नेपाली काँग्रसका ठूलै नेता प्रचण्डको कार्यकाल लम्ब्याउन कस्सिएपछि देउवा तनावमा
काठमाण्डौं, ८ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्ने भएका छन् ।
सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम बाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री दाहालले दिनुहुनेछ ।’
मुलुकले जेठ अन्तिमसम्म नयाँ प्रधानमन्त्री पाउने दाबी एक मन्त्रीले गरे । उनले भने, ‘विगतमा भएका भद्र सहमति कार्यान्वयन नभए पनि यसपटक भद्र सहमतिको कार्यान्वयन भद्र रूपमा नै हुनेछ ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले वर्तमान सरकारको नेतृत्व परिवर्तन आगामी दुई साताभित्र हुने बताए । कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री दाहालले दुई पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने बताए ।
कांग्रेस उच्च स्रोतका अनुसार सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा जेठको अन्तिम सातासम्म प्रधानमन्त्री हुनेछन् । उनले भने, ‘सरकारको नेतृत्व परिवर्तनका लागि संसदीय प्रक्रिया पूरा गर्नुपर्छ । त्यो भनेको वर्तमान सरकारको नेतृत्वबाट प्रचण्डले राजीनामा दिएपछि सात दिनको सहमति र सात दिनको बहुमतीय प्रक्रिया हो ।’
सामाजिक सञ्जाल, राजनीतिक दलका क्रिया र प्रतिक्रियामा नलाग्न आग्रह गर्दै कांग्रेस उच्चस्रोतले भन्यो, ‘भद्र सहमतिको पहिलोपटक कार्यान्वयन हुँदैछ । दाहालले सहमति पालना गर्ने कुरामा कांग्रेस ढुक्क छ ।’
कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाले एउटै चुनावबीच दुई प्रधानमन्त्री हुन नहुने तर्क गर्दै वर्तमान सरकारले वैशाख ३१ झैं जेठ ३१ गते स्थानीय तहको चुनाव गर्नुपर्ने धारणा राखेका छन् ।


