यसरी असम्भबलाई सम्भब तुल्याऊदैछ नेपाली सेना !

बागलुङ, २१ वैशाख । हेर्दै पनि आङ सिरिङ्ग हुने चट्टानी पहरा, तल कालीगण्डकी नदी, माथि हेर्दा पनि उस्तै ठाडो भिर देख्दा पहिलोचोटि पुग्ने जो कसैलाई लाग्छ, त्यहाँ सडक खन्न असम्भव छ तर नेपाली सेनाले त्यस्तो असम्भलाई सम्भव तुल्याएको छ ।

सेनाको काम हेर्नुभएका जैमिनी नगरपालिका–५ बिनामारेका ७९ वर्षीय देवीदत्त पौडेलले भन्नुभयो – “नचिताएको ठाउँबाट बाटो आयो ।” उहाँले भिरमा काम गर्दा कुनै अप्रिय घटना नहोस् भनेर आफूले दैनिक पूजा र प्रार्थना गर्ने गरेको सुनाउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ–गुल्मीखण्डमा मार्ग खोल्ने कार्य नेपाली सेनाको जिम्मामा छ । सेनाले अहिले बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेको कुसुने भिरमा काम गरिरहेको छ । सडक निर्माण कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईका अनुसार कुसुने करिडोरकै बढी जोखियुक्त भिर हो । “छ सय मिटर अग्लो भिरमा जोखिम मोलेर काम गरिरहेका छौँ” – उहाँले भन्नुभयो ।

उपकरणले पनि पहाड काट्न नसकेपछि सेनाले विस्फोटक पदार्थको सहायता लिएको थियो । सेनाका ‘बम ब्लास्टर’ देखि इन्जिनियर, प्राविधिक, डकर्मीलगायतका जनशक्ति सडक निर्माणमा खटिएका छन् । आवश्यकताअनुसार बाहिरी मजदुरलाई पनि काममा लगाइएको इन्जिनियर भट्टराईले बताउनुभयो । करिडोरको बागलुङ–गुल्मीखण्डको अधिकांश जोखिमयुक्त ठाउँमा काम गर्नुपरेको कार्यदलका प्राविधिक सालिकराम नेपालले बताउनुभयो । “जीवनकै बाजी राखेर कार्यक्षेत्रमा खटिएका छौँ, बम ‘ब्लास्टिङ’ को काम उस्तै जोखिमपूर्ण छ” – उहाँले भन्नुभयो ।

सेनाले ठाउँ ठाउँमा अस्थायी ‘क्याम्प’ खडा गरेर सडक निर्माणमा आफ्नो जनशक्ति परिचालन गरेको छ । सडक निर्माण र विस्तारमा आउने स्थानीयवासीको गुनासोलाई समेत सही ढङ्गले व्यवस्थापन गर्दै सेनाले सडकको कामलाई गति दिइरहेको छ । तत्कालीन बिनामारे गाविसका अध्यक्षसमेत रहनुभएका जैमिनी नगरपालिका–५ का गोपाल पौडेलले सडक निर्माणले गति लिएको बताउनुभयो । “सडक विभागले कछुवाको गतिमा काम गरिरहेको थियो, अहिले सेनाले पाएपछि नसोचेको ढङ्गले काम भएको छ” – उहाँले भन्नुभयो ।

सडक विभागले वर्षौं लगाउँदा पनि मार्ग खोल्न नसकेपछि सरकारले सेनालाई जिम्मा दिएको थियो । चालीस किमीको बागलुङखण्डमा अब सात किमीमात्र मार्ग खोल्न बाँकी रहेको इन्जिनियर भट्टराईले बताउनुभयो ।

बागलुङखण्डको मालढुङ्गा–टाकुरी १४ किमीमा भने गत वर्षदेखि नै सार्वजनिक यातायात सञ्चालनमा आएको छ । आउँदो असारभित्र बागलुङखण्डको काम सक्ने लक्ष्य लिए पनि बजेट अभाव हुने कार्यदलले जनाएको छ । “चालु आवका लागि सरकारले रु ३३ करोड बजेट विनियोजन गरेको छ” इन्जिनियर भट्टराईले भन्नुभयो – “त्यो रकम अपुग हुन्छ, तीन ठाउँमा ‘बेली ब्रिज’ पनि हाल्नुछ, यही वर्ष थप रु ११ करोड जति रकम हामीलाई चाहिन्छ ।”

वर्षा लाग्नासाथ सडक बिग्रने हुँदा नियमित मर्मतसम्भारका लागिसमेत ठूलो बजेट खर्च हुने उहाँको भनाइ छ । गुल्मीको रिडी–पालुङखोला हुँदै बागलुङ मालढुङ्गा जोड्ने ८५ किमी सडक निर्माणको जिम्मा सेनामा छ । बागलुङ–गुल्मीखण्डमा मार्ग खोल्ने कामले पूर्णता पाएसँगै दक्षिण भारतको सुनौलीदेखि उत्तर चीनको कोरला नाकासम्म सिधा यातायात सञ्चालन हुनेछ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो करिब ४३५ किमीको कालीगण्डकी करिडोर नेपालको आर्थिक सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।