‘गलत तरिकाले चुनाव जित्न सकिन्छ तर जनताको मन जित्न सकिन्न’ : शान्ता चौधरी

स्थानीय तहको अहिलेसम्मको सबैभन्दा रोचक र सबैको ध्यान केन्द्रित भएको भरतपुर महानगरपालिकाको चुनावमा मेयरमा रेणु दाहाल विजयी हुनु भएको छ । उहाँलाई हार्दिक बधाई छ । जनताको यो निर्णय म ह्रदयदेखि स्वीकार गर्दछु । किनभने म लोकतन्त्रवादी हो । जनताको मतको निर्णय स्वीकार गर्नु मेरो राजनीतिक धर्म हो ।

हिजो मतगणना भइरहँदा फेरि पनि मतपत्र च्यातिन सक्छ कि भनेर मलाई चिन्ता लागिरहेको थियो । रेणुजीले नजितेसम्म मतपत्र च्यातिइरहने र पुन मतदान भइरहने त होइन भन्ने आशंकाले सबै लिएका थिए । तर, मतगणना भइरहँदा रेणु दाहालजीले देवी ज्ञवालीसँगको मत अन्तर छोट्याउनुभयो । रेणुजीको भोट धेरै आउन थालेपछि म ढुक्क थिएँ अब मतपत्र च्यातिँदैन भनेर ।

एमाले उम्मेदवार देवी ज्ञवालीको तर्फबाट कुनै पनि हालतमा मतपत्र नच्यातिने ग्यारेन्टी थियो । रेणुजीको तर्फबाट पनि च्यात्न पर्ने अवस्था देखिएन । बरु रेणुजीले नै जित्नुभयो ।
२० नम्बर वडाको मतगणना हुँदा रेणुजीले अग्रता लिनुभयो । उहाँले अग्रता लिएपछि मतपत्र च्यात्नुपर्ने अवस्था रहेन । उहाँले जित्नुभयो । उहाँलाई पनि बधाई, उपमेयर नेपाली कांग्रेसकी पार्वती शाहलाई पनि बधाई । महिला मेयर र उपमेयरको जोडिले नमूना काम गरेर देखाउन पनि शुभकामना दिन्छु । मलाई त रेणुजीको विजयमा उहाँकी पिताजी श्री पुष्पकमल दाहाल प्रचण्डलाई झन धेरै बधाई दिन मन लागेको छ । किनभने प्रधानमन्त्री पदमा रहँदा र हटिसकेपछि दुवै अवस्थामा उहाँले ठूलो मिहिनेत र बुद्धि लगाउनु परेको छ छोरी रेणुलाई जिताउने कार्यको लागि ।

भरतपुरको पुन मतदानले निर्वाचनको विश्वसनीयतामा प्रश्न उठाएको छ । मतपत्र च्यात्ने पक्षले नै जित्न पाएको छ । रेणुजी या अरु कसैप्रति म व्यक्तिगत आक्षेप लगाउँदिन तर रेणुजीको विजयले धेरै प्रश्न उठाएको छ । मतपत्र च्यातेर पुन मतदान गराउन सकिने नजिर बसेको छ । जुन शैली र प्रवृत्ति प्रयोग गरेर रेणुजी तथा उहाँको पार्टीले भरतपुरमा जितेको छ, यसले भोलि उहाँहरुलाई पनि सिकार बनाउन सक्छ । किनभने गलत प्रवृत्ति स्थापित गरियो भने भोलि त्यस्तो प्रवृत्तिले आफैलाई पनि खान्छ ।

मतपत्र नच्यातिएको भए भरतपुरमा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्नुहुने रहेछ । मतपत्र च्यात्ने घृणित कार्यको सिकार देवी ज्ञवाली बन्नुभएको छ र मतपत्र च्यातेर स्पष्ट रुपमा रेणुजीले लाभ पाउनुभएको छ । यसले लोकतन्त्र र निष्पक्ष निर्वाचनको मर्ममा चोट पुराएको छ । मतपत्र च्यातेर पुन मतदान गराउन सकिने प्रवृत्ति अब दोहोरिन दिनु हुँदैन । यसका लागि कानुन संशोधन गर्नुपर्छ । यस्तो कानुनी अवस्था संशोधन गर्न माओवादी केन्द्र सहमत हुनुपर्छ ।

अन्त्यमा म माओवादी केन्द्र सहित सबै राजनीतिक दललाई स्वच्छ र निष्पक्ष निर्वाचनप्रति प्रतिवद्ध बन्न हार्दिक आग्रह गर्दछु । गलत तरिका अपनाएर चुनाव जितेर पदमा पुग्न त सकिन्छ तर जनताको मन जित्न सकिँदैन । गलत तरिकाले विजयी भए पनि सहि काम गरेर जनताको मन जित्न रेणुजीलाई हार्दिक आग्रह गर्दछु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।