छुई हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा !

जुम्ला, ६ भदौ । स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् । ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा प्रवाहका क्रममा छुई हुँदा सेवाग्राही नै उपचार सेवा लिन मान्दैनन् ।

छुई भएका बेला सेवाग्राहीहरु सेवा लिन नमान्ने र कार्यरत संस्थामा बस्ने वातावरण नहुँदा आफूलाई समस्या हुँदै आएको तिला गाउँपालिका–९ राँसामालापानी स्वास्थ्य चौकीका अनमी सरिता सेजुवालले जानकारी दिनुभयो ।

उहाँले यो पीडा तिला गाउँपालिकामा आयोजित स्वास्थ्य संस्थाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सार्वजनिक गर्नुभएको हो ।

“छुई हुँदा गाउँका कसैले छुन मान्दैनन् । घरमा बस्न पनि मिल्दैन र भेडी गोठमा सुत्नुपर्छ”, दुखेसो पोख्दै अनमी सेजुवालले भन्नुभयो । “शारीरिक स्वास्थ्यमा आउने समस्याबाट बचाउन सकियोस् भनेर सदरमुकाम खलंगाको संस्थामा गइन्छ, तर समुदायले स्वास्थ्यकर्मी नै स्वास्थ्य संस्थामा बस्दैनन् भनेर आरोप लगाउँछन्”, उहाँले थप्नुभयो । छुई हुँदा घरमा बस्ने अवस्था नहुँदा त्यो अवधिमा संस्था छोड्नु परेको उहाँको भनाइ छ ।

गाउँमा विद्यमान सामाजिक कुप्रथा ‘छुई’ मान्ने चलन कायमै रहेकाले त्यसको सिकार गाउँका महिला मात्र होइन, स्वास्थ्यकर्मी महिला नै पीडामा छन् । बेलाबेलामा भएका छुई प्रथाविरुद्धको अभियानले सडक छेउका बस्तीमा परिवर्तन देखिए पनि दुर्गम बस्तीका समुदायलाई यो अभियानले छुन सकेको छैन ।

जिल्लामा महिला तथा बालबालिका कार्यालय जुम्लाको नेतृत्वमा पाँचवर्षीय सामाजिक कुप्रथा ‘छुई’ अन्त्यको रणनीतिक योजना निर्माण भएको छ ।

परम्परागतरुपमा जरा गाडेको संस्कार आजै निर्मूल नहुने र योजना कार्यान्वयनमा आए त्यसले राम्रो प्रभाव पार्ने महिला विकास अधिकृत गोमा प्रसाईं बताउनुहुन्छ । तथापि विगतभन्दा यो प्रथा छोड्नेको संख्या बढ्दै गएको उहाँको दाबी छ ।

यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यो संस्कार पूर्णरुपले निराकरण नभए पनि विस्तारै घटाउनतर्फ स्थानीय सरकार लागिपरेको बताउनुभयो ।

उपाध्यक्ष विष्णु बुढाले यो प्रथाको न्यूनीकरणका लागि दुर्गम वडाबाट छुई प्रथाविरुद्धको सामाजिक अभियान सञ्चालन गर्ने वचन दिनुभयो । यद्यपि जिल्लामा ५० प्रतिशत महिला स्वयंसेविका पनि छुई प्रथा मान्दै आएको स्थानीयवासी बताउँछन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।