नेपाली सिमा हुँदै चिनियाँहरु भारत छिर्न सक्ने भन्दै भारतीय सुरक्षाकर्मी दसगजा क्षेत्र नाघेर नेपाली भूमिमै गर्न थाल्यो खानतलासी

रुपन्देही, चीन र भारतबीच दोक्लाम सिमामा भएको विवादपछि भारतीय सुरक्षाकर्मीले नेपाली सिमा नाकामा कडाई गरेका छन्। नेपाली सिमा हुँदै चिनियाँहरु भारत छिर्न सक्ने संभावित त्रासका कारण भारतीयहरुले सिमाक्षेत्रमा कडाई गरेका हुन्।

भारतको अर्धसैनिक दस्ता सशस्त्र सिमा बल (एसएसबी) ले रुपन्देहीको दसगजा क्षेत्र नाघेर नेपाली भूमिमै चेकजाँच गर्न थालेको छ। भारतीय सुरक्षाकर्मीले नेपालबाट भारत प्रवेश गर्ने सर्वसाधारण, नेपाली गाडीलाई बढी चासो दिएर खानतलासी गर्न थालेका छन्।

‘भारतीय प्रहरीले अनावश्यक रुपमा सोधपुछ गर्ने र खानतलासी गर्ने रहेछ,’ बुटवलबाट सुनौली बजारमा सामान किन्‍न गएका सबिन अधिकारीले भने,‘यसअघि एकदमै खुल्ला हुने सिमानाका अहिले एकदमै कडा पारिएको छ।’ भारतीय सुरक्षाकर्मीले चेकजाँचको निहुँमा नेपालतर्फको बेलहिया नाकानजिकै आएर खानतलासी गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजा क्षेत्रमा कुनै पनि मुलुकको सुरक्षाकर्मीले प्रवेश गरेर खानतलासी गर्न पाउँदैनन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्न नपाउने बताए। ‘भारतीय सुरक्षाकर्मीहरु नेपाली भूमिमा आएर चेकजाच गर्नु गलत हो, उनले भने,‘भारतीय सुरक्षाकर्मीसँग छलफल गरेर समाधान गर्न आग्रह गरिसकेको छु।’ नेपाली प्रहरीसँग कुराकानीका लागि सिमा क्षेत्रमा आउने पाए पनि चेकजाँच गर्ने अनुमति नहुने उनले बताए।

भारतीय सुरक्षाकर्मीले सुनौलीसँगै अन्य खुला सिमामा समेत निगरानी बढाएका छन्। कर्कहवा नाकामा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाई गरेका छन्।रुपन्देही मात्रै नभई कपिलवस्तु र नवलपरासीका सीमा क्षेत्रमा पनि भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। भारतीय बजारमा किनमेल गर्न जानेलाई सास्ती खुला सिमा भएकाले नेपालीहरु भारतीय बजारमा किनमेलका लागि जाने गरेका छन्। किनमेलमा जाने सर्वसाधारणहरुले कडा चेकजाँचले समस्या हुने गरेको बताउँदै आएका छन्। सुरक्षाकर्मीले चेकजाचमा कडाई गरेकाले लोड गाडीहरु समेत भित्रिएका छैनन्। जसका कारण औद्योगिक सामग्री बोकेका भारतीय गाडी तीन दिनदेखि लाइनमा लागेका छन्।

४ किलोमिटरसम्म लागेको गाडीको लाइनका कारण नेपालतर्फको सिमानाका बेलहिया क्षेत्र समेत अस्तव्यस्त भएको छ। भारत फर्किनका लागि लाइन लागेका गाडीका कारण भारतबाट नेपालतर्फ सामान लिएर आउने गाडीसमेत जाममा फसेका छन्। भैरहवा भन्सार कार्यालयका अनुसार, सामान्य अवस्थाको तुलनामा हाल दैनिक करिब १ सय मालवाहक गाडीको आगमन घटेको छ।

भन्सार कार्यालयका सूचना अधिकारी गोपाल भट्टराईले भारतीय पक्षबाट सुनौली नाकामा मात्र हुन थालेको कडा चेकजाँचले आयात निर्यात प्रक्रियामा असर पार्न थालेको बताए। के हो दोक्लम विवाद ? भूटान र चीनको सिमानामा पर्ने दोक्लम क्षेत्रलाई दुबै देशले आफ्नो भूभाग भएको दाबी गर्दै आएका छन्। भारतले यस क्षेत्र भूटानको रहेको दाबी गर्दै आएको छ।

यहाँ रहेको भारतीय सेनाको पुरानो बङकरलाई चीनले बुल्डोजर लगाएर गत जुन २८ तारिखमा भत्काइदिएको थियो। त्यसपछि बढ्दै गएको विवादका कारण चीन र भारत दुबैले यस क्षेत्रमा उच्च सतर्कताका साथ सेना परिचालन गरेका छन्। दुई देशबीच यही विषयलाई लिएर पछिल्लो समय विवाद चलिरहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।