डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा

भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ ।

आज बिहान सिरुटारको साबिक गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार खानेपानीको ट्याङ्की रहेकै जमिनमा खानेपानीका लागि जमिनमुनिको पानी निकाल्ने क्रममा बिहान १०ः१५ बजे एक्कासि आगोको मुस्लो निस्किएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको रु ३५ लाखको लागतमा सिरुटार खानेपानी आयोजना दोस्रो चरणको काम गर्ने क्रममा १८० फिट गहिरोमा गएपछि एक्कासि आगोको मुस्लो निस्किएको तत्कालीन सिरुटार गाविस अध्यक्ष शशिजङ्ग थापाले बताउनुभयो ।

थापाले भन्नुभयो, “सोमबार बिहान मैले नै यो डिपबोरिङ्को शिलान्यास गरी काम सुरु गरेका हौँ, तर काम गर्दै जाँदा सुरुमा ढुङ्गा भेटियो, त्यसको एक क्षणपछि अचानक आगोको मुस्लो नै निस्कियो ।” आगो निस्किएपछि स्थानीय बासिन्दाको पहलमा आगो नियन्त्रणमा नआएपछि भक्तपुरको जुद्ध बारुणयन्त्रको दुई, काठमाडाँै महानगरपालिकाको एक, ललितपुर उपमहानगरपालिकाको एक र नेपाली सेनाको एकवटा दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयास गरेको थियो ।

दमकलले पानी र आगो नियन्त्रणमा लिने रसायनको प्रयोगसँगै ग्यास निस्किएको पाइपमा माटो र बोरालगायत सामग्री हालेर बन्द गराएपछि दिउँसो २ बजे आगो नियन्त्रणमा आएको थियो । आगो निस्किएपछि मानवीय क्षति नभए पनि डिपबोरिङ गरेको सात मिटर आसपासको क्षेत्रमा रहेको बस्ती जोखिममा परेको थियो ।

आगो निस्किएर पिला गाउँ तनावमय भएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुर, नेपाल आयल निगम, विपद् उद्धार व्यवस्थापन, भूगर्भ विभागका टोलीले अनुगमन गरेका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख शिभेष झाले आयोजनामा पानीको ग्यास निस्किएकाले यसको खानी तथा भूगर्भ विभागले अध्ययन गरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुने बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।