यी हुन् एमालेलाई जनताले पत्याउनुका पाँच कारण…

काठमाडौं, २० असार । पहिलो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको नेकपा एमाले दोस्रो संविधान सभाको निर्वाचनमा आइपुग्दा दोस्रो पार्टी हुँदै स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्न पुगेको छ । स्थानीय तहको निर्वाचनको पहिलो चरणमा पहिलो दल बनेको एमाले दोस्रो चरणको निर्वाचनको करिव ५० स्थानको नतिजा आउन बाँकी रहँदाको अवस्थामा पहिलो पार्टी बन्ने स्पष्ट संकेत देखिएको छ । पहिलो संविधानसभा निर्वाचनमा पनि एमालेले पहिलो दल बन्ने महत्वकांक्षा राखेको थियो । चुनावमा परीक्षण नभएको माओवादीले चुनावी तालमेलको प्रस्ताव गर्दा एमालेका उच्च तहका नेताले काठमाडौं उपत्यकाको ११ औं सिटमा मात्र तालमेल हुने भनेर माओवादीको अस्थित्वलाई स्विकार गरेनन् ।

एक दशकमा एमालेले कोल्टे फेरेको छ, पहिलो दल बनेर । पहिलो संविधानसभामा तेस्रो स्थानमा खुम्चिएको एमालेले पहिलो दल बन्नका लागि निरन्तर प्रयत्न जारी राख्यो । दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा नेकपा एमालेले धेरै प्रगति गरिसकेको थियो । पहिलो संविधानसभामा माओवादीको हैसियत कांग्रेस र एमालेको भन्दा दोब्बर भन्दा बढी थियो । तर दोस्रो संविधानसभामा माओवादीको आकार कांग्रेस र एमालेको आधा भन्दा पनि सानो भयो । माओवादीको हैसियत खुम्चिएको फाइदा एमालेलाई गयो ।

नयाँ संविधान अनुसार बनेको स्थानीय तहको संरचना स्थापित गर्न भएको चुनावमा एमाले पहिलो पार्टी बन्न सफल भयो । एमालेका प्रभावशाली पोलिटव्युरो सदस्य विष्णु रिमाल राष्ट्रलाई अप्ठेरो परेको अवस्थामा एमालेले नेतृत्व दिएकोले जनताले आफ्नो पार्टीलाइ रुचाएको बताउँछन् । ‘राष्ट्रियता र सावैभौमसत्ताको रक्षाका लागि एमालेले लिएको अडानलाई जनताले विश्वास गरे । चुनाव जित्ने पहिलो आधार यही हो,’ रिमालले भने, ‘जनता निराशामा रहेको समयमा आशा र सपना देखाउने काम पनि एमालेले गर्र्यो, यद्यपि ती सपना पूरा गर्न बाँकी नै छ ।’

स्थानीय निर्वाचनमा एमालेको पक्षमा जनलहर देखिनुका मुख्य कारण यस्ता छन् ।

1. नाकाबन्दी / ‘राष्ट्रियता’
नेपालमा नयाँ संविधान जारी भएको समयमा भारतले लगाएको नाकाबन्दीपछि उत्तरी छिमेकीसँग पारबहन सन्धी गर्नेलगायत राष्ट्रियताको पक्षमा लिएको अडान नेकपा एमालेका लागि चुनावी बरदान सावित भयो । कांग्रेसले ‘नाकाबन्दी’ भन्न हिच्किचाइरहेको समयमा एमालेले नाकाबन्दीको चर्को विरोध गर्यो र चीनसँग पारवहन सम्झौता गर्यो । काठमाडौं देखि गाउँसम्म एमालेले राष्ट्रियताको मुद्दालाई चुनावमा सशक्त ढंगले उठायो । कतिपयले एमालेको अडानलाई ‘पहाडे राष्ट्रवाद’ या ‘नक्कली राष्ट्रवाद’को आरोप लगाए पनि जनताले एमालेको एजेण्डा अनुमोदन गरिदिए । राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउन भन्दै गरेको मेची–महाकाली अभियान देखि संविधान संशोधन विपक्षमा एमालेले अहिलेसम्म लिएको अडानलाई जनमतले अनुमोदन गरिदिएको छ ।

