भारतको चाकडी गर्दा तराई डुब्यो : युवासंघ नेपाल (भिडियो सहित)
काठमाडौ, ३२ साउन । युवा संघ नेपाल ५ लाख रुपैयाँ वरावरको सहयोग लिएर शुक्रवार सप्तरी जाने भएको छ । बाढी प्रभावितहरुलाई सहयोग स्वरुप राहत सामग्री लिएर युवा संघ नेपाल तराई झर्न लागेको हो ।
संघले आफ्ना पदाधिकारीबाट २०–२० हजार रुपैयाँ सहित गरी ५ लाख रुपैयाँ संकलन गरिने वताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजीव पहारीले सप्तरीमा बाढीका कारण मृत्यु भएका वालक कमलु सदाको परिवारलाई २० हजार रुपैयाँ सहयोग गर्ने वताउनु भयो ।
बाढीका कारण तराईका जिल्लामा हालसम्म १२० जनाको मृत्यु भइसकेको छ । युवासंघले प्रभावित जिल्लामा प्रत्येक पदाधिकारीबाट २० ÷२० हजार राहत संकलन गर्नुका साथै अन्य ५ लाख सहयोग गर्ने बताएको छ । युवासंघले भदौ २ गते सप्तरीमा राहत पुर्याउने बताएको छ । युवासंघले बुधबार पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएको हो ।
युवासंघले बाढी प्रभावित जिल्लामा घर टहरा, खानेपानी , स्वास्थ्य उपचार लगायतको क्षेत्रमा काम गर्ने बताएको छ । संघले प्रदेश नम्बर १ मा परशुराम बस्नेत प्रदेश नं २ मा मञ्जु यादव, प्रदेश नं ३ मा प्रकाश गौतम, प्रदेश नम्बर ४. मा क्रान्ति बुर्लाकोटी प्रदेश नम्बर ५ मा मनोहर बुढाथोकी प्रदेश न.६ मा हस्त शाही र प्रदेश नं ७ मा नरेश शाहीको संयोजकत्वमा राहत संकलन तथा वितरण गर्ने जनाएको छ ।
प्रधानमन्त्रीले भारतको चाकरी गर्दा डुवान
संघका अध्यक्ष पहारीले प्रधानमन्त्री शेरवहादुर देउवा भारतको चाकरीमा ब्यस्त रहंदा कोसी बाँधको ढोका नखोलिएको र त्यसै कारण तराई डुवानमा परेको वताउनु भयो । ‘अहिले हाम्रो देशमा सरकार छ कि छैन भन्ने शंका उत्पन्न भएको छ’ पहारीले भन्नुभयो, ‘प्रधानमन्त्री राहत कोषमा २ अर्व रुपैयाँ छ तर, बाढी पीडितले अहिलेसम्म सरकारका तर्फबाट राहत पाएका छैनन् ।’
उहाँले बाढी प्रभावित क्षेत्र डुवानमा परेपछि कोसी बाँधका सबै ढोका खोलिदिन गरेको आग्रहलाई पनि भारतले नटेरेको वताउनुभयो । ‘सरकारलाई नेपालको भन्दा बिहारको चिन्ता छ, सरकारका मन्त्री भन्छन्– किनभने कोशीका सबै ढोका खोल्दा विहार डुब्छ रे’ पहारीले भन्नुभयो, ‘लाज लाग्नुपर्ने हो, यहिँका जनताले दिएको मानो खाएका मन्त्रीलाई कुर्सीमा बस्ने नैतिक अधिकार छैन ।’
युवासंघले आगामी असोज २२ देखी २४ सम्म ९ आंै महाधिवेशन गर्ने पनि जानकारी दिएको छ । सुखी नेपाली र समृद्ध नेपाल निमार्णका लागि अवको युवा अभियान, राष्ट्रिय स्वाभिमान र संविधानको पूर्ण कार्यान्वयनको पक्षमा नवौ महाधिवेशन भन्ने मूल नारा तय गरेको छ । महाधिवेशन काठमाडौमा हुने पनि सो अवसरमा जानकारी दिइएको छ ।


