बाढीपहिरोले देशभरको जनजीवन कष्टपूर्ण, देशभरमा बाढी पहिरोमा परि ५१ जनाको ज्यान गयो १२ बेपत्ता

काठमाडौं । लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ५१ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । आज बिहानसम्म मलुकका १३ जिल्लाहरु पाँचथर, सिन्धुली, मोरङ, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर, सुर्खेत, रौतहट र पाल्पामागरी ५१ जनाको मृत्यु भएको गृहमन्त्रलायले जनाएको छ ।

मन्त्रालयले बाढीपीडितहरुको खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेकालाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुलगायत सबैमा अपिल गरेको छ ।

नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ–आफनो तर्फबाट उच्च सतर्कता अपनाउन पनि गृहले अपिल गरेको छ । खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको गृहमन्त्रालयले बताएको छ ।

बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो ।राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताउनुभयो । मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् ।जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीय आरजु आलमले बताउनुभयो ।

पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।

सुर्खेतको गुर्भाकोटमा ३ जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती विक्रम बुढा र १२ वर्षीय सरन बुढा छन् । गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार बिहान निकालेको थियो ।यता, रत्नराजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सवारी आवगमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो। सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास बिहानैबाट सुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

बाढीपहिरोले देशभरको जनजीवन कष्टपूर्ण

बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।तराईका अधिकांश जिल्लामा सडक बगाउँदा यातायात अवरुद्ध भएको छ भने खानेपानी, बिजुली, टेलिफोन सेवाहरु अवरुद्ध भएका छन् । बाढीका कारण पुर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, धनुषा, बारा, नवलपरासी, दाङ लगायत जिल्लाका हजारौं घर डुबानमा परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।