अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा

प्याङग्मुन्जोम (दक्षिण कोरिया), ४ बैशाख । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुग्नु भएको छ ।

उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिई चीन, जापान तथा कोरियाली प्रायव्दीप क्षेत्रमा तनाव बढ्दै गैरहेका बखत उहाँले एसिया भ्रमण शुरु गर्नु भएको हो ।

यसै सिलसिलामा, सिरियामा बिद्रोहीहरुको आन्दोलन दबाउन बसार अल असदको सरकारले बिद्रोही उपर प्रतिबन्धित, मानव घातक रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्याश्त्र प्रहार गर्ने आदेश दिने केही कठोर निर्णय लिनु भएको छ ।

यसैलाई सम्बोधन गर्दै, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरले आफ्नो राष्ट्र तथा अमेरिका निकटका मित्र राष्ट्रहरुका राष्ट्रिय हितका लागि राष्ट्रपति ट्रम्पले कुनै पनि अप्रिय निर्णय लिन असहज मान्नु नहुने प्रष्ट भएको भन्ने टिप्पणी गर्नु भएपश्चात् परिस्थिति अध्ययनका लागि उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको भ्रमणमा निस्कनु भएको जनाइएको छ ।

वर्तमानमा, निशंकोच अटेरी गर्दै उत्तर कोरियाले छोटो अवधिको अन्तरमा निकै छाडा तौर तरिकाबाट आणविक हतियार र अन्तरमहादेशीय ब्याल्लिस्टिक क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिइरहेको परिप्रेक्षमा उत्तर कोरियाको यस्तो अवान्छित रणनीतिक गतिबिधिलाई लक्ष गर्दै उपराष्ट्रपति पेन्सले ूरणनीतिक धैर्यताको युग समाप्त भएकोू (दि एरा अफ स्ट्राटेजिक प्यासियन्स इज ओभर) भन्ने टिप्पणी गर्नु भयो ।

उत्तर तथा दक्षिण कोरियाबीचको बिभाजन रेखा नजिक दक्षिण कोरियापट्टि अवस्थित ूशून्यसैनिक क्षेत्रू (डिमिलिटराइज्ड जोन) मा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पेन्सले अमेरिका तथा यसका मित्रराष्ट्रहरुले कोरियाली प्रायव्दीपमा शान्तिका लागि निकै लामो समयसम्म धैर्यतापूर्वक प्रतीक्षा गरिरहेकामा धैर्यताको सीमा नाघि सकेको बताउनु हुँदै अब यस क्षेत्रमा शान्ति बहालिका लागि अमेरिकाले यथोचित कदम अघि बढाउन सक्ने चेतावनी दिनु भयो ।

त्यस्तै, यस बिषयमा चीनसँग राष्ट्रपति ट्रम्पले सौहार्द्र कुराकानी गर्नु भएको र उत्तर कोरियाको आणविक हतियार भण्डारण नष्ट गर्न दबाब दिन चीनको असाधारण सहयोग र योगदानको अपेक्षा गर्नुभएको समेत उपराष्ट्रपति पेन्सले खुलासा गर्नुभयो ।

डिमिलिटराइज्ड जोनबाट साँढे दुई माइल टाढा क्याम्प बोनिफासमा अवस्थित दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सैन्य शिबिरको भ्रमण गरी त्यहाँ कार्यरत अमेरिकी सैनिक अधिकृतहरुसँग भलाकुसारी गर्दै उपराष्ट्रपति पेन्सले दक्षिण कोरिया र अमेरिका दुई अभिन्न मित्र बताउनु भएको छ ।

त्यसैकारण दक्षिण कोरियाको सीमारक्षा तथा सैनिक शक्ति संरक्षणका लागि अमेरिकाले ूलौह कवचू (आइरनक्ल्याड) धारण गरिरहे ता पनि हाल उत्पन्न भएको रणनीतिक समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ताको टेबुलमा बस्न वा उत्तर कोरियालाई आणबिक निशस्त्रिकरण गर्न र क्षेप्याश्त्र परीक्षणको अन्त्य गर्न दबाब दिने दिशातर्फ अन्य कुनै पनि शान्तिपूर्ण बिकल्पमा जान अमेरिका सदैव तत्पर रहेको पनि उपराष्ट्रपति पेन्सले बताउनु भएको छ । रासस ÷एपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।