‘रेणुले ढोकाबाट होइन झ्यालबाट चुनाव जितेको हो, त्यसैले अलिअलि लाज पनि लागेको होला…’ : मनिता घिमिरे

मतपत्र च्यातेकोमा माफी माग्नु भन्दै खुला पत्र लेखेर रेणु दाहाललाई कडा प्रहार गरेकी कांग्रेस नेतृ मनिता घिमिरेले रेणुलाई अर्थपूर्ण बधाई दिएकी छिन् ।

मनिताको बधाईमा भनिएको छ, ‘तपाईंले ढोकाबाट होइन झ्यालबाट चुनाव जितेको हो, त्यसैले अलिअलि लाज पनि लागेको होला । नलजाउनुस्, राम्रो काम गर्नुभयो भने कलंक अवश्य मेटिनेछ ।’

पार्टी संस्थापनको लाइन विपरित अभिव्यक्ति दिने र लेख्ने काम गरिरहेकी मनिता अगाडि लेख्छिन्, ‘मतपत्र च्यात्ने काम तपाईंको पार्टीले गरेकै हो, यो अपराधमा तपाईंलाई जनताले दण्डित गरेनन्, किनभने तपाईंको साथमा नेपाली कांग्रेसका इमानदार कार्यकर्ताहरु थिए ।’

मनिताको वक्र तरिकाको शुभकामनाको विवरण :
मतपत्र च्यातेर पुन मतदान गर्ने परिवन्द रेणु दाहालको लागि वरदान सावित भयो । मतपत्र च्यात्ने कार्य नै उहाँको विजयको मुख्य कारण बन्यो । भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएकोमा रेणु दाहाललाई हार्दिक बधाई ।

हाम्रो पार्टी नेपाली कांग्रेसको काँधमा बसेर तपाईं विजयी हुनुभएको हो, त्यसैले खुसी छु । मेयर र उपमेयर दुवै महिला हुनुभएकोमा झन धेरै खुसी छु । मतपत्र च्यातेर आफ्नो पार्टीले गरेको अपराधमा तपाईंले माफी मागिदिनुभएको भए अझै धेरै भोट ल्याउनुहुन्थ्यो होला । तपाईंले माफी माग्नुपर्छ भनेर मैले खुल्ला पत्र मार्फत सुझाव पनि दिएकी थिएँ तर मान्नुभएन ।

अब पनि तपाईंले माफी माग्नुपर्छ । किनभने मेयर पद भनेको अभिभावक हो । अभिभावकले बाटो बिराउनु हुँदैन । तपाईंले महानता देखाउनुपर्छ । माफी मागेर सानो भइँदैन, बरु, आगामी दिनमा काम गर्न सजिलो हुन्छ । मतपत्र च्यात्ने काम तपाईंको पार्टीले गरेकै हो, यो अपराधमा तपाईंलाई जनताले दण्डित गरेनन्, किनभने तपाईंको साथमा नेपाली कांग्रेसका इमानदार कार्यकर्ताहरु थिए ।

अब तपाईंको काँधमा मतपत्र च्यातेर लागेको कलंक मेट्ने जिम्मेवारी छ । यसको लागि तपाईंले भरतपुर नगरलाई विकास र सुशासनको नमूना बनाउनुपर्छ । तपाईंको साथमा उपमेयर पार्वती शाह हुनुहुन्छ, उहाँको पूर्ण सहयोग र समर्थनमा काम गर्नुस् । त्यसैगरी मेयर भएँ भन्दैमा नमात्तिनुस्, हाम्रो देशमा पावरमा पुगेपछि मात्तिने चलन छ । यो चलनबाट जोगिनुस् ।

महानगर परिषदमा तपाईंको पार्टीको बहुमत छैन । कांग्रेस र एमालेलाई साथमा लिएर चल्नुस् । चुनाव जित्नुभएको छ, अब पार्टीको घेराभन्दा माथि उठेर साझा बन्नुस् ।
मतपत्र च्यातेको कलंक मेट्न माफी मागेर मात्र पुग्दैन, निर्वाचन प्रणाली र पद्धति सुधार गर्न र राजनीतिक नैतिकता स्थापित गर्न अगुवाई गर्नुहोस् ।

तपाईंले ढोकाबाट होइन झ्यालबाट चुनाव जितेको हो, त्यसैले अलिअलि लाज पनि लागेको होला । नलजाउनुस्, राम्रो काम गर्नुभयो भने कलंक अवश्य मेटिनेछ । तपाईको पार्टीले १७ हजार मानिस मारेको कलंक बोकेको छ तैपनि लजाएको छैन । हाम्रो पार्टी नेपाली कांग्रेसले पनि इतिहासमा धेरै गल्ती गरेको छ तर हामी गल्तीबाट सिक्दै अगाडि बढ्यौं ।

तपाईंको पार्टी चाहिँ ज्यानमारा राजनीतिबाट मतपत्र च्यात्ने राजनीतिमा आइपुग्यो । अब लोकमत र जनताको बहुमत सहर्ष स्वीकार्ने काम गर्नुहोस् ।
मतपत्र नच्याति तपाईंले जित्नुभएको भए कति राम्रो हुन्थ्यो होला तर अब त्यो गल्ती सच्याउने उपाय भनेको राम्रो काम गरेर देखाउने हो ।

राम्रो काम गर्न सक्नुभएन भने प्रचण्डको छोरी भएकोले मात्र तपाईं मेयर बन्न सफल भएको मानिनेछ । त्यसैले राम्रो काम गर्न र जनता सबैको हाम्रो बन्न शुभकामना ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।