काठमाडौं जिल्लाको नजिता हेर्दा : १० वर्षपछि एमालेको कमब्याक, माओवादी र राप्रपा पत्तासाफ

काठमाडौं, ५ जेठ । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिकासहित ११ वटा स्थानीय तह छन् । जिल्लाका यी सबै तहमा भएको निर्वाचनको प्रारम्भिक नजिता हेर्दा सत्तारुढ माओवादी केन्द्र ‘क्लिन स्वीप’ हुने देखिएको छ ।

मतगणना भइरहेका काठमाडौंका कुनै पनि नगरपालिकामा माओवादी दोस्रो स्थानमा समेत छैन । माओवादी पार्टीबाट महानगरपालिकाका मेयरका उम्मेदार सर्वोत्तम डंगोलले यसअघि नै हार स्वीकार गरिसकेका छन् ।

लोडसेडिङको अन्त्य गरेर राजधानीबासीलाई उज्यालो उपहार दिएको माओवादीलाई काठमाडौंबासीले किन रुचाएनन् ? यो प्रश्न माओवादीभित्रै पनि उठेको छ ।

माओवादीका उम्मेदवारहरुले काठमाडौं महानगर र अन्य नगरपालिकाहरुमा कतै पनि ३ हजार मतसमेत कटाउन सकेको देखिँदैन ।

काठमाडौंमा ०६४ सालको निर्वाचनमा माधव नेपाल जस्ता नेतालाई हराउने माओवादी अहिले त्यही क्षेत्रका नगरपालिका र महानगरका वडामा जमानत जोगाउन नसक्ने अवस्थामा पुगेको छ । माओवादीले जित्ने आँकलन गरेका तारकेश्वर, टोखा, शंखरापुर, बूढानीलकण्ठ जस्ता नगरपालिकामा तेस्रो स्थानमा पनि अत्यन्त कम मतमा सीमित भएको छ ।

एमालेको कमब्याक

अहिलेसम्मको मतपरिणाम र अग्रताका हिसाबले काठमाडौंमा एमालेलाई धेरै नाफा भएको छ । ०६४ सालको निर्वाचनमा शून्य सीटमा सीमित भएको एमाले ०७० को संविधानसभा चुनावमा आउँदा १० मध्ये २ सीटमा उक्लिएको थियो । तर, यसपटक एमालेको राम्रो ‘कमब्याक’ भएको छ ।

अहिलेसम्म मतगणना सम्पन्न भएका शंखरापुर र टोखामा एमालेले जीत हासिल गरेको छ । शंखरापुरमा सुवर्ण श्रेष्ठ र टोखामा प्रकाश अधिकारीको प्यानल विजयी भएको छ ।

हाल गणना भइरहेकामध्ये बूढानीलकण्ठ र तारकेश्वर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

विसं. ०४८ देखि ०५६ सम्मको निर्वाचनमा काठमाडौंमा एकलौटी बर्चश्व कायम गरेको एमालेले ०६४ पछि काठमाडौं गुमाएको थियो । ठीक १० वर्षपछि एमालेले गुमेको काठमाडौं फिर्ता गर्ने गरी कमब्याकको संकेत दिएको छ ।

एमालेलाई गत संविधानसभा निर्वाचनमा पहिलो पार्टी हुनबाट रोक्ने काठमाडौं उपत्यका नै थियो । उपत्यकाका १५ सिटमध्ये कांग्रेसले १२ सीट जित्दा एमाले २ सीटमा सीमित भएको थियो । यसपटक क्षतिपूर्ति लिने ढंगले एमाले अघि बढेको छ ।

कांग्रेसलाई क्षति

परिणामका हिसाबले नेपाली कांग्रेसले काठमाडौं जिल्लामा घाटा व्यहोरेको छ । महानगरपालिकामा कांग्रेस शुरुदेखि नै एमालेभन्दा निकै पछि परिरहेको छ ।

महानगरको गणनामा कहिले दोस्रो र कहिले तेस्रो स्थानमा रहेको कांग्रेसले काँठका नगरपालिकाबाट क्षतिपूर्ति लिने अपेक्षा थियो । तर, अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा कांग्रेसले काठमाडौं जिल्लाका १० मध्ये बढीमा ५ नगरपालिका अर्थात एमालेसँग बराबरीमा चित्त बुझाउनुपर्ने देखिएको छ ।

कांग्रेसले हालसम्म दक्षिणकाली, नागार्जुन र गोकर्णेश्वर नगरपालिका जितेको छ । नागार्जुनमा पनि उपमेयर एमालेले नै जितेको छ भने बहुमत वडाध्यक्ष एमालेकै छन् ।

राप्रपालाई धक्का

गत संविधानसभा निर्वाचनमा समानुपातिक मत तर्फ पहिलो बनेको राप्रपा काठमाडौंका कुनै पनि तहमा प्रतिस्पर्धामा आउन सकेन । महानगर बाहिरका नगरपालिकामा २ वडाध्यक्ष बाहेक राप्रपाले काठमाडौं जिल्लामा आफ्नो उपस्थिति देखाउन सकेको छैन ।

काठमाडौं महानगरपालिकामा एमालेसँग तालमेल गरेर उपमेयर पाएको राप्रपाले त्यहाँ पनि एमालेको मत पाउन सकेको देखिँदैन ।
काठमाडौंको चुनावी रुझान हेर्दा यसपटक एमालेले आफ्नो बिरासत फर्काउने देखिन्छ ।

काठमाडौंको समग्र चुनावी परिणाम नआउने माओवादी र राप्रपाका लागि निराशाजनक अवस्था देखिएको छ । राप्रपाले अझै पनि काठमाडौंको उपमेयरको झिनो आशा जीवित राखिरहँदा माओवादीको झोला भने रित्तिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।