राहत हस्तान्तर कार्यक्रममा बोल्दै ओलीले भने,- ‘एमाले पीडामा छ, अरुले राजनीति गरिरहेका छन्’

संशोधन प्रस्ताव गलत छ पास हुँदैन, प्रदेश नम्बर–२ को निर्वाचन असोज २ मै हुन्छ

काठमाण्डौ, २ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले अहिले तराई–मधेसमा आएका बाढी र त्यसपछिको डुवानका कारण पीडामा रहेको बताएका छन् । प्रदेश सम्पर्क संगठन कमिटीले शुक्रबार एमाले मुख्यालय धुम्वाराहीमा आयोजना गरेको बाढीपीडितलाई राहत हस्तान्तर कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

एमाले पीडामा भए पनि अरु दलले भने बाढीपीडितका नाममा राजनीति गरिरहेको उनको आरोप थियो । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एक पटक हुने पनि बताए । ‘निर्वाचन आयोगका पदाधिकारीसँग तीन दलका शीर्ष नेताहरुको कुराकानी भयो,’ ओलीले भने,‘उहाँहरुले पनि दुबै निर्वाचन एकै चरणमा गर्न सकिने बताए ।’

ओलीले तीन दिन भित्रमा निर्वाचन मिति घोषणा गर्ने पनि दाबी गरे । ‘एक, दुई वा तीन दिन भित्र स्थानीय र प्रदेशको निर्वाचन मिति घोषणा हुन्छ,’ ओलीले भने, ‘हामी देशभरी नै एक चरणमा निर्वाचन गर्नुपर्छ भन्नेमा छौँ । सकेसम्म मंसिरको पहिलो हप्ता एकै चरणमा नभए हिमाल र पहाडका ३१ वटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुन्छ ।’ उनले दोस्रो चरणमा तराईमा त्यो पनि मंसिरको दोस्रो वा तेस्रो हप्तामा गर्ने बताए ।

एमाले पीडामा छ, अरुले राजनीति गरिरहेका छन्

ओलीले अहिले तराईमा गएको बाढी र डुवानका कारण एमाले पीडामा रहेको भन्दै कांग्रेस–माओवादीलगायतका दलले भने राजनीति गरेको आरोप लगाए । ‘नेपाली जहाँ हुन्, एउटालाई चोट लाग्दा अर्कोलाई दुख्छ,’ उनले भने, ‘खुट्टामा चोट लाग्दा आँखाबाट आँसु आउँछ । आँखाबाट आँसु आउन आँखामै चोट लाग्नु पर्दैन ।’

ओलीले कांग्रेस–माओवादी चाहिँ अहिले बाढीपीडितका नाममा राजनीति गरिरहेको पनि आरोप लगाए । ‘अहिले प्रदेश नम्बर–२ सबै भन्दा बढी डुवानमा परेको छ,’ केही मन्त्री र नेताहरु राज्यको ढुकुटीमा राजनीति गरिहेका छन,’ ओलीले भने, ‘एमालेले चाहिँ राजनीतिक प्रचार होइन दुखेका घाउमा मल्हम लगाइरहेको छ ।’

संशोधन प्रस्ताव गलत छ, पास हुँदैन

ओलीले संविधान संशोधन प्रस्ताव गलत नियतले ल्याएको भन्दै त्यो कुनै पनि हालतमा पास नहुने पनि दाबी गरे । ‘पहिलो प्रस्ताव गलत नियतले आएको छ, दोस्रो समय सापेक्ष छैन,’ ओलीले भने, ‘तेस्रो हामीसँग सल्लाह भएको छैन, चौथो निर्णायर्थ आएको होइन, पाचौँ यो राष्ट्रको हितमा छैन । त्यसैले पास हुँदैन ।’

प्रदेश नम्बर–२ को निर्वाचन असोज २ मै हुन्छ

ओलीले प्रदेश नम्बर–२ को निर्वाचन असोज दुईमै हुने पनि दाबी गरे । ‘चुनाव पहिला नै ुहनुपर्ने हो,’ ओलीले भने, ‘अहिले पनि विभिन्न बाहनामा चुनाव नगर्ने षडयन्त्र भैरहेको छ ।

चुनाव असोज–२ मै हुन्छ ।’ क्षेत्र निर्धारण अहिले गलत र वदनियतपूर्ण नियले आएको भन्दै त्यसलाई स्वीकार नगर्ने ओलीले दाबी गरे । कमिटीका तर्फबाट पाँच लाख ५१ हजार र एमाले कृषि विभागका तर्फबाट १ लाख २२ हजार बाढीपीडितका लागि राहत कोषमा हस्तान्तरण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।