जनताका भगवान गोविन्द के.सी. मर्दैनन्, मृत्यु नकुरे हुन्छ !

अरुले जस्तै मैले पनि सोच्थेँ: डा.के.सी.ले अघिल्ला अनसनहरुमा झैँ यसपटक लामो समयसम्म अनसन बस्न नपर्ला देशमा लोकतान्त्रिक भनिएको सरकारको शासन छ। लोकतन्त्रमा विश्वास राख्ने नेपाली कांग्रेस पार्टीका सभापति देशका प्रधानमन्त्री छन्। जनताको आवाज सुनिएन बोल्न,लेख्ने र जनताको मौलिक हक-अधिकार कुण्ठित पार्यो र जनताहरुलाई नारायणहिटीले अधिकार दिएन त्यसैले प्रजातान्त्रिक पद्धतिबाट जनताको आवाज तत्काल सुन्ने शासन चाहियो भन्दै बन्दूक उठाएर मुलुकको दुई पटक प्रधानमन्त्री भईसकेका प्रचण्डको पार्टी सत्ता साझेदारको रुपमा सरकारमा छ। त्यसैले केही दिन भित्रमा त पक्कै के.सी.ले उठाएका मागको सम्बोधन गर्लान् त भन्ने आशा थियो। तर आज अनसनको सत्रौ दिन वितिसक्दा पनि केसीको मागको सुनुवाई कहि कतै भएन।

लेखक – राम ढुंगाना

डा. गोविन्द केसीले जनताको विरुद्ध लडेका होइनन्, देशद्रोह गरेका छैनन्। आन्दोलनको नाममा अराजकता मच्चाएका छैनन्। जनताहरुलाई दु:ख कष्ट पुर्याउँने काम गरेका छैनन्। उनी करोडौं गरिब नेपाली जनताहरुको पक्षमा आफ्नो ज्यान जोखिममा हालेर लडिरहेका छ्न। नि-स्वार्थ र बुद्ध मन लिएर।

के.सी कुनै अमूक पार्टीको निर्देशनमा हठात् र रहरले ११ औं पटक अनसन बसेका होइनन्। उनको माग कुनै नयाँ पनि होइन।के.सी पटक-पटक ज्यान दाउमा लगाएर अनसन बस्छन्,तर लोकतान्त्रिक भनिएका सरकारले नेपालको चिकित्सा क्षेत्र सुधार सम्बन्धि उनले उठाएका माग पुरा गराउने आश्वासन दिन्छ,सहमति गर्छ उनले अनसन तोड्छन्। तर सत्तामा बसेकाहरु मेडिकल माफियाको डरले के.सीसँग गरिएका सम्झौंताहरु कार्यान्वयन गर्दैन र के.सी.को अनसन दोहोरिरहन्छ।

डाक्टर के.सी अविवाहित हुन्। उनको कुनै सन्तान् छैनन्। उनीमा लोभलालच फिटिक्कै छैन। सादा जीवन बिताउँछन्। पैसा,शक्ति र प्रतिष्ठाको लालची छैनन् ।मात्रै उनमा एउटा स्वार्थ छ। गरीब जनताहरु पैसाको अभाबमा उपचार नपाएर मर्न नपरोस्।

के हो डा.केसीको माग ?

केहिलाई के भ्रम परेको छ भने के.सीको माग व्यक्तिगत हो। उनी लहडमा र कसैको उक्साहटमा परेर अनसन बसेका हुन्। तर यो भ्रम अहिल्यै तोडिदिऊँ। के.सीको माग व्यक्तिगत पनि होइन र उनी कसैको उक्साहटमा र कुनै व्यक्ति र संस्था प्रति लक्षित माग लिएर अनसनमा उत्रिएका पनि होइनन्।

यत्ति बुझौँ:डा. के.सी हामी सर्वसाधारण गरीब जनताहरुको लागि आफ्नो ज्यान दाउमा राखेर हाम्रै सुविधाको निम्ति निस्वार्थ लडिरहेका हुन्।सारांशमा भन्दा उनले गरीब जनताका जेहेन्दार छोराछोरीले पनि डाक्टर पढ्न र बन्न पाउने हैसियत राखून् र सर्वसाधारणले पैसाको अभावमा उपचार नपाएर मर्न पर्ने दिन नआओस् र स्वास्थ्य जस्तो संवेदनशील र जनताको प्रत्यक्ष जीवनसँग जोडिएको कुरामा माफियाहरुको चलखेल नहोस्।के.सीले उठाएका सबै माग साधारण रुपमा बुझ्दा यत्ति नै हो ।

किन चाँहदैन सरकार र राजनितिक दलका नेताहरु केसीको माग सम्बोधन गर्न ?

