कृषि पर्यटन प्रवद्र्धन र आर्थिक लगानीको पर्खाईमा धनकुटा !
धनकुटा खबर, धनकुटा नेपाल सरकारको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) मा यो बर्ष सहित लगातार पाचौं पटक प्रथम भएको जिल्ला हो ।
यसले धनकुटा बिकासका लागि सरोकारवाला सबै पक्ष सकरात्मक छन् भन्ने पुष्टि गर्दछ ।

राणा काल र हाल पुर्वाञ्चलको सदरमुकामका रुपमा रहेको धनकुटा जनपथ सहित नेपाली सेनाको बाहिनी,गण र श–शस्त्र प्रहरी गुल्म भएकोले प्रशासनिक सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित छ ।
२८ गाबिस २ नगरपालिका सबैमा सडक सन्जाल पुगेको,सदरमुकाम बाहेक १६ साना–ठूला शहरले घेरीएको जिल्ला हो ।
र धरान धनकुटा कोशी राजमार्गले जोडेको धनकुटा पूर्वी तराईका औधोगिक क्षेत्रको बजार र भोजुर,तह्रथुम र ताप्लेजुङ्ग जिल्लाको व्यपारीक नाका भएकोले यो एक व्यपारीक केन्द्र पनि हो ।
तशर्थ धनकुटामा व्यवसायीक क्षेत्रमा लगानी गर्ने अबसर,लगानीको सुरक्षा दिने संयन्त्र र उत्पादित बस्तुहरु बेच्ने बजारहरु सबै छन् ।
यस कुरालाई मध्येनजर गरेर तथ्यांक कार्यालय धनकुटाका को तथ्यांक हेर्दा धनकुटामा सबैभन्दा धेरै कृषि क्षेत्रमा सम्भावना देखिन्छ ।
कार्यालयका अनुसार धनकुटाको १ लाख ६३ हजार ४ सय १२ जनसंख्यामा १० बर्ष माथिका १ लाख २९ हजार १ सय ८८ मध्ये ८० हजार ८ सय ६१ जना बिभिन्न पेशामा आवद्ध छन् ।
जसमा सबैभन्दा धेरै ६५ हजार १ सय ४७ अर्थात ८० दशमलव ९ प्रतिशत धनकुटाका जनता कृषि पेशामा आवद्ध छन् ।
पशु सेवा कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा कुल जनसंख्याको ६५ दशमलव ६ प्रतिशत पशु पालनमा र कृषि बिकास कार्यालयका अनुसार ४१ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ।
त्यसैले धनकुटालाई कृषि उत्पादनको मुल थलोको रुपमा बिकास गरेर कृषिपर्यटनका रुपमा प्रवद्र्धन गरी यहाँको अन्य सम्भावना भएका बिषयमा योजना बनाई लगानी गरेर सेवा र व्यपार÷व्यबसाय गर्ने अवसर देखिन्छ ।
कृषिपर्यटनका लागि पूर्वाधार

धनकुटा जिल्ला उद्योग बाणिज्य संघ धनकुटाले ‘एक गाउँ एक उच्पादन कार्यक्रम’ अन्तर्गत बाख्रा पालन कार्यक्रम रोजेको जिल्ला हो ।
संघले टिमुर खेती,अदुवाखेती संगै चालु बर्षमा …………सरकारको सहयोगमा सन्चालित उन्नती प्रोजेक्ट संग मिलेर ८ करोडको लगानीमा अलैची खेतीको प्रवद्र्धन गर्न वायर हाउस (गोदाम) निर्माणको प्रस्ताव गरेको छ ।
कृषि क्षेत्रमा सम्भावना भएर नै उन्नती आफैंले पनि कृषि क्षेत्रको प्रवद्र्धन गर्न सन् २०१८ सम्मको लागि धनकुटा लगाएत पूर्वको ७ जिल्लामा ६ अर्व खर्च गर्ने तयारीमा छ ।
समुद्री सतहबाट २ हजार ७ सय २ मिटरको उचाईमा रहेको धनकुटा अरुण,तमोर नदीको उपत्यका र लेकबेंसी भएको ठाउँ भएकाले यहाँ सबै जातसर्थ का पशुपालन र खेतीको लागि सम्भावना भएको जिल्ला हो ।
यो सम्भावनालाई साकार बनाउन तरकारी खेती र कृषि उपजलाई प्रवद्र्धनका लागि जिल्लामा जिबस र धनकुटा नगरपालिकाले २ सय ४३ दशमलव ४ किलोमिटर ४४ वटा ग्रामिण कृषि सडकहरुको सन्जाल निर्माणमा लगानी गरेको छ ।
