खोला-बगरमा साग खेती गरेर मनग्गे आम्दानी गर्दै धनकुटा स्थित सिम्सुवा गाउँ !

धनकुटा खबर, बैशाख २। केहि काम नलाग्ने पानी मात्र बग्ने खोलाका बगरहरु धनकुटाको भेडेटार गाबिस स्थित सिम्सुवा गाउँका २६ परिवारको लागि राम्रो आम्दानीको श्रोत बनेको छ ।
कोशि राजमार्गको धरान–धनकुटा सडक खण्डको सिम्सुवा खोला र लेउती खोला क्षेत्रमा सिम साग खेती गरेर परिवारका महिलाहरुले मनग्गे आम्दानी गर्ने गरेका छन् ।
खोला क्षेत्रको करिव ८० रोपनी नीजि र सार्वजनिक खोलामा सिम साग खेती गरेर उनीहरुले मासिक ९ देखि १५ हजार सम्म कमाउने गरेको सिम्सुवा ३ का टिका लिम्बुले जानकारी दिईन् ।

‘पानी भएको ठाउँमा एक पटक सागको टुक्रा बोट रोपेर छाडेको एक महिना पछि एक–एक हप्तामा बेच्न हुन्छ’, उनले भनिन्, ‘बिना लगानी हप्तामा थोरैको ३ हजार सम्म कमाई हुने भएपछि सबै यो खेतीमा लागेका हुन् ।’
उनले खेर गएको आफ्नो ३ रोपनी बगर जमिनमा लगाएको साग बेचेर मासिक १५ हजार भन्दा बढी कमाउने गरेको ४१ बर्षिया लिम्बुले बताईन् ।
त्यस्तै सोही गाउँकी पूर्ण माया लिम्बु (राई) ले पनि ३ बर्ष यता खोलाको २ रोपनी क्षेत्रफलमा साग खेती गरेर हप्तामा २ हजार ५ सय सम्म कमाउने गरेको बताईन् ।
बिगत समयमा कहि ब्यक्तिले मात्र खोलामा साग खेती गरेपनि सागबाट राम्रो आम्दानी हुन थालेपछि गएको ५ बर्ष यता गाउँका सबै घरपरिवार साग खेतीमा लागेको उनले बताईन् ।
त्यस्तै उक्त गाउँकी ४३ बर्षिया बिष्णु मायाँ सुवाहाङ्ग लिम्बुले पनि प्रति मुठा ३० रुपैंया सम्म साग बेचेर मासिक १२ हजार सम्म कमाउने गरेको बताईन् ।
राजमार्गको धरान–धनकुटा यात्रा गर्ने यात्रुहरु र सुनसरी र झापा सम्म साग बेच्न लगेर गाउँका महिलाहरु मनग्गे आम्दानी गर्नेगरेको उनको भनाई छ ।



तस्वीर: खोलामा लगाएको साग देखाउादै बिष्णु मायाँ सुवाहाङ्ग लिम्बु र खोलामा लगाएको साग काटेदै पूर्ण माया लिम्बु (राई) र आफूले लगाएको साग खेताला लगाएर काट्दै टिका लिम्बु र साग बोकेकी टिका लिम्बु र सिम्सुवा खोलामा गाउँलेहरुले लगाएको सिमसागको सुन्दर दृष्य