डा. के.सी.को ११ औं पटकको अनसन हो।अनसन आज १७ दिनमा पूगिसकेको छ। यस्तो संवेदनशील बिषयमा उनको ज्यानै जान लागिसक्दा पनि सरकारको कानमा बतास छिरेको छैन। सरकार मूर्छित अवस्थामा छ।

यदि सत्ता र शक्तिको खेल थियो भने रातारात यि राजनीतिज्ञहरु नसुतेरै दौडधुप गर्थे। सत्ताको लागि रातारात भारत पूग्छन् ,दुताबास धाउँछन् । तर जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका मुद्धामा अन्धो,बहिरो र लाटो बनिदिन्छन्।

प्रष्ट छ: यथास्थितिवादी सबै राजनितिक दलको साँठगाँठ मेडिकल माफियाहरु सँग छ। गरीब जनताको रगत-पसिना चुसेर कमाएको पैसाहरु सबै दल र तिनका नेताहरु सम्म पुगेको छ। त्यसैको बलमा चुनाब लड्छन् र सत्तामा पुग्छन्। उनीहरुको मेडिकल माफिया सँग नङ र मासुको झैँ सम्बन्ध छ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफैँमा सम्पन्न राणा खानदानका ज्वाँई हुन्। उनले सत्ताको दूरुपयोग गर्दै सम्पत्ति जोडेका पनि होलान्। उनका एउटा मात्रै छोरा लण्डनमा पढ्छन्। अरुकै मिर्गौलाले बाँचेका ओलीको कुनै सन्तान् छैनन्, उनी आफ्नो उपचार गराउन गरीब जनताले तिरेको करले थाइल्याण्ड पुग्छन्। उनलाई आफ्ना सन्तानले दु:ख पाउलान् र र आफुले दु:ख पाइएला भन्ने चिन्तै भएन। त्यस्तै सर्वहारा जनताको प्रतिनिधि पार्टी भनेको माओवादी केन्द्रका अध्यक्षसँग अकूत सम्पत्ति छ भनिन्छ। उनी आफ्नो श्रीमतीको उपचार थाइल्याण्ड र सिंगापुरमा गएर गराउँछन्। उनलाई पनि आफ्ना गरिब सन्तान पैसाको अभाबमा उपचार नपाएर मर्लान् भन्ने पिर-चिन्ता भएन। त्यसैले सबैलाई के.सी.को माग घाँडो भएको छ। र उनको मागको सुनुवाई गर्न जरुरी ठान्दैनन्।

युवा नेताहरु कता सुतेका छन् ?

अचम्म त यो छ, पूराना दलका युवा पुस्ताका आशालाग्दा र राजनीति गर्ने अनि प्रगतिशिल विचार बोक्ने भनिएका युवा राजनितिज्ञहरु ,योगेश भट्टराई, विश्वप्रकाश शर्मा, गोकर्ण विष्ट,रविन्द्र अधिकारी लगायतका कुनै पनि नेताहरु के.सी. को मागमा गम्भीर भएका देखिदैनन्। के.सीको मागको सम्बोधन गर्न आफ्नो पार्टीको बैठकमा,संसद र बाहिर आवाज उठाएका छैंनन् ।हुनसक्छ के.सीको मागमा आवाज उठाउँदा माफियाको पैसाले पोल्ने डर होला ? यिनीहरु दलको दलदलमा फँसेका छन्, यिनीहरुको स्कूलिंग नै गलत छ, यिनीहरु अल्पमतमा छन्। मरेको रुखबाट फलकों आश गर्नु र यी पार्टीबाट जनताको हितमा काम हुन्छ भन्नु उस्तै हो।

कथित ऋतिक रोशन काण्डमा आफ्नैं देशको भौतिक सम्पत्ति तोडफोड गर्ने उदण्ड प्रदर्शन गर्ने कुनै पनि राजनीतिक दलका भातृसंगठनहरु किन मौन छन् ? किन बोल्दैनन् ? कि पार्टीका नेताहरुले नबोल्न आदेश दिएका हुन् ?

के.सी जस्तो महान् व्यक्ति हाम्रो देशमा जन्मिनु हाम्रो सौभाग्य मान्नुपर्छ। उनलाई कलियुगमा जन्मिएका भगवान् मान्दा हुन्छ। आज उनी जीवनमरणको दोसाधमा छन्। अरुको सुविधाको लागी हाँसी खुसी ज्यान दिन तयार छन् । तर दुर्भाग्य उनको कुरा प्रजातान्त्रिक शासन पद्धतिमा चल्ने भनिएको सरकारले सुनेन।

अनसनले मेडिकल माफियाहरु सँग मिलेर कमाई खाने बाटो बन्द गरिदिन लागेकोमा सरकार विपक्षी दल र ठूला भनिएका नेताहरु त्रसित छन्।

यिनीहरु न्याँय मागेर अनसन बस्दा- बस्दै मरेका नन्दप्रसाद झैं केसीलाई पनि अनसनमै मर्न दिएर सधैँको लागि कमाई खाने बाटो खुल्ला पार्न चाहान्छन्। उनीहरुको यसमा मिलेमतो र आन्तरिक सहमति छ। केसीलाई अनसनमै सिध्याउने ! न रहे बास न रहे बाँसुरी भनेझैँ ।

तर डा. के.सी. एक्लै छैनन्। उनलाई केही भई हाल्यो भने पनि लाखौ जनताले उनको त्यागको लागि जे पनि गर्न सक्नेछन्। माफ़ियाहरु हो ! डा. के.सी.को हैन तिम्रो माफियातन्त्रको मलामी जाऊ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।