क्षेत्रीय सिंचाई कार्यालय धनकुटाबाट कृषि क्षेत्रको सिंचाइका लागि १० वटा ठूला सिंचाई आयोजनाबाट ४ हजार ८ सय ४५ हेक्टरमा सिंचाईको व्यबस्था गरेको छ ।
जसले गर्दा ८ हजार ८ सय ७७ वर्ग किलोमिटरमा मा फैलिएर धनकुटामा ४० हजार ८ सय २३ हेक्टर अर्थात् ४५ प्रतिशत जमिनमा खेती गर्न सम्भव भएको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।
यो सुबिधाका कारण अहिले धनकुटामा ४ सय ९३ कृषि केन्द्रमा आवद्ध कुल जनसंख्याको कुल जनसंख्या मध्ये ६७ हजार जनता कृषि पेशामा आवद्ध रहेका छन् ।
धनकुटा ३४ हजार ४ सय ७१ मेट्रिक टन खाद्यन्न उत्पादन गरेर ३१ हजार २ सय १२ मेट्रिक टन खपत गरी ३ हजार २ सय ५९ मेट्रिक टन खाद्यन्न वासलत(बचत) गर्ने जिल्लामा पर्न समेत सफल भएको कृषि कार्यालयको तथ्यांक छ ।
आर्थिक बर्ष ०७२÷०७३ मा ८ हजार ८ सय ३० हेक्टरमा ६८ हजार ९ सय ७५ मेट्रिक टन कृषि जन्य बस्तुको उत्पादन गरेरको धनकुटाले बार्षिक ४ हजार १ सय ११ अलैची र अदुवा,८ हजार ४ सय ४४ फलफुल र १ लाख ५६ हजार ३ सय २० मेट्रिक टन सव्जी उत्पादन गर्ने गर्दछ ।
कृषि क्षेत्रलाई टेवा दिन १८ वटा फलफुल र बिभिन्न प्रकारका नरी र १ सय ३५ वटा कृषि तथा एग्रो फर्महरु सन्चालनमा रहेको घरेलु कार्यालयको तथ्यांक छ ।
त्यस्तै पशु सेवा कार्यालय धनकुटाको तथ्यांक अनुसार हाल जिल्लामा ८८ वटा गाई ६४ बाख्रा,४९ वटा बंगुर र छ वटा भैसी फर्म गरी कुल २ सय ७ वटा फर्महरु सन्चालनमा छन् ।
यो संख्या सम्भवतः नेपाल भरीकै पहाडी जिल्लाको हकमा सबैभन्दा धेरै हो । धनकुटाको कुल क्षेत्रफलमा २ सय २० हेक्टर चरण क्षेत्र भएकोले पनि यो सम्भव भएको पशु कार्यालयको बिश्लेषण छ ।
धनकुटामा कृषि क्षेत्रका लागि औषधी तथा बिषदी बेच्ने ८७ वटा साना र २० एग्रोभेट,१९ वटा मलखाध वितरण गर्ने संस्था रहेका छन् भने कृषि उपजहरु ३२ संकलन केन्द्र र ६ साप्ताहिक हटिया सन्चिालित छन् ।
यो प्रगतीको लागि कृषि र पशु क्षेत्रका लागि चाहिने प्राबिधिक सहयोगका लागि नेपाल र पूर्वमा नै नाम चलेका पाख्रिबास कृषि अनुसन्धान केन्द्र,सुन्तला जात अनुसन्धान केन्द्र र उत्तरपानी प्राबिधिक शिक्षा लय पनि धनकुटामा नै भएर पनि सम्भव भएको हो ।
कृषिमा भएका यी नै व्यापकताका कारण नै धनकुटाले बार्षिक अरबौको कारोबार गरेर दुध,तरकारी,नर्सरी र फफुलमा सुन्तलाले पूर्वको बिभिन्न जिल्ला धानेको छ ।
जसको कारण धनकुटामा कृषि तथा पशुपालन गरेर सामान्य जीवन चलाउने देखि बार्षिक ६० लाख भन्दा माथि कमाउने किसानहरु बस्ने गर्दछन् ।
अतः यीनै सफल प्रयास र तालमेलका कारण धनकुटा दिन प्रतिदिन कृषि तथा पशु क्षेत्रका लागि भ्रमण आउनेको संख्या बढ्दो छ ।
यहि प्रगतीलाई हेर्न धनकुटामा अन्य जिल्लाबाट बार्षिक दर्जनौ आन्तरीक पर्यटकहरु आउने गरेका छन् ।
