भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामालाई चिनियाँ कम्युनिस्ट नेताले सहयोग गरिरहेको खुलासा

बेइजिङ : भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामालाई चीनको सत्तारुढ कम्युनिस्ट पार्टीकै केही उच्च नेताहरूले सहयोग गरिरहेको खुलासा भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले पहिलोपटक सार्वजनिक रूपमै यस्तो खुलासा गरेको छ।

आफ्नै केही नेताहरूले ८१ वर्षीय दलाई लामालाई चन्दा दिएर आर्थिक सहयोग गरी पृथकतावादीसँगको युद्धलाई कमजोर बनाएको चिनियाँ कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ।

चीनको सरकारी ग्लोबल टाइम्सले प्रकाशन गरेको समाचारमा चीनका एक वरिष्ठ अधिकारीले १४ औं दलाई लामालाई चन्दा दिएर आफ्नै नेताहरूले बदमासी गरेको बताएका छन्। त्यस्ता नेताहरूले स्वतन्त्र तिब्बतको माग गर्दै आएका ‘पृथकतावादी’ दलाई लामालाई सहयोग गरेर चीनलाई कमजोर बनाउन खोजेको उनको कथन थियो। चीनको स्वशासित क्षेत्र तिब्बतका अनुशासन निरीक्षण विभागका प्रमुख वाङ योङजुनलाई उद्धृत गर्दै उक्त पत्रिकाले उललेख गरेको छ। देश विखण्डन र सरकारलाई कमजोर बनाउने शक्तिलाई सहयोग गर्नेलाई कारबाही गरिने उनको भनाइ छ।

ग्लोबल टाइम्सले सन् २०१६ को प्रतिवेदन उल्लेख गर्दै उक्त कुराको पुष्टि गरेको छ। यसैगरी सन् २०१४ मा कम्युनिस्ट पार्टीका १५ जना उच्च अधिकारीले पृथकतावादी संगठनसँग सम्बन्ध राखेको खुलासा भएको बताइएको छ। उनीहरूले दलाई लामा र उनका समर्थकहरूलाई गुप्तचर संस्थाका गोप्य जानकारी उपलब्ध गराएर ‘विखण्डनकारी तत्व’लाई सहयोग गरेको उनले बताएका छन्। पत्रिकाले ती १५ अधिकारीको नाम र पदको बारेमा जानकारी दिएको छैन। पहिलोपटक सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी निकट पत्रिकाले दलाई लामा र उच्च अधिकारीको सम्बन्ध रहेको स्पष्ट पारेको हो। दलाई लामा सन् १९५९ मा तिब्बतबाट भागेर भारतमा शरण लिन पुगेका थिए।

चीनले दलाई लामाले स्वतन्त्र तिब्बतको माग गर्दै आएका विद्रोहीलाई सहयोग गरी विखण्डनकारी भएको बताउँदै आएको छ। दलाई लामाले तिब्बतको सीमाक्षेत्र भारतको अरुणातलमा भ्रमण गर्न दिएको भनेर गत साता भारतप्रति असन्तुष्टि व्यक्त गरेको थियो। यस्ता कारबाही गर्न छुट दिएर भारतले एक चीन नीतिको पालना नगरेको उसको भनाइ थियो। यसैगरी गत नोभेम्बरमा दलाई लामालाई प्रवेश गर्न दिएको भन्दै मंगोलियामा नाकाबन्दी गरेको थियो। – अन्नपूर्णपोष्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