अफगानिस्तानतर्फबाट पाकिस्तानमा गोली प्रहार, एक पाकिस्तानी नागरिकको मृत्यु, १७ घाइते
इस्लामाबाद, २२ वैशाख । पाकिस्तानको बलुचिस्तान प्रान्तका अधिकारीहरुका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमा पार गर्ने इलाकामा अफगानिस्तानतर्फबाट शुक्रबार भएको गोली प्रहारमा परी एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।
बिनाकारण बिहानै सबेरैबाट अफगानिस्तानको तर्फबाट सुरु भएको यस गोली प्रहारमा परी अन्य १७ जना घाइते भएका छन् ।
पाकिस्तानको चम्मान क्षेत्र अर्थात दुबै देशको सीमा पार इलाकामा बिहानैबाट सुरुभई केही घन्टासम्म जारी रहेका यस गोली प्रहारको कारण भने अझै प्रष्ट नभएको एक सुरक्षा अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिएको छ ।
यस घटनामा घाइते भएकामा दुई महिला र छ बालबालिका रहेका जनाइएको छ । घाइते सवैलाई नजिकैको अस्पतालमा उपचारार्थ लगिएको छ ।
यस घटना उच्चस्तरीय पाकिस्तानी प्रतिनिधिमण्डलका अधिकारीहरुले अफगानिस्तान भ्रमण गरेको केही दिनपछि भएको छ । सो प्रतिनिधि मण्डलले अफगानिस्तानलाई सीमा सुरक्षा व्यवस्थापनको लागि विशेष जोड दिएका बताइएको छ । रासस÷सिन्ह्वा