जिल्ला कृषि बिकास कार्यालय,सुन्तला जात अनुसन्धान केन्द्र,पाख्रिबास कृषि अनुसन्धान केन्द्र,पशु सेवा कार्यालय धनकुटा र सिंधुवा बहुउदेश्यीय तरकारी संकलन केन्द्रको तथ्यांक अनुसार कृषि क्षेत्रको अनुगमन भ्रमणका लागि धनकुटामा देशभरीबाट बार्षिक दुई दर्जन भन्न बढी टोली आउने गरेको छ ।
तशर्थ कृषि क्षेत्रको यो सम्भावना र अबसरलाई सरकार र नीजि क्षेत्रले योजना बनाएर सदुपयोग गरेमा धनकुटा कृषिपर्यटन क्षेत्रको रुपमा बिकास भई कृषि क्रान्तिको सम्भावना देखिन्छ ।
कृषिपर्यटनको बिकासले समाजको अन्य क्षेत्रको बिकासका लागि दीर्घकालिन आधार तयार हुने भएकाले यसको प्रवद्र्धन गर्न जरुरी देखिन्छ ।
होटल एशोसियसन भेडेटारको एकल प्रयासमा २०५२ साल सम्म सुनसान उक्त ठाउँ अहिले भेडेटार को चीसो र नाम्जेको होमस्टेमा आग्यानिक खाना खान हरेक बर्ष लाखौ आन्तरीक र बाह्य पर्यटकहरुले भ्रमण गर्ने गर्दछन् ।
यसर्थ अथाह सम्भावना बोकेको धनकुटाको कृषि क्षेत्रको बिकास प्रवद्र्धनका गर्नका लागि सरकार र नीजि क्षेत्रले योजना बनाएर लगानी गरेमा धनकुटाको आर्थिक समृद्धि र लगानीकर्ताको उन्नती हुने देखिन्छ ।
अन्य क्षेत्रमा लगानीको सम्भावना >>>
लगानीको सम्भावना भएका धनकुटाका बिभिन्न स्थानहरुः तस्वीरमा हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्…
औधोगिक क्षेत्रमा लगानी
धनकुटामा पूर्वी तराईबाट ५२ किलोमिटर टाढाबाट ढुवानी गरेर खाद्यन्न,लत्ताकपडा,बिकास निर्माणका सामाग्री ल्याउनु पर्ने बाध्यता छ ।
धनकुटाबाट उत्तरी क्षेत्रमा रहेका ३ जिल्लाले थप अरु दुरी ढुवानी गरेर तराईका जिल्लाबाट सामान लानुपर्ने गर्नुपर्ने बाध्यता छ ।
तशर्थ धनकुटा र ३ जिल्लाको संग्लग्नतामा २०४० साल देखि गौचरणमा परिणत भईरहेका ६४ रोपनी औधोगिक क्षेत्रको जमिन सदुपयोग गर्न खोजिएको थियो ।
तर सरकारी नीतिगत समस्याका कारण २ बर्ष अघि २१ लाख ५० हजार रुपैया लागतमा बनाइएएको बिभिन्न भौतिक संरचना त्यसै खेर गईरहेको छ ।
धनकुटामा एक सिमेन्ट उद्योग बाहेक कुनै ठूलो उद्योग नभईरहेको सन्दर्भमा नीतिगत कुरा मिलाएर यो क्षेत्रमा स्थानिय उत्पादनमा आधिरीत र अन्य केहि ठूला उद्योग स्थापना गरेमा धनकुटा लगाएत अन्य जिल्लालाई राहत हुने देखिन्छ ।
यस स्थानमा धनकुटाको बजार र अन्य ३ जिल्लाहरुलाई लक्षित गरेर दैनिक उपभोग्य र भौतिक निर्माणका क्षेत्रमा प्रयोग हुने बस्तु सम्बन्धि उद्योग खोलेमा सफल हुने पनि देखिन्छ ।
कृषि बिद्यालयमा लगानी

धनकुटाको पाख्रिबासमा २०२८ सालमा वेलायती सरकारद्वारा १ हजार ८ सय रोपनीमा निर्माण गरी सन्चालनमा ल्याईएको कृषि अनुसन्धान केन्द्र २०५५ सालमा नेपाल सरकारको स्वामित्वमा आएपछि उक्त केन्द् पूर्ण क्षतामा प्रयोगमा आउन सकेको छैन ।
पशु र कृषि सम्बन्धि प्राय सबैको अनुसन्धान गरिने यस केन्द्रमा ९३ जना कर्मचारीको दरबन्दिमा अहिले सम्म पनि ४९ भन्दा बढी कर्मचारी नहुंदा अनुसनधान प्रभावित बनेको छ ।
