रगति गरेको छ ।
आशिष,एपेक्स,सोशन जेभीले रानी भन्सार क्षेत्र र कालिका,कान्छाराम जेभीले रोडसेस क्षेत्रमा क्रमश ५९ करोड ९७ लाख ५१ हजार ९ सय ८३ रुपैंया र ६१ करोड ४२ लाख ८३ हजार ९ सय १६ रुपैंयाको लागतमा ०७२ असार देखि शुरु गरेको गरेको ३–३ किमि बाटोमा दुबैले ४५ प्रतिशत काम पुरा गरेको छ ।
त्यस्तै शर्मा,कान्छाराम जेभीले ३४ करोड ९३ लाख ६५ हजार १ सय ६२ रुपैंयाका लागतमा ०७१ माघबाट शुरु गरेको गंगाचौंक क्षेत्रको ३ किमि बाटोमा ३० प्रतिशत मात्र कामको प्रगती भएको छ ।
०७३ भदौमा अन्तिम टेन्डरबाट १ अर्व ६९ करोड २६ लाख ९० हजार ७ सय ८८ रुपैंयाका लागतमा काम शुरु गरेको टुण्डी,रमन जेभीले दुहवी देखि ईटहरी सम्मको ३ प्याकेजको ९ किमि बाटोमा १३ प्रतिशत काम सकेको छ ।
सोहि समयमा ५२ करोड ७० लाख ७० हजार ३ सय ६५ रुपैंया लागतमा उक्त जेभीले बरगाछी देखि रोडसेस चौक र हात्तिमुढा देखि दुहवी सम्मको २ प्याकेज ठेक्का गारेपनि स्थानियबासीको अबरोधका कारण उक्त सडक खण्डको ३ किमि बाटोमा काम हुन सकेको छैन ।
उक्त सडक सिमामा रहेको सर्वसाधारणको नाममा रहेको जमिन सकड ऐन २०३४ अनुसार मालपोत कार्यालयले लागतकट्टा गरेर सरकारले मुआब्जा नपाएका कारण जनताले अवरोध गरेपछि काम हुन नसकेको कार्यालयका प्रमुख दिपक भट्टराईले जानकारी दिए ।
एकमुष्ट नभएर ५ चरणमा मात्र टेन्डर हुनु,निर्माण स्थलमा भएका अब्यबस्थित टेलिफोन,बिद्युत र खानेपानीका पाईप लाईन र आयोजनाका अनुसारको सरकारले निकासा नगर्दा थप काम प्रभावित भएको उनले बताए ।
चालु आवमा सरकारले दिएको ३९ करोड ९९ लाख ११ हजार ले नपुगेर ७५ करोड रकम भुक्तानी बाँकी भएपछि २ महिना भन्दा बढी काम नै रोकिएको भट्टराईले बताए ।
उनले भने,‘असार मसान्त सम्मको लागि थप १ अर्व १० करोड सरकारले नदिए काम गर्नसक्ने अबस्था छैन ।’
ईटहरी देखि धरान सम्मको दोस्रो आयोजनाका लागि टेन्डर प्रकृया चलिरहे पनि अहिलेकै तरीकाले आयोजना सम्पन्न भए आयोजना पुरा हुन ५ बर्ष भन्दा बढी समय लाग्ने र बढ्दो महंगी संगै आयोजनाको लागत समेत बढेर जाने आयोजनाको कार्यालयले जानकारी दिएको छ ।


