भिरमाथिबाट ढुङ्गा खसेर चोट लाग्दा मोवाइलले जोगायो आशाको ज्यान !

काठमाडौँ। भिरबाट खसेको ढुङ्गाले चोट लाग्दा अचेत भएकी आशा विकको ज्यान मोवाइल फोनले जोगाएको छ । डोल्पाका चिकित्सक र काठमाडौँमा रहेका विशेषज्ञ चिकित्सकको आपसमा वार्ता हुँदा आशा विकको ज्यान जोगिएको हो ।

भिरबाट खसेको ढुङ्गाले चोट लाग्दा अचेत भएकी आशाको रक्तश्राव रोक्न काठमाडाँैका चिकित्सकले तरिका बताएपछि ज्यान बचेको हो । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन प्रा डा श्रीकृष्ण गिरीले विदेशी मुलुकले प्रयोगमा ल्याइसकेको ‘टेली मेडिसिन’ उपचार पद्धति जस्तै काठमाडौँका विशेषज्ञ चिकित्सकले डोल्पाका चिकित्सकबीचको यो प्रयोग प्रभावकारी भएको बताए ।

यही १४ गते सुलीघाट आर्मी ब्यारेक दुनै डोल्पा नजिक गिट्टी कुट्दै गर्दा माथिबाट ढुङ्गा खसेर घुँडामा ठूलो चोट लाग्दा गम्भीर घाइते भएकी आशा जिल्ला अस्पताल डोल्पा ल्याउँदा अचेत थिइन् । उनलाई घाइते भएको चार दिनमा काठमाडौँ ल्याइएको हो ।

जिल्ला अस्पताल डोल्पाका चिकित्सक डा सूर्य खड्काले उपचार सम्भव नहुने देखेपछि स्वास्थ्य मन्त्रालयमा खबर गर्दा संयोगले मन्त्रीसँगै रहनुभएका वरिष्ठ अर्थोपेडिक सर्जन प्रा डा श्रीकृष्ण गिरीसँग सम्पर्क हँुदा टेलिफोनमार्फत प्रारम्भिक उपचार सम्भव भएको थियो ।

प्राडा गिरीले भने, “उक्त समयमा मसँग कुरा नभएको भए बिरामीको रक्तश्राव रोक्न सम्भव थिएन, रक्तश्राव नरोकि हेलिकप्टरमा ल्याएको भए ज्यान बचाउन सकिने थिएन, डोल्पाका चिकित्सकले नै बिरामीको जीवन रक्षा गर्न सम्भव बनाउनुभएको हो, मैले उपाय मात्र बताएको हुँ ।”

रुकुम स्थायी घर भएकी आशा मजदुरीका लागि दुनै पुगेकी थिइन् । आर्थिक अभावले उनलाई जिल्ला अस्पतालको पहलमा स्वास्थ्य मन्त्रालयमार्फत गृहलाई आग्रह गरी दुनैबाट सुर्खेत, नेपालगन्ज हुँदै गत मंगलबार बेलुका काठमाडौँ ल्याइएको हो ।

मंगलबारबाटै आशाको उपचार ट्रमा सेन्टरमा सुरु भएको छ । प्रा डा गिरी नेतृत्वकै चिकित्सकीय टोली उपचारमा संलग्न छन् । पहिलो शल्यक्रिया मंगलबार नै भएको छ । उनको पटकपटक गरी कम्तीमा छ÷सात पटकसम्म शल्यक्रिया गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

ट्रमा सेन्टरका प्रमुख प्रमोद उपाध्यायका अनुसार आशाको उपचारमा लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरिएको छ । औषधिका लागि पनि पहल भइरहेको अस्पतालले जनाएको छ । ढुङ्गाले थिच्दा घुँडाको नजिकको भागको हड्डी टुक्राटुक्रा भएको छ भने भित्री चोट पनि लागेकाले मुख्य शल्यक्रिया गरी उपचार गर्नुपर्ने प्रा डा गिरीले बताए ।

“ठूलो घाउ छ, पटकपटक गरी शल्यक्रिया गर्नुपर्छ, खुट्टा बाँच्छ तर काम गर्छ कि गर्दैन भन्ने अहिले नै भन्न सकिन्न, उपचारको नतिजा हेर्दै अगाडिको उपचार गर्नुपर्ने अवस्था छ”– प्रा डा गिरीले भने ।

दुर्गम क्षेत्रका बिरामीको स्थानीय अस्पतालमा उपचार सम्भव नभएकाले समयमै सुविधासम्म ल्याउँदा लाग्ने बीचको समयमा गरिनुपर्ने प्राथमिक उपचार पनि नहुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । डा गिरीले उपचारमा आएको जटिलताबारे केन्द्र र मोफसलका चिकित्सकबीच सम्पर्क, समन्वय हुनसकेमा धेरै बिरामीको अकालमा हुने मृत्यु रोक्नसम्भव हुने उदाहरण आशाले भएको बताए ।

सरकारले केन्द्र र मोफसलमा कार्यरत चिकित्सकबीचको सहकार्यको वातावरण मिलाउन आवश्यक रहेको उनको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।