लेक र बेंसी दुबै खालको हावापनी भएको यो केन्द्र र संग संगैको दुरीमा रहेको धनकुटाको पारिपात्लेमा रहेको सुन्तला जात अनुसन्धान केन्द्र र उत्तरपानीमा भएको प्राबिधिक शिक्षालयलाई लाई कृषि बिद्यालयको वा कृषि बिश्व बिद्यालयको रुपमा सन्चालन गरे धनकुटाको कृषि र कषिपर्यटनको पुरक समेत बन्ने भएकोले यो क्षेत्रको लगानीमा सफलताको देखिन्छ ।
होटलमा व्यसायमा लगानी

धनकुटाको भेडेटार पूर्वकै पर्यटकीय स्थल हो । चुरे क्षेत्रमा पूर्व–पश्चिम फैलिएको भेडेटार को चिसो मौसम र नमस्ते झरनामा रमाउन,नाम्जेको होमस्टेमा बस्न, डाँडा बजारको भ्यूटावरबाट अवलोकन गर्न,ध्वजे डाँडाबाट सूर्योदयको दृष्य हेर्न,र राजारानीको रानीतालमा बाटिङ्ग र फिसिङ्ग गर्न बार्षिक ९ लाख भन्दा बढी आन्तरिक,भारतीय र तेस्रो मुलुकका पर्यटकहरु आउने गर्छन् ।
उक्त क्षेत्रमा बार्षिक करोडौको पर्यटन व्यपार हुने गर्दछ । होटल एशोसियसन भेडेटारका अनुसार उक्त क्षेत्रमा मध्यम सेवा दिने ४० होटलहरु सन्चालित छन् ।
तर उक्त क्षेत्रमा कुनै ठूला तारे होटलहरु सन्चालनमा आउन सकेका छैनन् । तशर्थ उक्त क्षेत्रमा केहि ठूला तारे होटल र रिसार्टहरुको क्षेत्रमा लगानीको सम्भावना रहेको देखिन्छ ।
क्षेत्रिय अस्पतालमा लगानी
२०३८ सालमा क्षेत्रीय अस्पतालका लागि धनकुटाको हिलेमा छुट्याईएको करिव २ सय रोपनी जमिन गौचरणको रुपमा रहेको छ ।
अहिले पनि धनकुटा लगाएत भोजपुर,तेह्रथुम र थाप्लेजुङ्गका मानिसहरु अपरेशन र जटिल प्रकारका बिरामीको उपचार गर्न धरान र बिराटनगर जानुपर्ने बाध्यता छ ।
जसले गर्दा पहाडी क्षेत्रबाट उपचार गर्नको लागि तराई झर्दा गर्मी मौसमका कारण बिरामीलाई समस्या र आर्थिक भार पनि पर्नेगरेको छ ।
यदि उक्त क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल बनाउने हो भने धनकुटा लगाएत ४ जिल्लाले सुबिधा पाउने छन् ।
अहिले उक्त क्षेत्र हुंदै मध्ये पहाडी लोक मार्ग समेत सुचारु हुन लागेकोले सोलु,ओखलढुंगा,खोटाङ्ग ,ईलाम र पाँचथरका जनताले समेत सेवा पाउन सक्ने देखिन्छ ।
चियामा लगानी

चिया कफी बार्ड धनकुटा हिलेका अनुसार धनकुटामा उद्योगहरुले ३ हजार २ सय ३६,किसानहरुले ७ हजार ९ सय २३ र सरकारले १ सय १० गरी कुल ११ हजार २ सय ५९ रोपनीमा चिया खेती हुने जानकारी दिएको छ ।
तर धनका ५ आग्यानिक चिया उद्योग मध्ये ३ ठूला उद्योगहरुलाई बार्षिक ५० प्रतिशत भन्दा बढी चिया पत्तिको अभाव छ ।
धनकुटाको गराँसे टि–स्टेटको मात्र उदाहरण लिने हो भने बार्षिक उत्पादन क्षमता १ लाख ५० हजार केजी भएपनि पत्तिको अभावमा ५० हजार मात्र आग्र्यानिक चिया उत्पादन गर्दै आएको छ ।
अन्य २ ठूला उद्योगको पनि हालत उस्तै छ । तर उता किसानहरुले भने फाईदा नभएको कारणचिया खेतीलाई जंगलका रुपमा छाड्ने क्रमजारी छ ।
किसानले टिपेर बेच्दा फाईदा नहुने उद्योगले कामदार नभेट्ने भएपछि धनकुटामा यस्तो समस्या आएको उनीहरुको भनाई छ ।
यहाँ उत्पादित आग्र्यानिक चिया यूरोप र अमेरीका निर्यात हुने भएकोले यदि यहाँको चियाको क्षेत्रलाई पैवद्र्धन गरेर लगानी गर्न सके चियाको राम्रो व्यपार हुने देखिन्छ ।


