निरन्तर वर्षाका कारण मोरङमा १९ जनाको शव भेटियो, झापामा ११ को मृत्यु, ४ बेपत्ता, पूर्वी नेपालको मौसममा सुधार
निरन्तरको वर्षाका कारण मोरङमा १९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमबारसम्म १९ जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । वर्षा रोकिएपछि बाढीले बगाएर मृत्यु हुनेहरूको शव भेटिन थालेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।
सोमबर मात्रै १३ जनाको शव भेटिएको उनले जानकारी दिए । मृतकमध्ये १४ जनाको पहिचान भइसकेको छ । भारतमा शव भेटिएका सातमध्ये चारजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रेल्वे स्टेसननजिकै मंगोलियन अनुहार भएका एक पुरुष र तीन महिलाको शव फेला परे पनि उनीहरूको सनाखत हुन नसकेको बिसीले बताए ।
गत शनिबार दिउँसोबाट बेपत्ता भएकामध्ये विराटनगर–१३ का रोशन लुइँटेल र मनोज पासवान तथा विराटनगर–१२ का निश्चल घिमिरेको शव भारत जोगबनीको रेल्वे स्टेसननजिकै फेला परेको हो ।
भारतको जोगवनी १० टिकुलिया वस्तीका शिवनाथ साहको शवसमेत सोही स्थानमा भेटिएको थियो । जोगवनीस्थित रेल्वे स्टेसनको पश्चिमतर्फको पोखरीमा तैरिरहेको अवस्थामा शवहरू भेटिएको थियो । नेपालतिरबाट खोला र भेलले बगाएर अझै धेरै मानिसहरू भारततर्फ पुगेको हुन सक्ने अनुमान छ । विहार प्रहरीको सहयोगमा पार्थिव शरीर मोरङ ल्याइएको छ ।
बाढीमा परेर जिल्लाका गोपीमाया तामाङ, गंगाराम खतिवडा, मीनबहादुर थापा, बुद्धिमाया लिम्बू, किसन महतो, अरूलिया ऋषिदेव, उमेश नेपाल, धीरज माझी र सानुमाया राईको शव यसअघि नै भेटिएको थियो । भारी वर्षा रोकिएपछि पानीको सतह कम हुन थालेको छ । जसले गर्दा बगेर बेपत्ता भएकाहरूको शव भेटिन थालेको हो ।
पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति मोरङमा भएको छ ।
प्रहरीका अनुसार जिल्लामा आठ हजार पाँच सय घर डुबानमा परेका छन् । तीमध्ये आधा परिवार विस्थापित भएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र विराटनगर, रतुवामाई, केराबारी, मधुमल्ला, सुन्दर हरैँचालगायत स्थानमा राहत वितरण गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिले तयारी गरेको छ ।
पूर्वी नेपालको मौसममा सुधार
पूर्वी नेपालमा मौसममा क्रमिक सुधार आउन थालेको छ । वर्षा रोकिएकाले यस क्षेत्रको जनजीवन केही सामान्य बनेको छ । तर, विद्युत् र खानेपानी अझै सुचारु हुन सकेको छैन । पूर्वमा विद्युत् वितरण गर्ने सुनसरीको दुहबी ग्रिडमा अझै पनि पानी जमेकाले विद्युत् सुचारु हुन नसकेको हो ।
देशभर मध्यमखालको वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी, मध्य र पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् राजु प्रधानांगले बताए । उनका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली अघिल्लो दिनको तुलनामा कमजोर हुँदै गएको छ । तर, पश्चिम नेपालमा भने कमजोर हुन अझै केही समय लाग्नेछ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले ठूलो वर्षा नभए पनि पानी पर्ने क्रम नरोकिने भएकाले जोखिम कायमै रहेको बताएको छ । शाखाले सोमबार दिउँसोसम्म जोखिम कायमै भएकाले सतर्क रहन सुझाएको छ ।


