‘संविधान संशोधन मधेसको मुद्दा’ भन्ने विश्वासमा अझै कोही छ ?

संशोधन सत्ता गठबन्धन बनाउँदा भारतसँग गरेको बाचा भएको देउवाद्वारा नै सार्वजनिक पुष्टि

काठमाडौं, ९ भदौ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष नेपालको संविधान संशोधन प्रस्ताव फेरि संसदमा पेस गर्ने बाचा गर्नुभयो । संविधान संशोधन नेपालको आन्तरिक राजनीतिक असन्तुष्टि सम्बोधन गर्न ल्याइएको सत्तारुढ दलहरुको घरेलु दलिल थियो । त्यसलाई झुठो सावित गर्नै प्रधानमन्त्री देउवाले भारतका लागि संशोधन गर्न खोजिएको र अहिले दुईतिहाई नपुगेकाले अवको संसदमा दुईतिहाई पुर्याएर संशोधन गरिने वचनवद्धता ब्यक्त गर्नुभयो ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले अवको संशोधनमा दुई तिहाइ पुग्र्याउने वचन दिनुभएको थियो । ‘हामीले संविधान संशोधन गर्न प्रयास र्गयौं । तर, संसदमा दुई तिहाइ बहुमत पुर्याउन सकेनौं र संशोधन हुन सकेन, म आशा गर्छु भविष्यमा दुई तिहाइ पुग्छ र संविधान संशोधन हुन्छ’ देउवाले भन्नुभयो ।

मधेसी समुदायलाई मोहरा बनाएर नेपालको संविधान संशोधन चाहने पक्ष भारत थियो । कांग्रेस–माओवादी सत्ता गठबन्धन बनाउँदा भारतसँग त्यही बाँचा गरिएको थियो भन्ने कुरा देउवाले भारतीय समकक्षी मोदीलाई दिएको स्पष्टिकरणबाट पुष्टि हुन्छ । नेपालका मुलधारका मिडिया, भारत पोषित बौद्धिक र अभियन्ताहरु अझै पनि संविधान संशोधनको मुद्दा आन्तरिक रुपमै उठेको लाजमर्दाे दलिल प्रस्तुत गर्दै संशोधनको विपक्षमा रहेका राष्ट्रिय शक्तिलाई ‘खोक्रो राष्ट्रवादी’ आक्षेप लगाइरहेका छन् । उनीहरुले संविधान संशोधनमा रहेको भारतीय स्वार्थ छोपेर आन्तरिकता प्रदान गर्न ‘ईन्द्रेणी राष्ट्रवाद’को भाष्य तयार गरेका छन् । संशोधन मधेसी नेपालीको एजेण्डा होइन भन्ने पुष्टि हुँदा पनि उनीहरुले संविधान संशोधनको भारतीय एजेण्डामा साथ नदिनेलाई ‘मधेस विरोधी’को आक्षेप लगाइरहेका छन् ।

आन्तरिक राजनीतिमा प्रस्तुत गरिने कुनै पनि तर्कले अव संविधान संशोधनलाई नेपालको आवश्यकता सावित गर्न सक्दैन । किनभने कांग्रेस माओवादी सत्ता गठबन्धन बनाई तत्कालीन केपी ओलीको सरकार ढाल्दा भारतसँग गरेको बाचा पूरा गर्न सकिनँ भन्दै प्रधानमन्त्री देउवाले खुला कार्यक्रममै पश्चाताप गरेपछि वर्तमान सत्ता गठबन्धन कसको स्वार्थका लागि सक्रिय छ भन्ने छर्लङ्ग पारेको छ । देउवा नेतृत्वको सत्ताबाट लाभ लिएका र लिने आशा भएका, दलीय राजनीतिक आग्रहले किचिएर आँखा छोपेर बस्न वाध्य भएका बाहेक कसैले पनि संविधान संशोधनको एजेण्डा नेपालका लागि थिएन र होइन भन्नेछन् ।

