‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ नारा सहित शुरु भएको ‘अन्तराष्ट्रिय श्रमिक दिवस’ धनकुटा हिलेमा पनि मनाईयो
धनकुटा खबर, बैशाख १८ । यस वर्षको १२८ औँ अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे’ दिवस आज विविध कार्यक्रम गरी हिलेमा पनि मनाईएकोछ ।
नेपाल ट्रेड युनियन जिफण्ट धनकुटा र क्यूपेक नेपाल धनकुटाको संयुक्त आयोजनामा हिलेमा र्याली प्रदर्शन तथा सभाको आयोजना गरी यो दिवस मनाईएको हो ।
हिले पुच्छर तोङ्वा चोकवाट शूरु भएको र्यालीले वजारको विभिन्न भागको परिक्रमा गर्दै पुन; तोङवाचोक मै पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तथा सभाका प्रमुख अतिथि राजेन्द्र राईले आफ्नो अधिकार सुनिश्चितताका लागि सम्पूर्ण मजदुर एकजुट हुनुपर्ने वताउनुभयो ।

साथै उहाँले एमालेले मात्र मजदुर वर्गको हक अधिकार प्राप्तिका लागि अगुवाई गर्ने भन्दै स्थानीय तहको चुनावमा सक्षम उम्मेद्धारलाई मत दिन पनि आह्वान गर्नुभयो ।
सभामा उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, नेपाल ट्रेड युनियन जिफण्ट धनकुटा अध्यक्ष भेषराज कट्टेल, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष सिंह तितुङ्ग लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।

श्रमिक दिवस सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाईने गरेको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।
नेपालमा भने विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाईदै आएको छ ।


