काठमाण्डौका कोठाकोठामा खराब काम हुन्छन्, अब सिसि क्यामेरा राखिन्छ : गृहमन्त्री
काठमाण्डौ, २० साउन । गृहमन्त्री जनार्दन शर्माले काठमाण्डु उपत्यकामा बढ्दै गएको विकृति र विसंगतिलाई ‘धुलो’ को संज्ञा दिँदै त्यस्तो धुलो आफूले हटाएर देखाइदिने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शर्माले उपत्यकामा भरिएको विकृतिको धुलो हटाउने प्रतिवद्धता जनाए । उनले विकृति अन्त्यका लागि प्रहरीलाई जनताको साथ चाहिने स्पष्ट गरे । ‘म काडमाण्डुमा भरिएको विकृति र विसंगतिको धुलो हटाउँछु’, उनले भने, ‘त्यसका लागि प्रहरीलाई जनताको साथ चाहियो ।’ शर्माले काठमाण्डुको सडकमा मात्र नभई घरका कोठाकोठा विकृतिको धुलोले भरिएको टिप्पणी गरे ।
‘धुलो सडकमा मात्र छैन, घरका कोठाकोठामा छ’, उनले भने, ‘नागरिकको सहयोगमा ती सबै विकृतिका धुलो सफा पार्न गृह प्रशासन प्रतिबद्ध छ ।’ शर्माले आफ्ना टोलमा भए गरेका खरब गतिविधिका सूचना गृह प्रशासन र प्रहरीलाई दिन पनि काठमाण्डुबासीलाई अपिल गरे । ‘तपाईंहरु नराम्रा गतिविधिका सूचना दिनुस, प्रहरीले ठीक पार्छ’, उनले भने ।
नागरिकको सहयोग बिना प्रहरीको एक्लो प्रयासले शान्ति सुरक्षा कायम गर्न कठिन हुने चर्चा गर्दै मन्त्री शर्माले राजधानीमा जनताले ढुक्कसँग सास फेर्न सक्ने अवस्थाका लागि काम गरिरहेको दाबी गरे । शर्माले राजधानीका सबै टोल र गल्लीमा सिसि क्यामेरा जडान गर्ने योजनामा गृह प्रशासन रहेको समेत जानकारी दिए ।