प्रधानमन्त्री देउवाले संविधान संशोधन फेरि संसदमा ल्याएर पारित गर्ने भनी भारतीय प्रधानमन्त्री मोदीका अगाडि सार्वजनिक रुपमै दिएको अभिब्यक्तिले नेपाललाई सार्वभौम राष्ट्रका रुपमा रहन नदिने अभियन्ता वर्तमान सत्ता गठबन्धन हो भन्ने पुष्टि गर्छ । नेपालमा कांग्रेस–माओवादी गठबन्धनलाई टिकाउँदै उनीहरुका पक्षमा दुईतिहाई ल्याउनेगरी चुनाव गर्ने र त्यसै मार्फत भारतीय अभिष्ट पूरा गर्ने तयारी रहेको देउवाका अभिब्यक्तिले छर्लङ्ग पार्छन् । नत्र आफ्नो आन्तरिक विषयमा यसरी प्रष्टिकरण दिंदै प्रधानमन्त्रीले बाचा गर्नु पर्ने थिएन । संयुक्त पत्रकार सम्मेलन अघि भारतीय प्रधानमन्त्री मोदीसँग दुई पटक भएका वान टु वान वार्तामा पहिले गरेको बाचा अनुरुप किन संविधान संशोधन हुन सकेन भन्ने प्रश्न आएकैले देउवाले यस्तो प्रष्टिकरण दिनु परेको बुझ्न कठिन छैन । देउवाले संसारसामु देश लज्जित हुनेगरी देखाएको चाटुकारिता राष्ट्रिय लज्जाको विषय बन्न पुग्यो ।

सार्वजनिक खपतकै लागि पनि हुन सक्छ सत्ता साझेदार माओवादी विदेश विभाग प्रमुख एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जाबोध भएको सार्वजनिक प्रतिक्रिया दिनुभयो । तर, श्रेष्ठले जेसुकै भने पनि कांग्रेस–माओवादी गठबन्धन बनाउँदाको बाचा यही भएकाले त्यो अहिले सार्वजनिक रुपमा मात्रै प्रकट भएको हो भन्ने बुझ्न कठीन छैन । ‘प्रधानमन्त्रीले के बोल्ने भन्ने विषयमा ख्याल गर्न सक्नु भएन । त्यसले लज्जाबोध भइरहेको छ,’ श्रेष्ठले भन्नुभएको छ, ‘उहाँ सही रुपमा प्रस्तुत हुन सक्नु भएन । आन्तरिक मामिलामा मित्र देशले अपेक्षा गरेको भन्दा बढी बोल्नुभयो ।’ श्रेष्ठले प्रधानमन्त्री देउवाले आफ्नो भूमिका कांग्रेस सभापति वा प्रधानमन्त्री के हो भन्ने विषय छुट्याउन नसकेको बताउनुभयो । ‘प्रधानमन्त्री वा कांग्रेस सभापति, उहाँले केको प्रतिनिधित्व गर्नुभएको हो,’ श्रेष्ठको प्रश्न थियो, ‘भोलि पनि उहाँ यो देशका प्रधानमन्त्री भइराख्ने हो ?’

प्रधानमन्त्री देउवा भारतसँग गरेको पूर्व प्रतिवद्धता अनुरुप संविधान संशोधन प्रयास गरेको देखाउन चाहनुहुन्थ्यो । त्यसका लागि उहाँले भारत जानु एक दिनअघि संविधान संशोधन प्रस्ताव माथि मतदान गराउनु भएको थियो । लगत्तै भारत पुगेर आफूले संशोधन गर्न खोजेको तर, दुईतिहाई नपुगेकाले असफल भएको प्रष्टिकरण दिंदै आगामी दिनमा संशोधन गरिछाड्ने बचन दिनुभएको हो । मोदीसँगको भेटपछि देउवाको वक्तब्यले गर्न खोजेको संकेत के हो भने अवको चुनावमा भारत पक्षीय दलहरुको गठबन्धन बनाई चुनावमा जाने र दुईतिहाई पुर्याएर संविधान संशोधन गर्ने ।

२०७२ असोज ३ गते संविधान जारी गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि ६ महिना लामो नाकाबन्दी लगाएको थियो । भारतले नेपालको वर्तमान संविधानका ७ व्यवस्थामा संशोधन गर्नु पर्ने वताउँदै आएको छ । भारतको त्यही सर्तमा सहमति जनाउँदै कांग्रेस माओवादी सत्ता गठबन्धन तयार गरिएको थियो । त्यही बाचा पूरा गर्न नसकेकोमा देउवाले बिहीवार सार्वजनिक रुपमै मोदीसमक्ष प्रष्टिकरण दिंदै फेरि संशोधन प्रस्ताव ल्याउने बाचा गर्नुभएको हो । भारतको यो मागलाई कांग्रेस र माओवादीले जनताको माग भन्दै ब्यालकमेलिङ गर्दै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