एमाले कार्यकर्ताहरुद्वारा नवनिर्वाचित गाउँपालिका प्रमुखमाथि आक्रमण
धादिङ । विजय जुलुसबाट फर्केका कांग्रेस धादिङ सचिव एवं ज्वालामुखि गाउँपालिकाका नवनिर्वाचित प्रमुख विनोद तिमल्सिनासहित ६ जनालाई एमाले कार्यकर्ताले आक्रमण गरेका छन् ।
विजयी जुलुसबाट फर्कने क्रममा तिमल्सिनाको ससुराली घर बीच बाटोमा पर्ने भएकाले खाना खान ससुराली घर गएको मौका छोपी एमाले कार्यकर्ताले घेरा हाली आक्रमण गरेका हुन् ।
‘एमालेका कार्यकर्ताहरुले घर नै घेरा हालेर नवनिर्वाचित प्रमुख र जिल्ला कार्यसमिति सदस्य नरेन्द्र भट्टसहितलाई आक्रमण गरेको धादिङ कांग्रेस नेता रामनाथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार भट्टलाई अहिले जिल्ला अस्पताल धादिङ पुर्याइएको छ भने तिमल्सिनासहित अन्यलाई उपचारको लागि जिल्ला अस्पताल धादिङबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।


