‘झूटो बोलेर बद्री पंगेनीले जित्न खोज्नुको साटो ‘हो, मबाट एकपटक गल्ती भयो, अब हुन्न’ भन्ने हो भने दर्शक श्रोताले फेरि पनि सम्मान गर्न सक्छन्’

बद्री पंगेनीले बाटो बिराएको दिन

‘बद्री पंगेनी जुवाखालबाटै पक्राउ’ शीर्षकको समाचार सामाजिक सञ्जालमा भाइरल हुन बेर लागेन । सायद पंगेनीले गाएको कुनै पनि गीतको चर्चा यति छोटै समयमा यस्तो साह्रो भएको थिएन होला । ‘मै पनि जुवाडे सही पनि जुवाडे…’ धेरैले यही शब्द राखेर खिसिट्युरी गरे पंगेनीलाई ।स्थानीय तह निर्वाचनमा ‘मै पनि एमाले सही पनि एमाले…’ शीर्षकको गीत गाएका थिए पंगेनीले । त्यही गीतको अर्को अन्तरा बनाइदिए ।

‘मै पनि जुवाडे सही पनि जुवाडे…’प्रायः सबै पार्टीका नेताहरू उपस्थित भएका कार्यक्रममा गाएका छन् पंगेनीले । लोकगीतमा थोरै भए पनि मौलिकता खोजी गर्ने पंगेनीलाई आमकलाकर्मीसमेत फरक आँखाले हेर्छन् । कतिपय राजनीतिक आन्दोलनमा उनी गीतमार्फत सडकमै आएका छन् । दोस्रो जनआन्दोलनमा पनि गणतन्त्रको गीत गाउँदै सडक आन्दोलनमा होमिएका थिए ।

पछिल्लो समय एमालेको विचारबाट प्रभावित भएको धारणा राख्ने पंगेनीले ‘सही पनि एमाले मै पनि एमाले…’ बोलको गीत गाए । पार्टीको भोट माग्दै गीत गाउने पंगेनी पहिलो र एक्लो कलाकार होइनन् । कांग्रेसलाई भोट हालौं, माओवादीलाई छाप लगाऔं वा राप्रपालाई भोट हालौं भनेर धेरै कलाकारले गाएका छन् । फरक यत्ति हो, अरू पार्टीका गीत गाउने कलाकारलाई धेरैले चिनेनन्, पंगेनीलाई सबैले चिने ।‘सही पनि एमाले…’ गाएपछि पंगेनीको प्रशंसक कति बढे थाहा भएन, तर उनको डाह गर्नेहरू घटेको पक्का हो । बद्री पंगेनीको गीत सुनेर रमाउनेहरू पनि अनुहार हेरेर नाक खुम्च्याउन थालेका थिए । एमालेको नामै सुन्न नचाहनेहरूका लागि बद्री पंगेनीको अनुहार देखेर रिस उठ्नु अस्वाभाविक होइन ।

उनले एमालेका लागि गीत गाए । एमालेमा आस्था राख्नेहरू उनीप्रति सकारात्मक भए । जो एमालेलाई भोट दिन चाहँदैन थिए, उनीहरू पंगेनीप्रति नकारात्मक भए । यहीबेलामा समाचार आयो, ‘जुवाखालबाटै लोकगायक बद्री पंगेनी पक्राउ’ । नेपाली समाज ठ्याक्कै दुई वर्गमा विभाजित भयो । सामाजिक सञ्जालमा ह्वारह्वारर्ती टिप्पणी हुन थाल्यो । एकथरीको आशय थियो, ‘पंगेनी संसारकै खराब ।’ अर्कोथरीले काउन्टर दियो, ‘पंगेनीमाथी घोर अन्याय ।’