2. बृद्धभत्ता र सामाजिक सुधार कार्यक्रम
दुइ दशक अगाडि शुरु गरिएको बृद्धभत्ता यसपटकको चुनावमा पनि एमालेका लागि विकाउ एजेण्डा बन्न पुग्यो । आफूले चुनाव जितेको ठाउँमा बृद्धभत्ता बढाउने एमालेको नारालाई अन्य दलले काट्न सकेनन् । ‘बृद्धभत्ता मात्र नभइ लोककल्याणकारी राज्य निर्माणका लागि हामीले गरेका सामाजिक सुरक्षाका अवधारणा र कार्यक्रमलाई जनताले विश्वास गरे’ रिमाल भन्छन् ।

3. बलियो संगठन, नेताको खटाइ
दोस्रो संविधानसभामा पहिलो पार्टी बनेपछि कांग्रेसका शीर्ष नेताहरुको बैठकले निश्कर्ष निकालेको थियो, ‘माओवादी अब हाम्रो प्रतिस्पर्धी रहेन, एमाले नै मुख्य प्रतिस्पर्धी हो । एमालेको संगठन कांग्रेसका लागि मूख्य चुनौती हो ।’ गाउँसम्म चुस्त संगठन नै नेकपा एमालेको लागि चुनाव जित्ने मुख्य आधार बन्यो । उम्मेदवार छनोटमा तुलनात्मक रुपमा पारदर्शी निर्णय पनि एमालेको चुनाव जित्ने आधार बन्यो । ‘संगठन प्राविधिक पक्ष हो, तैपनि हामी क्याडर बेस पार्टी भएकोले संगठनलाई चुस्त बनाउँदा चुनाव जित्न मद्दत पुग्यो,’ रिमालको विश्लेषण छ ।

4. रणनीतिक प्रचार शैली
चुनावी रणनीति बनाउन र प्रचार गर्नका लागि कांग्रेस र माओवादीको तुलनामा एमाले धेरै अगाडि देखियो । परंपरागत प्रचार शैलीका अतिरिक्त सामाजिक सञ्जालको व्यापक प्रयोगमार्फत एमालेले ‘स्मार्ट’ प्रचार शैली अपनायो । आफ्नो पक्षमा भोट दिनेलाई मतदाता नामावलीमा नाम लेखाउन झक्झक्याउने देखि लिएर मत बदर नहोस् भन्नका लागि मतदाता शिक्षा दिने काम एमालेले गर्यो । अन्य दलका नेता समाजिक सञ्जाल (फेसबुक/ट्वीटर)मा सीमित रहँदा एमालेका नेताहरु जनताको घरदैलोमा पुगेर आफ्ना उम्मेदवारको मनोबल बढाउन लागिपरे । राजनीतिमा थकाइ भन्ने हुन्न भन्ने मदन भण्डारीको सिद्धान्त अनुशरण गर्दै एमालेका शीर्ष नेताहरु निरन्तर चुनावमा खटिए ।

5. आक्रामक एमाले, रक्षात्मक कांग्रेस-माओवादी
सरकारको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र रहेपनि राष्ट्रिय राजनीतिमा एजेण्डा स्थापित गर्न प्रतिपक्षमा रहेको एमाले सफल भएको छ । कांग्रेस माओवादीको कमजोर रणनीतिले सत्तारुढ दलहरु लाचार बन्दा प्रतिपक्ष हावी बनेको छ । सरकारका कैयौं निर्णयलाई एमालेले उल्टाइदियो । एमाले अध्यक्ष केपी ओलीले देशका विभिन्न स्थानमा गएर आक्रामक भाषण गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड ओलीको भाषण खण्डन मैसीमित रहे् । जस्तो कि, कांग्रेसको गढ ढलेको बनेपामा गएर ओलीले भाषण गरे, ‘कांग्रेसलाई जनताले कसरी यति धेरै भोट दिए, यो देख्दा आश्चर्य लागेको छ ।’ ओलीको यो कुराको कांग्रेसले खण्डन गर्न सकेनन् । स्थानीय चुनावमा एमाले पहिलो पार्टी बन्नका लागि यी लगायत बहुआयामिक पक्ष निर्णायक बने । स्थानीय तहको चुनावमा पाएको सफलतालाई आधार बनाएर एमालेले अब आफ्नो दृष्टि प्रदेश र संसदको चुनावमा केन्द्रीत गर्ने संकेत गरेको छ ।

– लोकान्तरबाट साभार गरिएको ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।