नेपाल पत्रकार महासङ्घको अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार आचार्य विजयी
काठमाडौं, ६ भदौ : नेपाल पत्रकार महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द आचार्य निर्वाचित हुनुभएको छ । मंगलवार राती सकिएको मतगणना अनुसार तथा माओवादी पोलिटब्युरो सदस्य समेत रहनु भएका कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार आचार्य ७३२ मत प्राप्त गरी महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

आचार्यका प्रतिद्वन्द्वी पत्रकार तीर्थ कोइराला ६२७ मत ल्याई पराजित हुनुभयो । यस्तै उपाध्यक्ष लगायत अधिकांश पदाधिकारीमा पनि सत्तारुढ गठबन्धनकै बिपुल पोखरेल विजयी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस–माओवादी बैठकले माओवादी पोलिटब्युरो सदस्य आचार्यको नेतृत्वमा महासंघमा गठबन्धन बनाउने निर्णय गरेको थियो ।
माओवादी पोलिटब्युरो सदस्य रहनु भएका आचार्य विगतमा उक्त पार्टीले सञ्चालन गरेको जनदिशा दैनिकको सम्पादक हुनुहुन्थ्यो । जनदिशा दैनिक बन्द भएपछि हाल उहाँ कुनै पनि सञ्चार माध्यममा संलग्न हुनुहुन्न । महासंघको अध्यक्षमा पराजित कोइराला कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिक म्यागेजिन, सगरमाथा राष्ट्रिय दैनिक लगायत मूलधारका सञ्चार माध्यमको सम्पादक रहीसक्नु भएको छ । नेपाल वातावरण पत्रकार समुह, नेपाल प्रेस इन्स्टिच्यूट लगायत विभिन्न संस्थाको अध्यक्ष रहिसक्नु भएका कोइराला हाल थाहाखवर अनलाईनका सम्पादक हुनुहुन्छ ।
कोइरालाको उम्मेदवारीलाई प्रमुख प्रतिपक्षी दल एमाले निकट प्रेस चौतारीले समर्थन जनाएको थियो । दलीय गठबन्धनका आधारमा महासंघको नेतृत्वका लागि भएको चुनावमा दलीय ह्वीप अनुसार मतदान गरेका मतदाता पत्रकारहरुले भने पत्रकारितालाई दलीय राजनीतिबाट मुक्त गर्नु पर्ने वताउँदै आएका छन् ।

कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो । निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र हुनुहुन्छ । यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ ।