‘गाना गाएर नाम कमायो, जुवा खेलेर दाम कमायो, बिचरालाई खेल्न दिनुपर्ने नि †’ पंगेनीको विपक्षमा एक जनाले टिप्पणी गरे । काउन्टरमा आयो, ‘यो त अति भो, राष्ट्रका गहना यस्ता कलाकार, जनकलाकारलाई समाउने यो कस्तो प्रहरी । नेपाल प्रहरी मुर्दावाद † प्रधानमन्त्री राजीनामा देऊ ।’

समाचार सार्वजनिक भएपछि टीकाटिप्पणी भइरह्यो । उनका पक्ष र विपक्षमा तर्कवितर्क गर्नेहरूले गरिरहे । पंगेनी मौन थिए, उनी मौन रहँदासम्म केही बिग्रेको थिएन । जब मध्याह्नतिर पंगेनी आफैं बोले । उनको कुराले उनलाई चुर्लुम्मै डुबायो ।

सिनेमा हलमा दर्शक नभेटिए पनि मन परेको निर्माताको फिल्म लाग्दा ‘हाउसफुल’ लेख्न लाज मान्दैनौं हामी । हामीमध्येकै केहीले पंगेनीलाई धेरै माया गरेकै कारण उनी २४ घण्टामा जुवाडे र ढ“टुवाका रूपमा स्थापित भए ।

अहिलेको पुस्ता यति सचेत र जागरुक छ कि कुनै पनि तथ्य लुकाउन सम्भव छैन । गल्ती गरिसकेपछि सचेत पुस्तासँग माफी माग्नुको विकल्प हुन्न । तर पंगेनीले त्यसो गरेनन् । ‘मलाई कसैले केही गरेकै छैन, म जस्ता सज्जनका बारेमा मिथ्या प्रचार गर्ने को ?’ आशयको विज्ञप्ति निकाले ।पंगेनीलाई भित्तामा पु¥याउने सबैभन्दा ठुलो अस्त्र त्यही नै बन्यो । यतिसम्म कि प्रहरी आफैं बोल्न बाध्य भयो, ‘हो हामीले पंगेनीलाई जुवाखालबाटै पक्राउ गरेका हांै ।’

गल्ती गरिसकेपछि मैले गरेको छैन भनेर विज्ञप्ति निकाल्ने पनि पंगेनी एक्ला होइनन् । मात्रै यहाँ त प्रवृत्ति उजागर भएको हो । नेपाली कलाकर्मीलाई यति लबस्तरो बनाउन मिडियाको पनि भूमिका छ । किनकि पंगेनीको विज्ञप्ति समाचार बनाउने मिडियाकर्मीले ‘यो विज्ञप्ति पढेर मान्छेले पत्याउलान् ?’ भनेर एकपटक मात्रै सोचेको भए आज बद्री पंगेनी यति पंगु हुने थिएनन् ।

सिनेमा हलमा दर्शकै नभेटिए पनि मन परेको निर्माताको फिल्म हलमा लाग्दा ‘हाउसफुल’ लेख्न लाज मान्दैनौं हामी । हामीमध्येकै केहीले पंगेनीलाई धेरै माया गरेकै कारण उनी २४ घण्टामा जुवाडे र ढँटुवाका रूपमा स्थापित भए । हिजोजस्तै गल्ती भोलि पनि हुन सक्छ । कतिपय गल्ती जानेर हुन्छ त कतिपय नजानेर । पंगेनी मात्रै होइनन्, आमकलाकारले यो सोच्नु जरुरी छ । सामान्य झूट पनि महँगो हुन सक्छ । त्यसकारण झूटो बोलेर जित्न खोज्नुको साटो ‘हो, मबाट एकपटक गल्ती भयो, अब हुन्न’ भन्ने हो भने दर्शक श्रोताले फेरि पनि सम्मान गर्न सक्छन् ।

– ध्रुव लम्सालको ‘बद्री पंगेनीले बाटो बिराएको दिन’ शिर्षकमा प्रकाशित यो लेख हामीले राजधानी दैनिकबाट साभार गरी प्रकाशित गरेका छौं ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।