राष्ट्रपति भण्डारीद्वारा बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि प्रधानमन्त्रीलाई दिईन यी ३ सुझाव !
काठमाडौं, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पीडितहरुको राहत र पुनस्र्थापनामा गम्भीरता पूर्वक जुट्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । बाढीले देशका विभिन्न भागमा धनजनको क्षति भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवास बोलाएर राहत र पुनस्र्थाना सम्बन्धी तीन बुँदे सुझाव दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले पीडितलाई राहत र पुनस्र्थानामा गम्भीरतापूर्वक जुट्न सरकारलाई सुझाव दिनुभएको छ । बुधवार बिहान साढे ८ बजे शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री देउवासँग राष्ट्रपति भण्डारीले बाढी पहिरोले गरेको क्षतिबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीसँग जानकारी लिएपछि उहाँले उद्धार, राहत र पुनस्र्थापना सम्बन्धी तीनवटा मुख्य विषयमा सुझाव दिनु भएको थियो ।
नेपाली सेना, प्रहरी, राष्ट्रिय सेवादल, स्काउटलाई परिचालन गरी प्रभावकारी उद्धार गर्न र उद्धारका क्रममा रेडक्रस, सामाजिक संघ संस्था र निजी क्षेत्रलाई समेत साथ लिएर राहत पुनस्र्थापनाको काम तत्काल अघि बढाउन सुझाव दिनु भएको थियो । यसअघि प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष बाढी पहिरोले गरेको क्षतिबारे जानकारी गराउनु भएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीले बाढीले तराईको बालीनाली नष्ट गरेको र पशुधनमा पनि क्षति पुर्याएकाले खाद्य संकट उत्पन्न हुनेतर्फ सचेत गराउँदै सम्भावित खाद्यसंकट समाधान गर्ने उपाय खोज्न समेत सुझाव दिनुभयो । ‘बाढीले बालीनाली नष्ट भएको छ, पशुधन र चौपायको पनि ठूलो क्षति भएको छ’ राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै प्रेस विज्ञ माधव शर्माले भन्नुभयो, ‘यसबाट खाद्यसंकट उत्पन्न हुन सक्छ, त्यसका लागि प्रभावकारी कदम चाल्नुपर्छ ।’ राष्ट्रपति भण्डारीले बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने भन्दै आवश्यक औषधी र स्वास्थ्यकर्मी सम्बन्धित ठाउँमा परिचालिन गर्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रपति भण्डारीले प्रकृतिक विपद सामना गर्ने तत्कालीन र दीर्घकालीन रणनीति तयार गरी अघि बढ्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बाढी पीडितको उद्धार र राहतका लागि सरकारले गरेका कामबारे राष्ट्रपतिलाई अवगत गराउनु भएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिव १ घन्टा भेटवार्ता भएको थियो ।
वर्षाका कारण आएको बाढीले तराईका जिल्लामा अर्वाैंको क्षति भएको छ भने एकसय १० भन्दा बढी नागरिकको ज्यान गएको छ ।


